चन्द्र ढकालः बैंकको जागिरेदेखि उद्योग वाणिज्य महासंघको उपाध्यक्षसम्म




काठमाडौं । ०४५ सालमा वाणिज्य बैंकमा जागिर सुरु गर्दा चन्द्र ढकालले सोचेका पनि थिएनन् कि भविष्यमा व्यवसायी बन्छु भनेर ।

तर जागिर गर्दागर्दै व्यवसायमा लागे । जागिर र व्यवसाय सँगसँगै बढाउन सकेनन् । र, ०५० सालमा वाणिज्य बैंकको सहायकस्तरको जागिर छाडेर पूर्णरुपमा व्यवसायमा होमिए ।

‘जागिर खाइरहेका बेला म व्यवसाय पनि गर्थें । कर्मचारी भएकाले बैंकले मलाई व्यवसाय गर्न ऋण दिएन,’ ढकालले क्लिकमाण्डूसँग भने-‘त्यसपछि बैंकबाट ऋण लिएर व्यवसायलाई निरन्तरता दिनकै लागि जागिर छोडिदिएँ ।’

सरकारी जागिर छोडेर व्यवसाय सुरु गर्दा पनि ढकालले सोचका थिएनन् कि यतिठूलो सफलता हासिल गर्छु भनेर । तर, उनले यसरी प्रगतिको शिखर चुमे कि, त्यो प्रगतिलाई देख्दा आरिसेहरुको मन जल्छ र सकरात्मक सोच भएकाहरुलाई उत्साह मिल्छ ।

उनी नम्र बएर बोल्छन् । कसैलाई बिझाउँदैनन् । विवादमा आउनै चाहँदैनन् । सम्बन्ध स्थापित गर्न उनी निकै माहिर छन् । राजनीति र कर्मचारीतन्त्रमा पनि असाध्यै राम्रो सम्बन्ध स्थापित गरेका छन् ।

व्यवसायीक क्षेत्रमा छोटो समयमै सफलताको शिखरमा पुगेका ढकाल महासंघको राजनीतिमा पनि छोटो समयमै पकड जमाउन सफल भए ।

ढकाल निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

बरिष्ठ उपाध्यक्षका उम्मेद्वार शेखर गोल्छाको प्यानलबाट उनले एसोसिएट उपाध्यक्षमा उम्मेद्वारी दिए थिए । बरिष्ठ उापध्यक्षका अर्का उम्मेद्वार किशोर प्रधान प्यानलले ढकाल आफ्नो पनि उम्मेद्वार भएको भन्दै उम्मेद्वारी नै नदिएपछि उनी निर्विरोध निर्वाचितका हुन् ।

निर्वाचन समितिले सोमबार साँझ ४ बजेसम्म उम्मेद्वारी दर्ता गर्ने समय तोकेको थियो । एसोसिएटमा भने ढकालको मात्रै उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ ।

‘जागिर छोडेर व्यवसायमा लागेको २३ वर्ष भयो तर मैले १० वष अघिदेखि मात्रै महासंघको नेतृत्वमा आउनुपर्छ भन्ने महत्वकांक्षा जागेर आयो,’ उनले भने ।

ढकालले वर्तमान र त्यसअघिको गरी दुई कार्यकाल महासंघको कार्यसमिति सदस्यकारुपमा काम गरे ।

भावी अध्यक्षसम्मको चर्चा

महासंघको पदाधिकारीमा ढकालको प्रवेशलाई निकै महत्वका साथ हेरिएको छ । धेरैले उनलाई भावी अध्यक्षकारुपमा समेत प्रस्तुत गर्न थालिसकेका छन् ।

‘अहिले सर्वसहमतिमा निर्वाचित हुनु भनेको भविष्यमा यो भन्दा माथिल्लो पदमा पुग्ने संभावनालाई प्रष्टसँग देखाउँछ,’ महासंघका पूर्वअध्यक्ष सुरज बैद्य भन्छन्,- ‘चन्द्रजीलाई जसरी हामीले निर्विरोध बनाउन सक्यौं, यो हामी सबैका लागि गौरवको विषय पनि हो ।’

कसरी भए निर्विरोध ?

ढकाललाई उद्योग वाणिज्य महासंघको नेतृत्वमा जानुपर्न भन्ने महत्वकांक्ष देखाउने व्यक्ति हुन् सुरज बैद्य । बैद्यले ढकालमा राम्रो संभावना देखे र निरन्तर प्रोत्साहन गरिरहे ।

सबैसँग सम्बन्ध स्थापित गर्न सफल भएका ढकाल पशुपति मुरारकाको कार्यकालको अन्त्यतिर अर्थात् ७ महिना अघिदेखि एसोसिएटतर्फको उपाध्यक्षमा चुनाब लड्ने भन्दै प्रचार गर्न थाले । त्यसबेलासम्म पनि गोल्छा समूहले ढकाललाई सुरज बैद्यतिरको मान्छे भनेर पूर्णरुपमा विश्वास गरिसकेको थिएन । त्यसैले मुरारका र गोल्छा एसोसिएटतर्फको उापध्यक्षका लागि उर्जा व्यवसायी ज्ञानेन्द्रलाल प्रधानप्रति बढी झुकाब राख्थे ।

महासंघमा नेवार र माडवारी समुदायको बाहुल्यता छ । उनीहरु सकेसम्म बाहुन नेतृत्वमा पुगोस् भन्ने चाहँदैनन् । त्यो फ्याक्टरले यहाँ पनि केही प्रभाव पारेको थियो । महासंघको इतिहासमा १७ अध्यक्षहरु मध्ये २/३ जनामात्रै बाहुन, २ जना माडवारी र  बाँकी सबै  नेवार समुदायका छन् ।

‘बाहुन समुदायबाट अध्यक्ष बनेका चण्डीराज ढकालको आजपनि महासंघमा बर्चस्व छ । त्यो देखेका माडवारी र नेवार समुदायको भित्रि मनमा भने चन्द्र नआइदिए हुन्थ्यो भन्ने नभएको भने होइन,’ महासंघको वर्तमान कार्यसमितिका एक उच्च अधिकारीले भने ।

गोल्छा समूहबाट ज्ञानेन्द्रलाल र चन्द्रको एसोसिएट उपाध्यक्षमा दाबी थियो । दुबैले चुनाब लड्ने बताउँदै आएका पनि थिए । त्यसैले यो टिम फुट्छ कि भन्ने आशंका पनि गरिएको थियो ।

पूर्वअध्यक्ष चण्डीले चन्द्रलाई खुलेआम सहयोग र समर्थन गरे । महासंघको राजनीतिक समिकरणमा चण्डीको निकै ठूलो भूमिका विगत र अहिलेको समिकरणले पुष्टि गर्छ ।

गोल्छा समूहको एकमात्र उद्देश्य शेखरलाई बरिष्ठ उपाध्यक्षमा चुनाव जिताउनु हो । ‘अवस्था यस्तो बनिदियो कि गोल्छा समूहले चन्द्रलाई लिएर अघि नबढे निर्वाचन जित्ने ढुक्क भएन,’ गोल्छा समूहलाई समर्थक गर्ने एक पूर्वअध्यक्षले भने,- ‘त्यसैले हामीले उनलाई उपाध्यक्षको उम्मेद्वार बनायौं ।’

लामो अध्ययनपछि टिमले गरेको विश्लेषणलाई अर्का प्रत्यासी ज्ञानेन्द्रले स्वीकार गरे । र, उपाध्यक्षको दाबी छाडेर कोषध्यक्षमा चुनाव लड्न तयार भए ।

गोल्छा समूहले ज्ञानेन्द्र र चन्द्रको व्यवस्थापन गर्न सफल भयो । तर, गोल्छा समूहकै सौरभ ज्योतिले एसोसिएट उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरे । समिकरण मिलिसकेको अवस्थामा ज्योतिको उम्मेद्वारी घोषणाले गोल्छा समूहको टाउको दुखायो ।

कतै गोल्छा समूह छाडेर ज्योति किशोर प्रधानको टिममा पो जान्छन् कि भन्ने चिन्ता भइरह्यो । तर, गोल्छा समूहले अन्तिम समयमा आएर ज्योतिको पनि व्यवस्थापन गर्यो ।

गोल्छा समूहको उम्मेद्वारी दर्तामा समर्थन जनाउन महासंघको कार्यालय पुगेका ज्योतिले आफ्नो उम्मेद्वारी फिर्ता भएको सार्वजानिक घोषणा मात्रै गरेनन् । चन्द्र ढकाललाई खुलेर समर्थन गर्ने बाचा पनि गरे ।

बरिष्ठ उपाध्यक्षका अर्का उम्मेद्वार किशोर प्रधानले फागुन २२ गते बिराटनगर पुगेर उम्मेद्वारी घोषणा गरेका थिए । त्यसबेला उनले आफ्नो र आफ्नो टिमबाट जिल्ला तथा नगरतर्फको उपाध्यक्षको उम्मेद्वारी घोषणा गरे । र, चन्द्र ढकाल आफ्नो टिमबाट एसोसिएटको उपाध्यक्ष हुनसक्ने प्रचार गरे । प्रधानको त्यस्तो प्रचारले गोल्छा समूहलाई चन्द्रलाई नछाड्न झन दबाब पर्यो । र, अन्तिममा फागुन २७ गते गोल्छा समूहले चन्द्रलाई एसोसिएट उापध्यक्षको उम्मेद्वार बनाउने निधो गर्यो ।

ढकाललाई दुबै समूहले आफ्नो दाबी गरेपछि अब सुरु भयो उनलाई निर्विरोध बनाउने राजनीति । ढकाललाई निर्विरोध बनाउन शेखर गोल्छा समूह र किशोर प्रधान समूह दुबै लाग्यो । गोल्छा समूहका समर्थक चण्डीराज ढकाल, पशुपति मुरारकाहरु पनि लागे भने प्रधान समूहका समर्थक सुरज बैद्य, कुशकुमार जोशीहरु पनि ।

किन दुबैको नजरमा परे ?

स्वभावका हिसाबले ढकालको सबैसँग अच्छा सम्बन्ध राख्ने क्षमता छ । यही स्वभावले उनलाई सबैले आफ्नो सम्झिए ।

उनी नम्र बएर बोल्छन् । कसैलाई बिझाउँदैनन् । विवादमा आउनै चाहँदैनन् । सम्बन्ध स्थापित गर्न उनी निकै माहिर छन् ।

व्यवसायिक वृत्तमा मात्रै होइन, त्यो भन्दा माथि उठेर राजनीति र कर्मचारीतन्त्रमा पनि असाध्यै राम्रो सम्बन्ध स्थापित गरेका छन् । मिडिया र पत्रकारहरुसँगको सम्बन्ध पनि उस्तै राम्रो छ । जसले सबैतिर उनको चर्चा भएको छ ।

‘चर्चित र लोकप्रिय मान्छेलाई सबैले आफ्नो बनाउन चाहन्छन्,’ एक व्यवसायीले भने- ‘त्यतिमात्रै होइन, त्यस्ता व्यक्तिसँग चुनाब लड्ने हिम्मत पनि जो कोहीले गर्न नसक्ने रहेछन् ।’

को हुन् ढकाल ?

ढकाल बाग्लुङको अमलाचौर गाबिसमा २०२२ साल असार ९ गते  जन्मिएका  हुन् । उनले ०४८/४९ सालदेखि नै व्यवसाय सुरु गरेका थिए । तर, जब सन् २००१ मा  इन्टरनेसनल मनि ट्रान्सफर (आइएमइ) ले उनलाई स्थापित गरायो ।

रेमिटेन्स, वैंकिङ, इन्स्युरेन्स, पर्यटन, पूर्वाधार, जलविधुत, सूचना प्रविधि, अटोमोबाइल, कार्गोल, चन्द्रागिरि  केबलकारगायतमा उनको लगानी छ ।

ढकाल अध्यक्ष रहेको आईएमईले महत्वपूर्ण व्यावसायीक व्यक्ति (सीआईपी) सम्मान प्राप्त गरिसकेको छ । त्यसैगरी, रेमिटेन्स कम्पनीहरु मध्ये सवैभन्दा बढी कर भुक्तान गरे वापत आईएमई लगातार तीन पटकसम्म ठूला करदाताको रुपमा सम्मान पाइसेका छन् । नेपाल भित्रिने कूल रेमिट्यान्समध्ये २५ प्रतिशत आइएमइमार्फत भित्रिने गरेको छ ।

सरकारले प्रदान गर्ने विभिन्न पुरस्कार तथा सम्मानबाट पटक-पटक विभूषित भएका ढकाल नेपालका लागि इण्डोनेसीयाका अवैतनिक महावाणिज्य दूत समेत हुन् ।

र, अब उनको बायोडाटामा अर्को एउटा महत्वपूर्ण पद थपिएको छ । त्यो हो, नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्ष ।


पुष्प दुलाल