सरकार र राजनीतिक दल व्यवसायीमैत्री भएमात्रै निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण बदलिन्छ

0
Shares

लगानी बढाउने त परको कुरा, भएको क्षति मर्मत गर्न पनि गाह्रो छ यो पीडा हो, पोखरास्थित होटल सरोवरका सञ्चालक भरतराज पहारीको । जेनजी विद्रोहका नाममा भएका तोडफोड र आगजनीले निजी क्षेत्रको आत्मविश्वास कुन हदसम्म डगमगाएको छ भन्ने उदाहरण पहारीको भोगाइले प्रष्ट पार्छ । सरकार र राजनीतिक दलहरू व्यवसायीमैत्री नभएसम्म निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण नबदलिने तर्क राख्ने पहारीसँग जेनजीविद्रोहपछिको लगानी वातावरण र व्यावसायिक सुरक्षाका चुनौतीबारे गरिएको कुराकानी:

जेनजी प्रदर्शनका क्रममा तपाईंले के कस्ता क्षति भोग्नुभयो ?

देशैभर चर्किएको जेनजी आन्दोलनको असर शहरी क्षेत्रहरूमा बढी परेको देखिन्छ । सरकारी कार्यालय भएका स्थान, नेताका बसोबास भएकादेखि राजनीतिमा जोडिएका र नजोडिएका व्यवसाय पनि आन्दोलनको निशानामा परेका थिए । आन्दोलनका कारण भएको आगजनी, लुटपाट र तोडफोडले उत्पादन वा सेवा प्रवाहमा असर पर्न गयो ।

केही सेवा बन्द गनुपर्ने भए भने केहीको बजार प्रभावित भयो । यसले आपूर्ति श्रृंखलामा र व्यवसायीमा मनोवैज्ञानिक असर पुर्‍यायो । उद्यमशीलतामा निराशा छाउँदाको नकारात्मक प्रतिक्रिया म र मेरो व्यवसायले पनि बेहोर्नुपर्यो।

जेनजी प्रदर्शनका कारण तपाईंको मनोबलमा कस्तो प्रभाव पर्यो ? तपाईं थप लगानी गर्न तयार हुनुहुन्छ ?

आन्दोलनका क्रममा निजी तथा सरकारी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट हुँदा त्यसको असर सबै उद्यमी व्यवसायीदेखि आम नेपालीलाई समेत परेको थियो । आन्दोलनका कारण मनोबल कमजोर हुनु नै निजी क्षेत्रका लागि सबैभन्दा ठूलो असर हो ।

यस्तो अवस्थामा लगानी बढाउने भन्ने कुरा आउँदैन । मेरो व्यवसायमा आन्दोलनले एक करोड रुपैयाँभन्दा बढी क्षति भएकोले यसैको मर्मतसम्भारमा थप लगानी गर्ने रकम खर्च गर्नुपर्ने अवस्था छ । यसर्थ, अहिलको अवस्थामा कुनै हालतमा लगानी बढाउने पक्षमा म छैन ।

जेनजी प्रदर्शनका कारण लगानीको वातावरण कतिको धक्का पुगेको छ ?

आन्दोलन हुनु र भौतिक क्षतिसम्म नै गर्नु भनेको आम व्यवसायीका लागि पक्कै राम्रो होइन । यसपटक भएको जेनजी आन्दोलन पनि आम उद्योगी व्यवसायीको मनोबल कमजोर बनाउने र लगानीको वातावरणलाई असर गर्ने खालको थियो ।

जेनजी प्रदर्शनपछि निजी क्षेत्रको आत्मविश्वास सुदृढ बनाउन सरकारले निर्वाह गरेको भूमिका कस्तो छ ?

जेनजी आन्दोलनपछि सरकारले निजी क्षेत्रलाई कुनै हौसला र सान्त्वना दिन सकेन । आन्दोलनका कारण जसलाई क्षति पुग्यो उही प्रताडित हुनुपर्ने अवस्था भयो । त्यसकारण पनि सरकारको जेनजी आन्दोलपछिको भूमिकाप्रति म पूर्ण असन्तुष्ट छु ।

भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा निजी क्षेत्रले कस्तो प्रत्यक्ष (भौतिक) र अप्रत्यक्ष (आर्थिक) क्षति बेहोर्नुपर्‍यो ?

दुई दिनको आन्दोलनका कारण एकातर्फ व्यवसायी आतंकित हुने अवस्था बन्यो भने अर्कोतर्फ आफू र आफ्नो व्यवसाय जोगाउने चिन्ताले निकै पिरोल्यो । आन्दोलनका क्रममा भएको भौतिक र आर्थिक क्षतिले सुरक्षा चुनौती, ज्यानको असुरक्षा, निराशा, अनिश्चितता र त्रासको वातावरण सिर्जना गरेको थियो । यसले प्रत्यक्ष रूपमा भएको क्षतिभन्दा ठूलो असर परेको अनुभूति भयो । जेनजी प्रदर्शनले लगानी वातावरणमा गम्भीर धक्का पुगेको छ । यसको असर पक्कै पनि दीर्घकालसम्म पर्छ भन्ने अनुमान भइरहेको गर्न सकिन्छ ।

तपाईंले व्यक्तिगत रूपमा वा आफ्ना कर्मचारीमा वा व्यावसायिक जगतले महसुस गरेको ‘पोस्ट जेनजी स्ट्रेस’ (डर, असुरक्षा, अनिश्चितताजन्य तनाव) के–के छन् ?

डर, असुरक्षा, अनिश्चितताजन्य तनाव जस्ता सबै समस्याहरू यही जेनजी आन्दोलनकै कारण विकास भएका छन् । त्यतिबेला भएको क्षति र व्यवसायमा परेको असरलाई परिपूर्ति गर्न पनि लामो समय लाग्नेछ ।

जेनजी प्रदर्शनपछि व्यावसायिक वातावरण जोगाउन सरकारले गरेका प्रयासहरू के कस्ता छन् ? र, ती प्रयास कत्तिको प्रभावकारी भइरहेका छन् ?

सरकारले सार्वजनिक रूपमा निजी क्षेत्रलाई सहजीकरण गर्ने भनेर जे जति अभिव्यक्ति दिएको थियो त्यो व्यावहारिक छैन । सरकारले जेनजी आन्दोलनपछि व्यावसायिक वातावरण बनाउन ठोस कदम चालेको अनुभूति हामीले गर्न पाएका छैनौं । केही पहल गरेका विषयहरूलाई पनि कार्यान्वयनमा लैजान सकेको देखिएन । त्यसले गर्दा सरकार र सरकारी निकायको व्यावसायिक वतावरण बनाउने विषयको प्रभावकारिता छैन ।

व्यवसायीको मनोबल बढाउन सरकारलाई तपाईंको सुझाव केके छन् ?

सरकारले निजी क्षेत्रमैत्री भएर काम गर्नुपर्ने आवश्यकता छ । क्षतिको तथ्यांक बमोजिम क्षतिपूर्ति दिनुपर्छ । बिमा गरिएको अवस्थामा बिमा कम्पनीबाट क्षति बमोजिमको रकम व्यवसायीलाई अविलम्ब दिन आवश्यक छ । व्यवसाय सञ्चालनमा राहत दिनुपर्छ । बैंक ऋणमा ब्याज मिनाहा गर्नेदेखि बजार व्यवस्थापनमा राहत दिएर अर्थतन्त्र चलायमान गराउन सरकारले भूमिका खेल्नुपर्छ ।

भविष्यमा निजी क्षेत्रमाथि आक्रमण हुन नदिन वा यस्ता प्रदर्शनबाट निजी क्षेत्रलाई टाढै राख्नका लागि सरकार, व्यवसायी आफैं र अन्य सरोकारवालाहरूबाट के कस्तो पहलको आवश्यकता छ ? वा निजी क्षेत्रमाथि सर्वसाधारणको नकारात्मक मनोवृत्ति (दृष्टिकोण) कसरी बदल्न सकिन्छ ?

सरकारले निजी क्षेत्रलाई सबैभन्दा पहिले आर्थिक विकासको साझेदार मान्ने र प्राथमिकता दिने काम गर्नुपर्छ । समाजका राजनीतिक, सामाजिक, सांस्कृतिक, आमसञ्चार, बौद्धिक जगत (ओपिनियन मार्केट) सामाजिक सञ्जालहरू लगायत विद्यार्थी, शिक्षक, व्यापारी र व्यवसायी, कर्मचारी सबै क्षेत्रलाई सकारात्मक सन्देश दिने गरी काम गर्नुपर्छ ।

उद्योगी व्यवसायीमाथि समाजले नकारात्मक विष घोलन मात्रै गर्ने काम भएको छ । यसो गर्नु हुँदैन । कोही कसैले गर्ने गल्ती र कमजोरीमा तथ्यको आधारमा मात्र आलोचना गर्नुपर्छ ।  शंकाको भरमा या शंका लाग्ने गरी कसैको चरित्रहत्या गर्ने या बदनाम गर्ने प्रवृत्ति हटाउनुपर्छ । समाजमा सकारात्मक सोच विकास हुँदा आपराधिक मनोवृत्ति आफैं कमजोर भएर जान्छ । यसले सकारात्मक ऊर्जा पनि प्रदान गर्छ ।

नेपालमा लगानीमैत्री वातावरण बनाउन कसले कस्तो भूमिका निर्वाह गर्नुपर्ला ?

सरकारले व्यवसायको सुरक्षाको प्रत्याभूति गर्नुपर्छ भने राजनीतिक दल र सरकार व्यवसायमैत्री हुनुपर्छ । यसो भयो भने समाजमा व्यावसायिक वातावरण सजिलै सिर्जना गर्न सकिन्छ ।

(प्रस्तुत अन्तर्वार्ता ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण’ अध्ययन प्रतिवेदन तयार पार्ने क्रममा सोधिएका प्रश्नहरुमा होटल सरोवरका सञ्चालक पहारीले दिएको जवाफका आधारमा तयार पारिएको हो ।)