सम्पूर्ण अपडेट

कुन राजनीतिक दलले कति समानुपातिक सिट जित्छन् भनेर हिसाब गर्ने ‘सान्टे लागी’ वा ‘वेबस्टर’ विधि यस्तो

63
Shares

काडमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदै गर्दा हालसम्म समानुपातिकतर्फ रास्वपाले ५० प्रतिशत मत ल्याएको छ । यही आधारमा भोट ल्याउने हो भने कुल ११० मध्ये रास्वपाले कति सिट जित्ला ? हर्क सामपाङको श्रम संस्कृति पार्टी पनि राष्ट्रिय दल बन्ला ।

आउनुस्, समानुपातिकमा पाएको भोटबाट सिट कसरी विभाजन हुन्छ भन्ने बुझौं।

प्रतिनिधिसभामा कुल २७५ सांसद हुने व्यवस्था छ, जसमा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट सांसद बन्छन् भने ११० जना समानुपातिक प्रणालीबाट चयन हुन्छन् ।

मतदाताले समानुपातिकमा भोट दिदा कुनै व्यक्तिलाई दिएको हुँदैन, राजनीतिक दललाई दिएको हुन्छ । राजनीतिक दलले पाएको मतका आधारमा बन्दसूचीमा पठाएको नामबाट प्राथमिकताका आधारमा पार्टीले समानुपातिक सांसद बनाउँछ ।

कुल दलले कति सिट पाउँछ भन्ने थाहा पाउन सुरूमा मतदाताले दिएको समानुपातिक मत देशभरबाट कति खस्यो भनेर गणना गरिन्छ ।

मानौं, देशभर १ करोड १० लाख मत खसेको छ तर ५ लाख भोट बदर भएको छ भने बदर भोट घटाएर बाँकी रहेको सदर अर्थात् १ करोड ५ लाखका आधारमा हिसाब गर्नुपर्छ ।

कुनै राजनीतिक दलले प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेको छ र उसले थ्रेसहोल्ड मत कटाएको छ भने मात्र सो दल समानुपातिक सिट पाउन योग्य हुन्छ ।

निर्वाचन ऐनअनुसार समानुपातिकका लागि सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्ने हुन्छ । अर्थात्, कुल सदर मतको ३ प्रतिशतभन्दा कम मत ल्याउने दलले समानुपातिक सिट पाउँदैनन् ।

सदर मत १ करोड ५ लाख भएको हुँदा त्यसको ३ प्रतिशत भनेको ३ लाख १५ हजार हुन्छ । त्यसैले ३ लाख १५ हजारभन्दा कम मत ल्याउने दल समानुपातिक सिट वितरण प्रक्रियाबाट बाहिर हुन्छन् । यता प्रत्यक्षतर्फ एक सिट त जितेकै हुनुपर्छ ।

त्यसपछि ३ प्रतिशतभन्दा बढी मत ल्याएका दलहरूको मत मात्र जोडिन्छ। यसरी कुनै दलले थ्रेसहोल्ड कटाउँदै ल्याएको मतलाई आधार मानेर सिट बाँडफाँट गरिन्छ ।

मानौं, ६७ दलमध्ये ६० दलको थ्रेसहोल्ड कटेन र उनीहरूले कुल ५ लाख भोट पाएका थिए ।

सुरूमा यो ५ लाखलाई सदर मतबाट घटाइन्छ । र ‘थ्रेसहोल्ड’ पार गरेको मतका आधारमा दलले पाउने समानुपातिकको विजयी सिट निकालिन्छ ।

नेपालमा समानुपातिकको सिट निकाल्न ‘सान्टे लागी विधि’ प्रयोग गरिन्छ । यसका लागि न्यूनतम १ देखि बढेको ११० वटा बिजोर भाजक (Odd Divisor वा १, ३, ५, ७, ९ आदि) निकालिन्छ । यी सबै बिजोर भाजकले समानुपातिकतर्फको निर्वाचन प्रक्रियामा योग्य (थ्रेसहोल्ड पार गरेका ) दलले पाएको मतलाई भाज्य (Dividend) मान्दै भाग गरिन्छ । सबै दलको भाज्य अंकलाई भाग गर्दै जाँदा विभिन्न भागफल (Quotient) निस्कँदै जान्छ । यसरी निस्केको भागफलको ठूलो अंक निर्वाचित सिट हो ।

तर, यो निकै जटिल प्रक्रिया हो ।

सान्टे लागी विधिलाई सजिलो भाषामा बुझौं । तस्बिरमा देखाइए झैं सबै राजनीतिक दलको मतलाई पालैपालो १, ३, ५, ७, ९ … ले भाग गरिन्छ । त्यसरी भाग गरेर आएको भागफलको आधारमा सिट निर्धारण हुन्छ ।

सुरूमा सबैभन्दा धेरै भागफलले १ सिट पाउँछ । त्यसपछि दोस्रोले पाउँछ । त्यसपछि तेस्रोले पाउँछ ।

तस्बिरमा उदाहरण दिइए झैं सुरूमा रास्वपा (भागफल ५१ लाख)ले १ सिट पाउँछ, त्यसपछि कांग्रेस (१७ लाख ५० हजार) ले एक सिट पाउँछ । त्यसपछि फेरि रास्वपा (१७ लाख) ले एक सिट पाउँछ ।

यसरी हेर्दा रास्वपाले २ सिट पाएपपछि बल्ल एमालेको पालो आउँछ भने रास्वपाले ४ सिट पाएपछि मात्र नेकपाको पालो आउँछ । सबै भागफललाई एकै ठाउँमा राख्दा शीर्ष ११० वटा अंक जुन जुन दलको हुन्छ, उनीहरूले त्यति नै सिट पाउँछन् ।

यस हिसाबले रास्वपाले ५७ देखि ६० सिट, कांग्रेसले २० देखि २२ सिट, एमालले १८ देखि २० सिट, नेकपाले ८ देखि १० सिट र राप्रपाले ५ सिट ल्याउने देखिन्छ ।

सामान्य भाषामा दलले प्राप्त गरेको मतपरिणामअनुसार सिट तय हुन्छ भन्ने बुझ्नुपर्छ । अर्थात् धेरै मत धेरै सिट, थोरै मत थोरै सिट ।

दलले समानुपातिकमा ५० प्रतिशत मत ल्याएको छ भने सिट पनि करिब ५० प्रतिशत नै हुन्छ । रास्वपाले समानुपातिकमा ५० प्रतिशत मत पाउँदा ११० को ५० प्रतिशत अर्थात् ५५ सिट पाउँछ ।

थ्रेसहोल्ड कटेको १ करोड भोटलाई ११० सिटले भाग गर्दा एक सिट बराबर ९० हजार ९०९ भोट हुन्छ । यस आधारमा श्रम संस्कृति पार्टीले ४ लाख भोट ल्यायो भने समानुपातिकमा कम्तीमा ४ सिट पाउँछ ।

अर्को कुनै दलले १७ लाख मत पाएको छ भने १७ लाखलाई ९० हजार ९०९ ले भाग गर्दा करिब १९ आउँछ । यस आधारमा उक्त दलले १९ सिट पाउँछ ।

मतको कुल संख्यामा हुने फरकका कारण एक सिट बराबर कति मत पर्छ भन्ने संख्या प्रत्येक निर्वाचनमा फरक हुन सक्छ । यसपालिको प्रतिनिधिसभा निर्वाचनमा कुन दलले समानुपातिकमा कति मत ल्याउँछ ? त्यो अन्तिम मतपरिणाम आएपछि मात्रै थाहा हुनेछ ।