राष्ट्र बैंकको कारबाहीपछि नेपाल बैंकका सञ्चालक अधिकारी बर्खास्त, वेबसाइटबाट हट्यो नाम

2.7k
Shares

काठमाडौं । ऋण मिलाइदिने भन्दै ऋणीसँग कमिसन लिएको पुष्टि भएपछि नेपाल बैंकका सञ्चालक चन्द्रबहादुर अधिकारी बर्खास्त भएका छन् । नेपाल राष्ट्र बैंकले राष्ट्र बैंक ऐनको दफा १०० बमोजिम सञ्चालकबाट समेत हटाएको हो ।

बैंकको सञ्चालक रहेको अधिकारीले कमिसनमा ऋण मिलाउने भन्दै लागेको आरोप पुष्टि भएको हो ।

राष्ट्र बैंकले गत माघमा विशेष टोली नै बैंकमा पठाएर अध्ययन गरेको थियो । विभिन्न चरणमा गरेको अध्ययनबाट अधिकारीले घुस लिएको पुष्टि भएपछि कारबाही गरेको राष्ट्र बैंकले जनाएको छ ।

उनको ड्राइभरको खातामा ऋण मिलाइदिन्छु भनेको ग्राहकले रकम नै जम्मा गरेको भेटिएको छ ।

सञ्चालक समितिको निर्णय कार्यान्वयन गर्दै गत बिहीबार बैंक सुपरीवेक्षण विभागले बैंकमा कारबाहीको पत्र पठाएको थियो । राष्ट्र बैंककको कारबाहीसँगै उनी बैंकको सञ्चालकबाट समेत हटेका छन् । राष्ट्र बैंक ऐनको दफा १०० को उपदफा २ को (ङ) मा रहेको व्यवस्थाअनुसार सञ्चालक समितिले उनलाई बैंकको सञ्चालकबाट पनि हटाउन सञ्चालक समितिलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकको निर्देशनअनुसार सोमबार बसेको बैंक सञ्चालक समिति बैठकले उनलाई सञ्चालकबाट समेत हटाएको छ । यसैगरी वेभसाइटबाट समेत नाम हटाइएको छ । अब नेपाल बैंकमा ३ जनामात्र सञ्चालक बाँकी छन् ।

सञ्चालकबाट हटाएको पत्र मंगलबार नेप्सेलाई पठाइने छ ।