आइसक्रिम भन्दै ‘फ्रोजन डिजर्ट’ खाँदै नेपाली, छुट्याउनका लागि सरकारले ल्यायो मापदण्ड

0
Shares

काठमाडौं । चाडपर्व होस् वा जन्मदिन । घरमा रमाइलो वातावरण होस् वा बजारमा घुम्ने रहर । रेष्टुराँको पार्टी होस् वा पाँचतारे होटलको खाना, त्यस्तो माहौलमा आइसक्रिम खान कोही छुटाउँदैनन् । झन् गर्मी याममा मिठो चिसो आइसक्रिम भनेपछि सबैको मुखमा पानी नै आउँछ । अनि भन्छन्, ‘यम्मी आइसक्रिम…’ ।

बालबालिकादेखि वृद्धवृद्धासम्मले अत्यधिक रुचाउने चिसो र मिठो वास्तवमा आइसक्रिम नै हो त ? कि आइसक्रिमको नाममा फ्रोजन डिजर्ट हो ?

अन्य विकसित मुलुकका बासिन्दा आइसक्रिम र फ्रोजन डिजर्ट सहजै छुट्याएर आफूलाई मन परेको यी मध्ये जुन मन पर्छ त्यो सेवन गर्छन् । तर हाम्रो जस्तो अति कम विकसित मुलुकमा आइसक्रिम र फ्रोजन डिजर्टको विषयमा न कुनै जानकारी छ, न त के बाट तयार हुन्छ भनेर बुझ्छन् ।

नेपालीहरू फ्रोजन डिजर्टलाई पनि आइसक्रिम भनेर नै खरिद गरी निक्कै स्वाद मानेर खाने गरेका छन् । नेपालमा पनि विगत धेरै वर्षदेखि आइसक्रिमकै नाममा फ्रोजन डिजर्ट उत्पादन र बिक्री-वितरण भइरहेका छन् । बाहिरी मुलुकबाट पनि त्यत्तिकै आयात हुन्छ । यसरी आयात हुने र स्वदेशमै उत्पादन हुने फ्रोजन डिजर्टलाई आम उपभोक्ताले आइसक्रिम नै भनेर उपभोग गर्दै आएका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी प्रवक्ता डा. बालकुमारी शर्मा आइसक्रिम र फ्रोजन डिजर्ट भन्ने खाद्य पदार्थ फरक-फरक हुने बताउँछिन् । ‘यी दुवै खाद्य पदार्थ छुट्टाछुट्टै पदार्थबाट तयार हुन्छन्, त्यही भएर यी दुवै पदार्थ फरक-फरक हुन्, तर नेपालमा आइसक्रिम नै भनेर उत्पादन र बिक्री-वितरण भइरहेका छन्,’ उनले क्लिकमान्डुसँग भनिन्, ‘बाहिरी मुलुकबाट आयात हुने फ्रोजन डिजर्टलाई आइसक्रिम नै भनेर बजारीकरण भइरहेको पाइएको छ । तर अब त्यसो गर्न पाइँदैन।’

अन्तर्राष्ट्रिय अभ्यास र स्वदेशी बजारमा उत्पादन भएका यस्ता पदार्थको लामो समयको अध्ययनपछि विभागले बल्ल ती दुवै पदार्थ फरक-फरक कच्चा पदार्थबाट तयार हुने भएकाले आइसक्रिम र फ्रोजन डिजर्ट भनेर छुट्टाछुट्टै विशिष्टीकृत मापदण्ड तयार गरी स्वीकृत गराएको छ । विभागले तयार पारेको मापदण्ड हालै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रको अध्यक्षतामा रहेको खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समितिको बैठकले आइसक्रिम र फ्रोजन डिजर्टको अनिवार्य गुणस्तर मापदण्ड निर्धारण गरी स्वीकृत गरेको छ ।

तर, यो मापदण्ड तत्कालै कार्यान्वयनमा आउने छैन । नेपाल विश्व व्यापार संगठन (डब्लुटीओ) को सदस्य राष्ट्र भएकाले करिब ४० दिनको लागि ‘नोटिफिकेसन’ का लागि समय छुट्याइएको छ । यो अवधिभित्र डब्लुटीओका सदस्य राष्ट्र र स्वयम् डब्लुटीओ सचिवालयले यो विषयमा आवश्यक राय सुझाव दिएपछि त्यसको आधारमा अन्तिम रूप दिएर राजपत्रमा प्रकाशित भएपछि औपचारिक रूपमा ती दुवै खाद्य पदार्थको फरक-फरक मापदण्ड कार्यान्वयनमा आउनेछ ।

त्यसपछि सोही मापदण्डको परिधिभित्र रहेर ती दुवै पदार्थको उत्पादन, आयात र बजारीकरण गर्न पाइनेछ । आइसक्रिमलाई आइसक्रिम नै र फ्रोजन डिजर्टलाई फ्रोजन डिजर्ट नै भनेर उत्पादन र बिक्री-वितरण गर्न पाइनेछ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव मिश्रले खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समितिको बैठकबाट आइसक्रिम र फ्रोजन डिजर्टको अनिवार्य गुणस्तर मापदण्ड निर्धारण भएको जानकारी दिए ।

‘आवश्यक प्रक्रिया सकेर अनिवार्य गुणस्तर मापदण्ड निर्धारण भएको छ, करिब डेढ महिनापछि यो कार्यान्वयनमा आउनेछ,’ सचिव मिश्रले भने, ‘त्यसपछि प्रयोग हुने कच्चा पदार्थको लेबल खुलाएर बजारमा आइसक्रिम र फ्रोजन डिजर्ट भनेर छुट्टाछुट्टै बिक्री गर्नुपर्नेछ । अहिलेजस्तो फ्रोजन डिजर्टलाई पनि आइसक्रिम भनेर बिक्री गर्न पाइँदैन ।’

आइसक्रिमको कच्चा पदार्थ निक्कै महँगो हुन्छ । यसर्थ त्यसबाट उत्पादन भएको आइसक्रिमको मूल्य महँगो पर्छ । तर फ्रोजन डिजर्टको कच्चा पदार्थ निक्कै सस्तो हुने भए तापनि नेपालमा आइसक्रिमको नाममा महँगो मूल्यमा बिक्री-वितरण भइरहेका छन्। सरकारले आइसक्रिम र फ्रोजन डिजर्टमा फ्याटको तीन प्रकारसहितको गुणस्तर मापदण्ड निर्धारण गरेको छ ।

तर, औपचारिकता नपाएकाले अहिले सार्वजनिक गरिएको छैन । तर मूलभूत रूपमा दूधको चिल्लोपना (फ्याट) बाट निर्माण हुने आइसक्रिमलाई आइसक्रिम र वनस्पतिजन्य पदार्थको चिल्लोपनाबाट तयार हुने पदार्थलाई फ्रोजन डिजर्ट भनेर गुणस्तर निर्धारण गरिएको छ ।

फ्रोजन डिजर्टको लेबलमा अनिवार्य रूपमा तयार भएको कच्चा पदार्थ, चिल्लोपनाको उपस्थितिलगायतको जानकारी र आइसक्रिमको लेबलमा पनि त्यस्तै कच्चा पदार्थ र चिल्लोपनाको उपस्थितिलगायतका विषयवस्तु उल्लेख गर्नुपर्ने मापदण्ड तयार भएको छ ।

स्वास्थ्यको दृष्टिकोणले आइसक्रिमलाई फ्रोजन डिजर्टभन्दा राम्रो मानिन्छ । किनभने यो दूधबाट तयार हुन्छ । फ्रोजन डिजर्ट वनस्पति तेल र प्रशोधित पदार्थबाट तयार हुने भएकाले मुटु र कलेजोका लागि लामो समयसम्म हानि पुऱ्याउँछ । बजारमा खरिद गर्दा आइसक्रिम र फ्रोजन डिजर्टमा प्रयोग भएका कच्चा पदार्थ उल्लेख भएको लेबल हेरेर मात्रै खरिद गर्न विभागको सुझाव छ।

आसक्रिम र फ्रोजन डिजर्टबीच के भिन्नता छ ?

आइसक्रिम: सामान्यतया दूध, दूधको क्रिम, बटरको बोसो (दूधको चिल्लोपना) र चिनीको मिश्रणबाट तयार हुन्छ । यसमा कम्तिमा एक निर्दिष्ट प्रतिशत दूधको चिल्लोपना (फ्याट) अनिवार्य मानिन्छ । यस्तै स्वादअनुसार अण्डा, प्राकृतिक फ्लेभर, स्टेबिलाइजरको सहयोगमा तयार हुन्छ ।

दूधको चिल्लोपना र क्रिमको कारण यसको स्वाद क्रिमी र गाढा हुन्छ । तुलनात्मक रूपमा यो निक्कै महँगो हुन्छ ।

आइसक्रिममा दूधको प्रयोग हुने भएकाले क्याल्सियम र प्रोटिन पाइन्छ, जसले हड्डी र दाँतको स्वास्थ्यमा सहयोग गर्छ । यसमा भिटामिन ए र डीजस्ता पोषक तत्वको उपस्थिति हुन्छ । प्राकृतिक दूधको फ्याट शरीरले फ्रोजन डिजर्टको तुलनामा सजिलै पचाउन सक्छ । अर्कोतर्फ यसमा हुने चिनी र क्यालोरी उच्च हुने हुँदा तौल बढाउने र दूधबाट एलर्जी भएकालाई यो हानिकारक पनि हुन सक्छ ।

फ्रोजन डिजर्ट: वनस्पतिजन्य तेल र बोसो (चिल्लोपना) बाट तयार हुन्छ । पाम आयल, कोकोनट आयल, पानी, वनस्पति प्रोटिन, लिक्विड ग्लुकोज, चिनी, कर्न सिरप, वा कृत्रिम गुलियो, इमल्सिफायर, स्टेबिलाइजर, कृत्रिम रंग र बास्नालगायतको सहयोगमा तयार हुन्छ । यसको स्वाद केही हल्का वा अलग प्रकारको हुन्छ । आइसक्रिमको तुलनामा यसको मूल्य सस्तो हुन्छ । यसमा जनावरजन्य बोसो (चिल्लोपना) नहुने भएकाले ‘कोलेस्ट्रोल फ्री’ भनेर बजारीकरण भइरहेको छ । तर यो पूर्ण सत्य भने होइन ।

फ्रोजन डिजर्टमा ‘ट्रान्स फ्याट’ को उपस्थितिसमेत हुने भएकाले स्वास्थ्यका लागि त्यति राम्रो मानिँदैन । तर कतिपय मुलुकले विभिन्न प्रविधि प्रयोग गरी ट्रान्स फ्याटको उपस्थिति कम गर्न प्रयास गरिरहेका छन् । फ्रोजन डिजर्ट तयार गर्न पाम आयल प्रयोग हुने भएकाले मुटुको स्वास्थ्यका लागि निक्कै हानिकारक मानिन्छ । यसमा क्याल्सियम र प्रोटिन निक्कै कम हुन्छ । यसमा धेरै कृत्रिम रासायनिक पदार्थको प्रयोग हुने सम्भावना हुन्छ ।