
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आसन्न निर्वाचनका लागि ‘निर्वाचन विशेष मौसम बुलेटिन’ सार्वजनिक गरेको छ । महाशाखाका अनुसार फागुन २० देखि २२ गतेसम्म देशभर कुनै पनि उल्लेखनिय र शक्तिशाली मौसम प्रणालीको प्रभाव रहने सम्भावना छैन ।
मधेस प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भू-भागहरूमा मौसम मुख्यतया सफा रहनेछ । यसले गर्दा तराईका जिल्लाहरूमा मतदान प्रक्रियामा मौसमले कुनै अवरोध पुर्याउने देखिँदैन ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा फाटफुट वर्षा तथा हिमपातको सम्भावना रहेको छ । विशेष गरी फागुन २० र २२ गते यस्तो प्रभाव देखिन सक्छ । तर, यो धेरै ठूलो र व्यापक नहुने महाशाखाले जनाएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा फागुन २० र २१ गते मौसम मुख्यतया सफा रहनेछ । यद्यपि, फागुन २२ गते (शुक्रबार) भने पहाडी र हिमाली भेगका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
लुम्बिनीको पहाडी भेगमा फागुन २१ र २२ गते आंशिक बदली रहने भए पनि अन्य समयमा मौसम सामान्यतया सफा नै रहनेछ ।
समग्रमा, निर्वाचन अवधिभर ठूलो वर्षा वा भारी हिमपातको जोखिम नरहेकाले मतदानका लागि मौसम अनुकूल देखिन्छ । यद्यपि, पहाडी र हिमाली भेगका मतदाताहरूलाई स्थानीय मौसममा हुन सक्ने सामान्य हेरफेर र चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन र पछिल्लो मौसमी सूचनाबारे जानकारी लिन महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाले निर्वाचनको समयमा मौसमको निरन्तर अनुगमन र विश्लेषण गरिरहेको र आवश्यक परे बुलेटिन अद्यावधिक गर्ने समेत जानकारी दिएको छ ।








प्रतिक्रिया