गार्मेन्ट उद्योग खोल्दै मीनबहादुर गुरुङ, कति गर्दैछन् लगानी ?

2.2k
Shares

काठमाडौं । भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले गार्मेन्ट उद्योग निर्माण गर्ने भएका छन् । गुरुङले गत आर्थिक वर्षमा ‘गार्मेन्ट गियर प्रालि’ दर्ता गरी गार्मेन्ट क्षेत्रमा व्यवसाय विस्तार गर्ने कार्य अगाडि बढाएका हुन् ।

गुरुङले रुपन्देहीको विशेष आर्थिक क्षेत्र (सेज) मा निर्यात गर्ने योजनासहित उद्योग दर्ता गरेको जनाइएको छ । उद्योगबाट उच्च गुणस्तरको गार्मेन्ट उत्पादन गरिनेछ । उद्योगले डेनिम बटम, लेगिङ, जेगिङ, ट्रेजिङ, पेन्ट, सर्ट र निटवेयर उत्पादन गर्नेछ।

गुरुङले विशेष आर्थिक क्षेत्रमा ८० करोड ४० लाख रुपैयाँ लागतमा उद्योग निर्माण गर्ने योजना बनाएका छन् । कम्पनीको ऋण र स्वपुँजी अनुपात (डेट इक्विटी रेसियो) ७५:२५ छ । जसमा कम्पनीले ६० करोड रुपैयाँ ऋणमार्फत र २० करोड ४० लाख रुपैयाँ इक्विटी (स्वपुँजी) मार्फत लगानी गर्ने भएको छ ।

कम्पनीका अनुसार हालसम्म १५ करोड रुपैयाँ इक्विटीको व्यवस्थापन भइसकेको छ, जुन कुल इक्विटीको ७४ प्रतिशत हो । उद्योग निर्माणमा हालसम्म ३४ प्रतिशत वित्तीय प्रगति भइसकेको छ । कम्पनीले उद्योग निर्माणका लागि दीर्घकालीन तथा अल्पकालीन कर्जा प्रयोजनार्थ कुल १ अर्ब ३० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ८० करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५० करोड रुपैयाँको रेटिङ गराएको हो।

कम्पनीले तयारी पोसाक उत्पादनमा विशेषज्ञता हासिल गर्ने लक्ष्य राखेको छ। कम्पनीले संयुक्त राज्य अमेरिका, क्यानडा, युरोप र भारतजस्ता उच्च सम्भावनायुक्त अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरी कपडा उत्पादन गर्ने जनाएको छ । साथै, कम्पनीले स्थानीय बजारमा पनि केही सामग्री आपूर्ति गर्ने योजना बनाएको छ ।

कम्पनीले उत्पादन गर्ने कपडा विशेषगरी भाटभटेनीमार्फत बिक्री गरिने उल्लेख छ । कम्पनीले वार्षिक करिब ५७ लाख ६० हजार थान विभिन्न प्रकारका कपडा उत्पादन गर्ने क्षमता राख्नेछ ।

कम्पनीमा ६ जना सञ्चालक सदस्य छन् । कम्पनीको अध्यक्ष मीनबहादुर गुरुङ हुन् भने निर्देशकमा व्यवसायी उमेश श्रेष्ठ रहेका छन् । श्रेष्ठ एलए ग्रुपका अध्यक्ष समेत हुन् ।

कम्पनीले कपडा उत्पादनका लागि आवश्यक कच्चा पदार्थ चीनबाट आयात गर्नेछ । सरकारले विशेष आर्थिक क्षेत्रमा गार्मेन्ट उत्पादनका लागि विशेष सुविधाको व्यवस्था गरेको छ । सरकारले उद्योगहरूलाई प्रोत्साहन गर्न व्यवसाय सुरु भएको मितिले पहिलो ५ वर्षसम्म कर्पोरेट आयकरमा शतप्रतिशत र त्यसपछिको ५ वर्षसम्म ५० प्रतिशत छुट प्रदान गर्ने व्यवस्था गरेको छ । साथै, आयातित कच्चा पदार्थ र मेसिनरीमा भन्सार तथा भ्याट छुटको समेत व्यवस्था रहेको छ ।

गार्मेन्ट गियर प्रालिको उद्योग लुम्बिनी प्रदेशको रुपन्देही जिल्लास्थित रोहिणी गाउँपालिकाको विशेष आर्थिक क्षेत्र भित्र स्थापना हुँदैछ । केयर रेटिङ नेपालले कम्पनीको ८० करोडको दीर्घकालीन बैंक सुविधालाई डबल बी माइनस र ५० करोडको अल्पकालीन सुविधालाई एफोर रेटिङ प्रदान गरेको छ ।

२०२६ जनवरी २८ सम्मको तथ्यांक अनुसार कम्पनीले ऋणको हिस्साका लागि वित्तीय व्यवस्थापन सम्पन्न गरिसकेको छ । कम्पनीले आवश्यक कच्चा पदार्थ (फ्याब्रिक) चीनबाट आयात गर्ने हुँदा चिनियाँ युआनको विनिमय दरमा हुने उतारचढाव र अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य वृद्धिको जोखिम रहने रेटिङ रिपोर्टमा उल्लेख छ । कम्पनीसँग हाल मुद्राको जोखिम न्यूनीकरण गर्ने संयन्त्र छैन ।

सञ्चालक उमेश श्रेष्ठसँग शिक्षा क्षेत्रका अतिरिक्त ‘एग्रिवस्तु कोल्ड स्टोरेज प्रालि’ मार्फत व्यवसायिक अनुभव रहेको र अध्यक्ष मीनबहादुर गुरुङको नेपालको खुद्रा व्यापारमा स्थापित पहिचानलाई रेटिङको सकारात्मक पक्ष मानिएको छ ।

आयोजना निर्माणाधीन अवस्थामा रहेकाले यसको समयमै निर्माण सम्पन्न हुने र सञ्चालनमा आएपछि बजारमा स्थापित हुने चुनौतीहरूलाई मुख्य जोखिमका रूपमा औंल्याइएको छ । साथै, बैंकको ब्याजदरमा हुने परिवर्तनले पनि कम्पनीको नाफामा असर पर्न सक्ने उल्लेख छ ।

सेजमा सञ्चालित उद्योग भएकाले कच्चा पदार्थ र मेसिनरी आयातमा भन्सार शुल्कमा पूर्ण छुट हुनुका साथै निर्यातका लागि उत्पादित वस्तुमा अन्तःशुल्क समेत नलाग्ने सुविधा कम्पनीले पाउनेछ ।