चन्द्र ढकालको दूरदर्शी भिजनले ग्लोबल आइएमई यसरी बन्यो देशकै ठूलो बैंक



काठमाडौं । नेपालमा बैंकहरु स्थापना हुने लहर चलिरहँदा १८औँ वाणिज्य बैंकको रुपमा स्थापना भयो ग्लोबल बैंक । त्योबेला ग्लोबल बैंकको ‘पोजिसन’ वाणिज्य बैंकहरुमध्ये धेरै तल थियो । त्यो बेला बैंकको नाम ग्लोबलमात्रै थियो । पछि आइएमई फाइनान्स गाभेपछि बैंकको नाम पनि ग्लोबल आइएमई बनाइएको हो ।

१ अर्ब रुपैयाँ हाराहारी चुक्ता पुँजी भएको ग्लोबल बैंकको नाफा करोडमा थियो । केही सय कर्मचारी भएको ग्लोबल बैंकको व्यवसायको खासै चर्चा हुँदैनथ्यो ।

ग्लोबल बैंक आउँदै गर्दा नेपालमा बैंक स्थापना गर्ने लहर नै थियो । ग्लोबलसँगसँगै अन्य धेरै बैंक आए, जतिबेला सरकारी र अन्य पूराना निजी बैंकले बजार ‘लिड’ गरिरहेका थिए ।

स्थापनाको निकै छोटो अवधिमै ग्लोबल आइएमई बैंकले ठूलो ‘फड्को’ मारेको छ । त्यो फड्को संख्यात्मक र गुणात्मक दुबैमा छ । अंकमा हेर्ने हो भने यो ग्लोबल आइएमई बैंक अहिले मुलुकको सबैभन्दा धेरै नाफा कमाउने वाणिज्य बैंक बन्न सफल भएको छ ।

गुणात्मक दृष्टिकोणले हेर्ने हो भने पनि बैंक विश्वासशिलो र भरपर्दो छ । अध्यक्ष ढकालको स्पष्ट भिजन, लक्ष्य र सही मर्जर नीतिले छोटो समयमा अधिकांश वित्तीय सूचकहरुमा यस बैंकले ठूलो सफलता प्राप्त गरेको हो ।

बैंक अंकको खेल हो । निक्षेप संकलन, कर्जा वितरण, सही लगानी र नाफा आर्जन । सबै पक्षमा ग्लोबल आइएमई बैंक अब्बल बनेको छ ।

अधिकांश अंकको प्रतिस्पर्धामा ग्लोबलले सबै वाणिज्य बैंकलाई पछि पारेको छ । चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले ३ अर्ब ७२ करोड ६२ लाख १२ हजार रुपैयाँ खुद नाफा गरेको छ ।

यो नाफा मुलुकमा सञ्चालित वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै हो । नाफाको आकार हरेक त्रैमासमा बढ्दो छ । तेस्रो त्रैमासमा गरेको नाफा आर्थिक बर्षको सोही अवधिको तुलनामा ४.१३ प्रतिशतले बढी छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड ९१ लाख १४ हजार रुपैयाँ पुगेको छ ।

२३ अर्ब ७९ करोड रुपैयाँ चुक्ता पुँजी भएको ग्लोबल आइएमई बैंकसँग जगेडा कोषमा ९ अर्ब ८४ करोड ७४ लाख रुपैयाँ छ ।

२ खर्ब ६९ अर्ब निक्षेप संकलन गरेको बैंकले २ खर्ब ६० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । प्रतिसेयर आम्दानी २० रुपैयाँ ८८ पैसा छ ।

३५ सयभन्दा धेरै कर्मचारी भएको बैंकका २८ लाखभन्दा बढी ग्राहक संख्या पुगेका छन् । पछिल्लो समय डिजिटल कारोबारमा केन्द्रित गरेको सेवामा सक्रिय ग्राहक पनि उत्तिकै बढिरहेका छन् ।

पहिलो बैंक बन्नुमा बैंकप्रति ग्राहकको विश्वास सबैभन्दा ठूलो कुरा भएको आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल बताउँछन् । जुन विश्वास आर्जन गर्न बैंकका अध्यक्ष रहेका ढकालको प्रमुख भूमिका छ ।

‘हामीले शुरुदेखि नै यस सबैका लागि बैंक बनाउने प्रयास गरिरह्यौं,’ ढकालले क्लिकमाण्डूसँग भने, ‘सबै किसिमका ग्राहकहरुलाई सेवा दिने एउटै बैंक बनाउन हामीले कुनै पनि कसर बाँकी राखेका छैनौं ।’

ग्लोबल आइएमई बैंक छोटो समयमै सफल हुनुमा दुई तीनवटा प्रमुख कारक रहेको ढकालको भनाइ छ ।

पहिलो कारण ढकालले आर्जन गरेको विश्वास हो । ढकाल ‘भुईमान्छे’बाट माथि उठेर शिखरमा पुगेका व्यक्ति हुन् । जसले मुलुककै सबैभन्दा ठूलो कर्पोरेट ग्रुप आइएमई ग्रुप स्थापना गरे र उचाइमा पुर्याए । उनी आफ्नो व्यवसायमा मात्र सफल भएनन् निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठनको बरिष्ठ उपाध्यक्ष हुँदै आगामि वर्षदेखि स्वतः अध्यक्ष हुने लाइनमा बसेका छन् ।

ग्लोबल आइएमई बैंकको नाम जोडिनेवित्तिकै ग्राहकको मानसपटलमाचन्द्र ढकाल आउँछन् छन् । उनको दूरदृष्टिले आइएमई ग्रुप अहिले मुलुकको सबैभन्दा ठूलो कर्पोरेट ग्रुप बनेको छ ।

ढकालको बिजनेश रणनीति अरुको भन्दा फरक छ । उनी आफू एक्लै धनी बन्न लागेका छैनन्, आफूसँगै हजारौंलाई धनी बनाउन लागि परेका छन् । त्यसैले त आइएमइ ग्रुप र ढकालको लगानी भएका अधिकांश संस्था पब्लिक कम्पनी छन् । र, ती कम्पनीले सर्वसाधारणका लागि पनि सेयर जारी गरेका छन् । जसकारण आइएमई ग्रुप र ढकालको लगानी भएका कम्पनीहरुले कमाएको नाफा लाभांशका रुपमा हजारौंको हातमा पुग्छ ।

ढकालको दोस्रो बिजनेश रणनीति भनेको राज्यको नीतिलाई सहयोग गर्दै बिजनेश गर्नु हो । सरकारको प्राथमिकताका क्षेत्रमा लगानी गर्ने हो भने सफलता पाउन सकिन्छ भन्ने उनको मान्यता छ । जुन कुरा उनले आफ्ना हरेक व्यवसायमा लागु गरेका छन् ।

सरकारले विदेशबाट आउने रकमलाई औपचारिक च्यानलमा ल्याउन प्रयास गरिरहेको बेला आइएमई रेमिट स्थापना गरे । जसले विदेशबाट अनौपचारिकरुपमा आइरहेको रकमलाई औपचारिक च्यानलमा ल्याउन ठूलो र मूख्य भूमिका खेल्यो ।

सरकारले वित्तीय पहुँच र वित्तीय साक्षरतालाई प्राथमिकता दियो, ढकालको अगुवाईमा बैंक खुल्यो । सरकारले बीमालाई प्राथमिकता दियो, उनले बीमा खोले ।

सरकारले हाइड्रोपावरलाई प्राथमिकता दियो, उनले हाइड्रोपावरमै लगानी गरे । त्यस्तै, सरकारले पर्यटन, पूर्वाधार, आइटी र स्टार्टअपलाई प्राथमिकता दियो, उनले ती क्षेमा लगानी बढाइरहेका छन् ।

‘हामीले धेरै काम गरेका होइनौं, सरकारले प्राथमिकता दिएका क्षेत्रमा लगानी गरेर सरकारको सपना साकार बनाउन लागि परेका हौं,’ढकाल भन्छन् ।

ढकालले आम जनताको आवश्यकता र राज्यको प्राथमिकतालाई बुझेर गरेको लगानीले उनलाई निकै राम्रो प्रतिफल दिइरहेका छन् ।

ग्लोबल आइएमई बैंक पनि त्यही लयमा छ । जसले मुलुकका वाणिज्य बैंकलाई उछिन्दै ‘नम्बर वान’ बन्न सफल भएको छ ।

ग्लोबल आइएमई बैंक ‘नम्बर वान’ बन्नुको अर्को कारण हो सफल ‘मर्जर’ नीति । तत्कालीन गभर्नर डा. युवराज खतिवडाले २०६८ सालमा मर्जर नीति ल्याए, राज्यको त्यही नीतिलाई तदारुकताका साथ कार्यान्वयनमा ल्याउने निर्णय गरे ढकालले ।

जुनबेला ग्लोबल बैंकलाई आइएमई फाइनान्ससँग मर्जरमा लगेका थिए, त्यसबेलासम्म कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा गएका थिएनन् भन्दा अत्युक्ति हुँदैन ।

अहिले बैंकहरु मर्जरमा जान निकै मेहनत गरिरहेका छन् । कतिलाई पार्टनर खोज्न हम्मेहम्मे परिरहेको छ । ग्लोबल आइएमई बैंकले २०६८ सालको पहिलो मर्जरदेखि जनता बैंकसम्म आउँदा १८ संस्थासँग मर्जर गरेर बैंकिङ उद्योगमा मर्जरको एक इतिहास प्रस्तुत गरेको छ ।

ग्लोबल आइएमई बैंकले राष्ट्र बैंकले ल्याएको मर्जरको नीतिलाई पहिलो पटक कार्यान्वयन ल्याएको थियो । राष्ट्र बैंकले मर्जरको नीति ल्याएपछि यो नीतिले बैंकलाई अझ सुधार गर्न सकिन्छ भन्ने ढकाललाई लाग्यो ।

त्यसबेला मुख्य दुई कारणले ढकालले ग्लोबल आइएमई बैंकलाई मर्जरमा लैजान चाहेको उनी बताउँछन् ।

पहिलो, उनी ग्लोबल आइएमई बैंकलाई मुलुकको सर्वश्रेष्ठ बैंक बनाउनु पर्छ भन्ने ‘भिजन’ शुरुदेखि लिएर हिँडिरहेका थिए ।

उक्त भिजन पूरा गर्न मुलुकभर नेटवर्क आवश्यक थियो । नेटवर्क विस्तार गर्न लगानी वृद्धि वा एफपीओ एउटा उपाय थियो । तर, नेटवर्क विस्तार गर्न मर्जर सबैभन्दा राम्रो उपाय हो भन्ने उनलाई लाग्यो । जसले कर्जा र निक्षेप संकलन बढाउन, नेटवर्क विस्तार एकै पटक गर्न सकिन्थ्यो ।

वि. सं. २०६८ माघ २० मा पहिलो पटक ग्लोबल बैंक र आइएमई फाइनान्स मर्ज भए । दुई संस्थाका लगानीकर्ता आइएमई ग्रुपका थिए । यही समानताले पनि पहिलो मर्ज सफल भयो ।

ग्लोबल बैंक र आइएमई फाइनान्सबीचको मर्जर मुलुककै पहिलो मर्जर थियो । यहीँबाट बैंक तथा वित्तीय संस्थाबीचको मर्जर पनि शुरुभयो ।

आइएमई फाइनान्ससँगसँगै मर्जरमा आयो लर्डबुद्ध फाइनान्स । आइएमई र लर्डबुद्ध फाइनान्स मर्जरमा आएपछि २०६९ असार २५ गतेदेखि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार शुरु भयो ।

ग्लोबल आइएमईको मर्जर र प्राप्तिको क्रम यत्तिकै रोकिएन । झन्डै आठ महिनापछि मर्जरमा आए दुई विकास बैंक– सोसल डेभलपमेन्ट बैंक र गुल्मी विकास बैंक ।

मर्जरको परिणाम सकारात्मक आउन थाल्यो । व्यवसायीकरुपमा सफलताहरु प्राप्त हुन थाल्यो । तीनवटा संस्थासँग सफल मर्जर गरेको ग्लोबल आइएमई बैंकले ‘बैंक अफ दि इयर २०१४’ बाट सम्मानित भयो । त्यसै वर्ष ‘क’ वर्गको कमर्ज एन्ड ट्रस्ट बैंकलाई आफूमा गाभेको बैंकले अस्ट्रेलियामा सम्पर्क कार्यालय पनि खोल्यो ।

सन् २०१६ मा ‘बेस्ट इन्टरनेट बैंक’ अवार्ड हात पारेको ग्लोबल आइएमईले लमजुङमा भएको प्यासिफिक डेभलपमेन्ट बैंक र रिलायबल विकास बैंकसँग मर्ज भयो । रियायबल विकास बैंक ग्लोबलमा गाभिनुअघि उसले कन्जुमर डेभलपमेन्ट बैंकलगायत ३ वटा विकास बैंकलाई आफूमा गाभेको थियो ।

ग्लोबल आइएमई बैंकले मर्जरलाई अझ तीव्रता दियो । बैंक विस्तारै ठूलो आकारको भइरहेको थियो । यहाँसम्म आइपुग्दा बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँभन्दा माथि लागिसकेको थियो । यसैक्रममा हाथवे फाइनान्स पनि ग्लोबल आइएमईमा गाभिन आइपुग्यो ।

विकास बैंक र फाइनान्सहरुलाई आफूमा गभिरहेको ग्लोबल आइएमई बैंकले अब भने ‘बिग मर्जर’ नीतिलाई अगाडि बढायो ।

जनता बैंक सञ्चालनमा आएको ६ वर्ष भइसकेको थियो । यसको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ थियो । ग्लोबल आइएमई बैंकको नजर जनता बैंकमा पर्यो । जनता बैंकसँग ‘कुण्डली’ मिल्ने ठहर गरेपछि मर्जको प्रकृया अघिबढ्यो ।

दुई बैंकले मर्जरमा जाने निर्णय गरेको ६ महिनामै सबै काम सम्पन्न भयो । र, २०७६ मंसिर २० देखि एकीकृत कारोबार शुरु भयो ।

दुई ठूला बैंक मर्जरमा जान सामान्यतया एकदेखि डेढ वर्ष लाग्छ । तर, ग्लोबल आइएमई र जनता बैंकबीचको ‘मर्जर’ छोटो समयमै सम्पन्न भयो ।

जनता बैंक ग्लोबल आइएमई बैंकसँग मर्जरमा जानुअघि ८ वटा अन्य साना वित्तीय संस्थालाई आफूमा गाभिसकेको थियो । ग्लोबल आइएमईले आफूले गाभेका, रिलायबल फाइनान्सले आफूमा गाभेका र जनताले आफूमा गाभेका बैंक तथा वित्तीय संस्था जोड्दा १८ वटा संस्था ग्लोबल आइएमई बैंकसँग गाभिएका छन् ।

दुई ठूला बैंक मर्जरमा जाँदा मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा नयाँ तरंग नै ल्यायो । मर्जरअघि ग्लोबल आइएमईमा १५०० सय र जनतासँग २ हजार हाराहारी कर्मचारी थिए । एउटै बैंकमा कर्मचारीको संख्या झण्डै ३५०० पुग्यो । देशभरमा शाखाको संख्या ३ सय ७५ शाखा पुग्यो ।

आकारमा पनि यो बैंक मुलुककै सबैभन्दा ठूलो बैंक बन्यो । ग्लोबल आइएमईको चुक्ता पँुजी १२ अर्ब रुपैयाँ थियो भने जनतासँग ८ अर्ब रुपैयाँ थियो । मर्जरपछि २० अर्ब रुपैयाँ चुक्ता पुँजी भएको बैंक बन्यो ।

मर्जरपछि व्यवसायको आकार पनि ठूलो भयो । बैंकको व्यवसाय २ खर्ब २९ अर्ब रुपैयाँभन्दा माथि लाग्यो । प्रमोटरको संख्या ३ हजार र सेयरधनीको संख्या झन्डै ३ लाख पुग्यो । जतिबेला जनता बैंकको व्यवसायीक कर्जा १ खर्ब ५० अर्ब रुपैयाँको हाराहारीमा थियो ।

मर्जरको मुख्य उदेश्य व्यवसाय वृद्धि हो । ढकालले जुन सोच लिएर ग्लोबल आइएमईलाई एकपछि अर्को गर्दै मर्जरमा लगे त्यसले बैंकलाई सफलताको बाटोतर्फ उन्मुख गरायो ।

आइएमई फाइनान्सदेखि जनता बैंकसम्मको मर्जर सकिँदा बैंकले आफ्नो व्यवसायलाई मात्र बढाएन यसले मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा ‘सफल मर्जरको केस’ नै स्थापित गरायो ।

एउटै परियोजनामा ठूलो लगानी गर्न सक्ने भयो । ठूला सिमेन्ट, हाइड्रो पावर, उत्पादनमूलक एउटै आयोजना÷परियोजनामा ७ अर्ब ३५ करोड रुपैयाँ लगानी गर्न सक्ने अवस्थामा पुगेको छ । अहिले ठूलास्तरका जलविद्युत, सिमेन्टगायतका उद्योगमा लगानी गरेको छ ।

मर्जरपछि बैंकले व्यवसायमात्र बढाएको छैन, यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विश्वास आर्जन गरेको छ । स्वदेशमा लगानीकर्ता, ग्राहकमा ठूलो विश्वास गर्न सक्ने भएका छन् ।

साथै, अन्तर्राष्ट्रियस्तरमा विश्व बैंक, आइएमएफ जस्ता संस्थाहरुले हेर्ने दृष्टिकोण पनि बदलिएको छ । उनीहरुले नेपालका एक बलियो र विश्वासिलो बैंक भनेर चिन्न थालेका छन् । यसै कारण पनि बैंकले इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी)सँग सहकार्य गरिरहेको छ ।

अन्तर्राष्ट्रियस्तरमा पाएको यही विश्वासका कारण ग्लोबल आइएमई बैंकले विदेशमा पनि संजाल विस्तार गरेको छ । भारत, अस्ट्रेलिया, दक्षिण कोरिया र बेलायतमा सम्पर्क कार्यालय स्थापना गरेको छ । जापानलगायत अन्य देशमा पनि सम्पर्क कार्यालय खोल्ने योजना बैंकको छ ।

‘हाम्रो उदेश्य भनेको ग्लोब बैंकलाई जनताको सबैभन्दा भरोसायोग्य बैंक बनाउनु पर्नेछ,’ ढकाल भन्छन्, ‘त्यसका लागि हामी निरन्तर लागिरहन्छौं ।’


सन्तोष न्यौपाने