
काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) भित्र आर्थिक अनियमितता र व्यवस्थापकीय कमजोरीको आशंकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले सर्च अप्रेसन गरेको छ ।
बुधबार लैनचौरस्थित संस्थानको केन्द्रीय कार्यालयमा सिआईबीको टोलीले ‘सर्प्राइज छापा’ मारेको हो ।
८ देखि ९ जनाको संख्यामा पुगेको सिआईबीको टोलीले कार्यालयमा रहेका ५ जना कर्मचारीका मोबाइल फोनहरू नियन्त्रणमा लिएको छ । संस्थानभित्र हुने आन्तरिक सञ्चार र सम्भावित साठगाँठबारे अनुसन्धान गर्न मोबाइल जफत गरिएको डीडीसीका महाप्रबन्धक डा.शरणकुमार पाण्डेयले बताए । तर, आफू मन्त्रालयमा भएकाले विस्तृत जानकारी प्राप्त नभएको उनले बताए ।
मोबाइलसँगै टोलीले दूध खरिद–बिक्रीसँग सम्बन्धित महत्त्वपूर्ण कागजात, मौज्दात विवरण र पछिल्ला तीन वर्षका सञ्चालक समितिका निर्णयका फाइलहरू पनि आफ्नो नियन्त्रणमा लिएको छ ।
डीडीसीले किसानबाट दूध संकलन गरी बजारमा बिक्री गर्दै आए पनि लामो समयदेखि किसानलाई भुक्तानी दिन सकेको छैन । हाल संस्थानले देशभरका किसानलाई करिब ५० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
एकातिर किसानले पैसा नपाउने र अर्कोतिर संस्थानको आर्थिक अवस्था बिग्रँदै गएपछि सिआईबीले दूध खरिद–बिक्री प्रक्रिया र आर्थिक कारोबारमा कैफियत रहेको आशंकामा अनुसन्धान थालेको हो ।
डीडीसी स्रोतका अनुसार सिआईबीको टोलीले विशेषगरी दूधको खरिद दर, बिक्री परिमाण, मौज्दातको अवस्था र किसानलाई भुक्तानी गर्न बाँकी विवरणहरू मागेको छ ।
‘सीआईबीले मागेका कतिपय विवरणहरू हामीले उपलब्ध गराइसकेका छौं र बाँकी फाइलहरू पनि अध्ययनका लागि लैजाने तयारी भइरहेको छ,’ संस्थानका एक अधिकारीले बताए ।





प्रतिक्रिया