मेटाले मुकेश अम्बानीको रिलायन्ससँग लिजमा लिएर भारतमा डेटा सेन्टर सञ्चालन गर्ने

42
Shares

एजेन्सी । मेटा प्लेटफर्म्सले बुधबार अर्बपति मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिजबाट भारतमा १६८ मेगावाट क्षमताको एआई–सक्षम डेटा सेन्टर भाडामा लिने बताएको छ ।

पेट्रोकेमिकल्सदेखि कपडा र आमसञ्चारसम्म फैलिएको व्यापारिक घराना रिलायन्स इन्डस्ट्रिजले मेटाका लागि सो डेटा सेन्टर निर्माण गर्नेछ र दुई वर्षभित्र यो सुविधा उपलब्ध गराउनेछ । त्यसमा क्षमता विस्तार गर्ने विकल्प समेत रहने अमेरिकी कम्पनीले एक विज्ञप्ति मार्फत जनाएको छ ।

‘जामनगरमा रहेको यो विश्वस्तरीय केन्द्रले भारतको अर्थतन्त्रमा हाम्रो दीर्घकालीन लगानीलाई अझ गहिरो बनाउँदै विश्वभर हाम्रो एआई पूर्वाधार विस्तार गर्न मद्दत गर्नेछ,’ मेटाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मार्क जकरबर्गले भने ।

मेटासँग रिलायन्सको साझेदारी सन् २०२० देखि सुरु भएको हो जतिबेला जकरबर्गको कम्पनीले अम्बानीको टेलिकम र डिजिटल सेवा व्यवसाय जियो प्लेटफर्म्समा ५.७ अर्ब डलर लगानी गरेको थियो ।

गत वर्ष यी दुई कम्पनीले एक संयुक्त पहलमार्फत आफ्नो सहकार्य विस्तार गरेका थिए । त्यसले मेटाका ओपन–सोर्स एआई मोडलहरूलाई भारतीय उद्योग र विकासकर्ताहरूका लागि उपलब्ध गराएको थियो ।

रिलायन्सका अध्यक्ष अम्बानीले मेटाको पछिल्लो लगानीलाई भारतको डिजिटल पूर्वाधारका लागि एक परिवर्तनकारी क्षणको रूपमा वर्णन गरे ।

विश्वव्यापी ठूला प्रविधि कम्पनीहरू (हाइपरस्केलर्स) भारतमा डेटा सेन्टरहरूमा लगानी गर्न लामबद्ध भइरहेका छन् । गत वर्ष देशको एआई इकोसिस्टममा ४०० अर्ब डलर भित्रिएको छ जसको ठूलो हिस्सा यस्ता केन्द्र र आवश्यक ऊर्जा पूर्वाधारमा केन्द्रित छ ।

‘भारतको डेटा सेन्टर उद्योग विश्वमै तीव्र गतिमा वृद्धि भइरहेका क्षेत्रमध्ये एकका रूपमा उदाउँदैछ,’ विश्वव्यापी ब्रोकरेज कम्पनी नोमुराले जुन २ मा सार्वजनिक गरेको एक प्रतिवेदनमा उल्लेख छ ।

अन्य विकसित एसिया प्रशान्त र पश्चिमी बजारहरूको तुलनामा लागत–प्रभावी भएकाले सन् २०३० सम्ममा भारतको डेटा सेन्टर क्षमता ७ गिगावाट पुग्ने अपेक्षा गरिएको सो प्रतिवेदनले थपेको छ ।

यसै वर्षको सुरुमा भारत सरकारले विश्वव्यापी ग्राहकहरूलाई सेवा दिन देशमा डेटा सेन्टर प्रयोग गर्ने ठूला प्रविधि कम्पनीहरूका लागि २० वर्षे कर छुटको घोषणा गरेको थियो ।

मेटाले करिब १ गिगावाट नवीकरणीय ऊर्जाका लागि भारतीय स्वच्छ ऊर्जा प्रदायक क्लिन म्याक्स र फोर्थ पार्टनर इनर्जीसँग पनि साझेदारी गरिरहेको छ ।

भारतको उत्तरी र दक्षिणी राज्यहरूमा फैलिएका यी परियोजनाहरूले देशमा मेटाको विस्तार भइरहेको पूर्वाधारका लागि स्वच्छ ऊर्जा आपूर्ति गर्नेछन् ।

फेसबुकको माउ कम्पनीले यी लगानीहरू आफ्ना सबै सञ्चालनहरूमा शतप्रतिशत स्वच्छ र नवीकरणीय ऊर्जा प्रयोग गर्ने आफ्नो विश्वव्यापी लक्ष्य अनुरूप रहेको बताएको छ ।