
काठमाडौं । फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ऊर्जा क्षेत्रका दुई व्यक्ति विजयी भएका छन् । एक ऊर्जा व्यवसायी र एक ऊर्जाविज्ञ गरी दुई व्यक्ति प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
यस निर्वाचनमा सिन्धुपाल्चोक–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट रास्वपाका उम्मेदवार भरत प्रसाद पराजुलीले २४ हजार ४१२ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका माधव सापकोटाले १७ हजार ३२७ मत प्राप्त गर्दा एमालेका सरेश नेपालले ११ हजार ९६१ मत ल्याए ।
यस क्षेत्रमा नेपाली कांग्रेसका जंगबहादुर लामाले ११ हजार २९३ मत ल्याउँदा उज्यालो नेपाल पार्टीका प्रताप लामाले २ हजार ४२१ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका राममणि न्यौपानेले ४८० मत ल्याए ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का कार्यसमिति सदस्यसमेत रहेका भरत पराजुलीले ऊर्जा क्षेत्रका मुद्दाहरू संसदमा उठान गर्नका लागि संसदीय निर्वाचनमा होमिएको विषय उठाएर निर्वाचनमा गएका थिए ।
ऊर्जा क्षेत्रमाथि सबैतिरबाट आक्रमण हुँदा यसको सम्भावना सम्भावनामै सीमित हुन लागेकाले संसदमा ऊर्जा क्षेत्रका समस्या र समाधानको बहस उठान गर्नका लागि आफूले उम्मेदवारी दिएको उनले बताएका थिए ।
१९ भदौ २०२५ मा जन्मिएका पराजुलीले स्नातकोत्तर तहसम्म अध्ययन पूरा गरेका छन् । उनी शिक्षित र स्थापित व्यवसायीका रूपमा परिचित छन् । राजनीतिक रूपमा नेकपा एमाले पृष्ठभूमिबाट आएका भए पनि उनी रास्वपा प्रवेश गरेर निर्वाचनमा लागि परेका थिए । पराजुली जुगल गाउँपालिकामा निर्माणाधीन ४५ मेगावाट क्षमताको ब्रह्मायणी जलविद्युत् आयोजनाका अध्यक्षसमेत हुन् ।
तनहुँ–२ मा रास्वपाका न्यौपाने ३२ हजार ६८७ मत पाएर विजयी भए । सो क्षेत्रमा नेपाली कांग्रेसका शंकर भण्डारीले १४ हजार १३५ मत ल्याउँदा एमालेका केदार सिग्देलले ११ हजार ६६८ मत प्राप्त गरे ।
यस क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीका सोमबहादुर थापाले १ हजार ९५३ मत ल्याउँदा राप्रपाका यामबहादुर ठकुरीले १ हजार ११७ मत ल्याए । विजयी भएका न्यौपानेलाई रास्वपाले केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागको प्रमुखमा नियुक्त गरेको थियो । न्यौपाने पेशाले इन्जिनियर हुन् । न्यौपानेले नागढुङ्गा सुरुङमार्गको प्रोजेक्ट डाइरेक्टर भई काम गरेका थिए ।
३ जना पराजित
ऊर्जा क्षेत्रका तीन उम्मेदवार भने निर्वाचनमा पराजित भएका छन् । ऊर्जा तथा जलस्रोत, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रीसमेत भइसकेका नेपालका विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङले निर्वाचनमा हार व्यहोरेका छन्।
‘उज्यालो नेपाल’ पर्यायनै बनेका घिसिङ चुनावअघि उज्यालो नेपाल पार्टी बनाएर चुनावमा होमिएका थिए तर उनी रास्वपाका उम्मेदवारसँग पराजित भए । घिसिङ रास्वपाका उम्मेदवार राजुनाथ पाण्डेसँग पराजित भएका हुन् । पाण्डेले १८ हजार ७५७ मत ल्याउँदा घिसिङले ११ हजार १७१ मत मात्रै ल्याए ।
त्यस्तै महोत्तरी १ बाट कांग्रेस उम्मेदवार बनेका नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेशराज काफ्ले पनि पराजित भएका छन् ।
महोत्तरी–१ बाट नेपाली कांग्रेसका उम्मेदवार बनेका काफ्ले चौथो बने । उक्त क्षेत्रमा रास्वपाका प्रमोदकुमार महतोले ३४ हजार ६३६ मत पाउँदा काफ्लेले ६ हजार २१३ मत मात्र पाए ।
त्यस्तै कास्की क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका करिब साढे २ दशकदेखि नवीकरणीय ऊर्जा विकासका क्षेत्रमा सक्रिय रहेका कुशल गुरुङ पनि पराजित भए ।
घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दिएका उनी रास्वपा उम्मेदवारसँग पराजित भए । उक्त निर्वाचन क्षेत्रमा रास्वपाका उत्तमप्रसाद पौडेलले ३१ हजार ९११ मत पाउँदा गुरुङले १ हजार २०१ मत मात्र पाए ।








प्रतिक्रिया