
काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजना भएको राजावादी प्रदर्शन हिंसात्मक बनाएको आरोपमा दुर्गा प्रसाईं यतिबेला प्रहरी हिरासतमा छन् ।
दुई जनाको ज्यान जाने र निजी सम्पत्तिमा आगजनीपछि फरार रहेका प्रसाईंलाई प्रहरीले नेपाल-भारतको सीमा मेची पुलबाट नियन्त्रणमा लिएको जनाएको छ । उनी हाल जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् र उनीमाथि अनुसन्धान भइरहेको छ ।
यसैबीच, प्रसाईंमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि विभिन्न ११ वटा कसुरमा अनुसन्धान गरिरहेको छ । प्रसाईंविरुद्ध सीआईबीमा निवेदन परेपछि अनुसन्धान जारी रहेको छ ।
सीआईबी प्रवक्ता एवं एसपी सुधिरराज शाहीले प्रसाईंविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन २०६४ र सम्पत्ति शुद्धीकरण ऐन २०६४ बमोजिम मुद्दा दर्ता भइ उच्च अदालत पाटनबाट पक्राउ अनुमित लिएर विस्तृत अनुसन्धान जारी रहेको क्लिकमान्डुलाई जानकारी दिए ।
प्रसाईंमाथि बैंकिङ कसुरमा अनुसन्धान गर्न नेपाल राष्ट्र बैंकले आग्रह गरेपछि सीआईबीले पक्राउ पुर्जी लिएर अनुसन्धान थालेको हो ।
राष्ट्र बैंकले आफूले आन्तरिक अनुसन्धान सकेर थप अनुसन्धानका लागि माघ २३ गते सीआईबीलाई पत्राचार गरेको थियो ।
हाल परिसरले फरक घटनामा अनुसन्धान गरिरहेको र सीआईबीले पनि अनुसन्धानलाई अघि बढाएको उनले बताए ।
‘अहिले प्रसाईंमाथि परिसरले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ,’ एसपी शाहीले भने, ‘सीआईबीले पनि अनुसन्धान गरिरहेको छ । दुवै अनुसन्धान सँगसँगै अघि बढ्छ ।’
सीआईबीले उनीमाथि विभिन्न ११ विषयमा अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।
प्रसाईं र उनको परिवार सम्बद्ध फर्म र कम्पनीहरुले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा रकम अपचलन भएको अनुसन्धानमा पाइएको छ ।
यस्तै विभिन्न बैंक वित्तीय संस्थामा रहेको कर्जा चुक्ता गर्न अर्को कर्जाको रकम उपयोग गरेको, प्रसाईं र उनी सम्बद्ध कम्पनीहरुले बैंक वित्तीय संस्थाबाट कर्जा लिँदा उल्लेख गरेको प्रयोजनभन्दा अन्यत्र कर्जाको रकम उपयोग गरी कर्जा दुरुपयोग गरेको अनुसन्धानले देखाएको शाहीको भनाइ छ ।
बैंकबाट लिएको कर्जा व्यवसायमा मात्र प्रयोग गर्नुपर्ने र व्यवसायको आम्दानी कर्जा भुक्तानीमा प्रयोग गर्नु पर्नेमा ठूलो रकम पेश्कीको रुपमा प्रसाईं र उनी सम्बद्ध कम्पनीहरुलाई प्रदान गरेको पाइएको अनुसन्धानका क्रममा खुलेको छ ।
विगत चार वर्षदेखि बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च प्रालिले बक्यौताको साँवा व्याज भुक्तानी नियमित गरेको छैन ।
यस्तै परियोजनाको लागत वृद्धि गरी परियोजनालाई आवश्यक पर्नेभन्दा बढी कर्जा उपयोग गरेको, ऋणी फर्म, कम्पनीको अन्तिम लाभग्राही प्रसाईं रहेको अनुसन्धानबाट खुलेको छ ।
प्रसाईंले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ८ मा रहेको कर्जाको दुरुपयोग गर्न नहुने भन्ने व्यवस्थाको उल्लंघन गरेको पाइएको छ ।
‘प्रसाईं र उनका परिवार तथा उनीहरु सम्बद्ध फर्म र कम्पनीका विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको खाताहरुमा राउन्ड ट्रिपिङ, रिलेटेड पार्टी ट्रान्जेक्सन लगायतका शंकास्पद कारोबारहरु भएको देखिएको छ,’ एसपी शाहीले भने ।
अनुसन्धानको क्रममा तत्कालीन एनसीसी बैंक (हालको कुमारी बैंक) बाट पूर्वाञ्चल क्यान्सर अस्पतालको नाममा प्रवाह भएको १२ करोड ५० लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेघा बैंकबाट होटल एट्रिएम प्रालीको नाममा प्रवाह भएको ५ करोड रुपैयाँ र गुडविल फाइनान्सबाट यू ए मेडिको सप्लाइज एन्ड इक्विपमेन्ट प्रालीको नाममा प्रवाह भएको १० करोड रुपैयाँ कर्जा प्रसाईंले दुरुपयोग गरेको पाइएको छ ।
प्रसाईंले सम्पतिको स्रोत लुकाउन विभिन्न तहको जटिल कारोबार मार्फत राउन्ड ट्रिपिङ, रिलेटेड पार्टी ट्रान्जेक्सन लगायतका शंकास्पद कारोबार गरेको देखिएको सीआईबीले जनाएको छ ।
प्रतिक्रिया