आयातमा रोक लगाए पनि भारतसँग दुध किन्न सीमा क्षेत्रमा डीडीसीसहित निजी डेरीको चिस्यान केन्द्र



काठमाडौं । दुध खरिद गरेवापत ६ अर्बभन्दा बढी रकम किसानलाई भुक्तानी नगरेका सरकारी दुग्ध विकास संस्थान (डीडीसी) देखि निजी क्षेत्रका डेरी उद्योगले सीमा क्षेत्रमा अवैधरुपमा चिस्यान र संकलन केन्द्र सञ्चालन गरेको फेला परेको छ ।

नेपालभन्दा भारतमा प्रतिलिटर करिब १० रुपैयाँ सस्तोमा कच्चा दुध पाइन्छ । भारतमा अहिले प्रतिलिटर कच्चा दुधको मूल्य ३५ भारतीय रुपैयाँ (५६ नेपाली रुपैयाँ) पर्छ । नेपालमा सरकारले दुधको न्यूनतम खरिद मूल्य ६५ रुपैयाँ प्रतिलिटर तोकेको छ ।

त्यसैले ६५ रुपैयाँमा सहकारी संकलन केन्द्रको सञ्चालन खर्च प्रतिलिटर ५ रुपैयाँ र ढुवानी, प्रशोधन, प्याकेजिङ्ग, कर्मचारी खर्च जोडेर निजी क्षेत्र र डीडीसीले प्रतिलिटर ७० रुपैयाँमा दुध खरिद गर्दै आएका छन् ।

यसरी स्वदेशमा उत्पादित दुधभन्दा भारतबाट खरिद गर्दा प्रतिलिटरमा १० रुपैयाँसम्म सस्तो पर्ने भएकाले सरकारी संस्थानसहित निजी क्षेत्रका डेरी उद्योगहरुले सीमा क्षेत्रमा चिस्यान र संकलन केन्द्र सञ्चालनमा ल्याएको मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र प्रदेश दुग्ध विकास बोर्डले आशंका गरेको छ ।

स्रोतका अनुसार भारतबाट दुध खरिद गर्दा ढुवानी रकम जोड्दा पनि नेपाली दुधभन्दा प्रतिलिटर ७ रुपैयाँसम्म सस्तो पर्छ । सञ्चालनमा आएका यस्ता चिस्यान र संकलन केन्द्र भारतीय सीमा क्षेत्रभन्दा न्यूनतम ५ सय मिटर दूरीमा छ ।

स्रोतका अनुसार भारतबाट अवैध रूपमा आलमुनियम क्यानमा दूध राखेर भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट नेपाल भित्र्याउने गरिएको छ । एउटा मोटरसाइकलमा एक पटकमा १३० लिटरसम्म दूध ओसार्ने काम भइरहेको छ । यस्तो अवस्था सीमा क्षेत्र सर्लाही, कपिलवस्तु, बाँके, रौतहठलगायतका जिल्लामा व्यापक रुपमा भइरहेको स्रोतले जनाएको छ ।

नेपालभन्दा भारतमा दूधको मूल्य सस्तो हुँदा उताबाट अवैध रूपमा भित्रिदा आफूहरूलाई दूध विक्री गर्न कठिनाई भएको जिल्ला दुग्ध व्यवसायी संघ बाँकेका अध्यक्ष दीपकराज भण्डारीले बताए ।

स्वदेशी किसानले बिक्री गरेको दुधको भुक्तानी नपाएको र दुध तथा दुग्धजन्य पदार्थले बजार पाउन नसकेको अवस्था गम्भिररुपमा अध्ययन गर्ने उद्देश्यले मधेश प्रदेशअन्तर्गतको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र प्रदेश दुग्ध विकास बोर्डले हालै गरेको अनुगमनको क्रममा सीमा क्षेत्रमा यस्तो चिस्यान र संकलन केन्द्र सञ्चालन भएको फेला परेको हो ।

अनुगमनमा सहभागी भएका मधेश प्रदेशअन्तर्गतको दुग्ध विकास बोर्डका पशु विकास अधिकृत उपेन्द्र सिंहले राजधानी र राजधानी वरिपरीका सरकारी र निजी क्षेत्रको डेरी उद्योगले सीमा क्षेत्रमा चिस्यान र संकलन केन्द्र सञ्चालन गर्नु आफैमा शंकास्पद भएको बताए ।

सरकारी र निजी क्षेत्रका डेरी उद्योगले भारतीय बजारबाट सस्तो दुध खरिद गर्ने गरेको विशेष सूचनाको आधारमा मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र प्रदेश दुग्ध विकास बोर्डले संयुक्त रुपमा आइतबार सीमा क्षेत्रमा अनुगमन गरेको थियो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिब डा शरणकुमार पाण्डेको नेतृत्वमा अनुगमन भएको थियो ।

‘अनुगमनको क्रममा राजमार्गकेन्द्रित चिस्यान र संकलन केन्द्र सञ्चालन हुनुपर्नेमा भारतीय बजार जोडिएकै नेपाली सीमा क्षेत्रमा शंकास्पद रुपमा कुनै मापदण्ड पालना नगरी डीडीसी, काभ्रेको हिमालयन डेरी उद्योग र पोखराको सुजल डेरी उद्योगको चिस्यान र संकलन केन्द्र सञ्चालनमा रहेको फेला परेको हो,’ अनुगमनमा सहभागी भएका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव पाण्डेले क्लिकमान्डु सँग भने, ‘सीमा क्षेत्रमै सञ्चालन हुनु आफैमा ठूलो शंकास्पद बिषय हो । डीडीसीले बोर्ड नै झुण्डयाएर सञ्चालन गरेको पाइयो । तर अन्य निजी डेरीले बोर्ड समेत नझुण्डयाएर चिस्यान र संकलन केन्द्र सञ्चालन गरेको भेटिएको छ ।’

उनका अनुसार चिस्यान केन्द्र र संकलन केन्द्र सञ्चालन गर्न आवश्यक पर्ने मापदण्ड अनुसार हुनपर्ने तथा सम्बन्धित निकायहरुबाट अनुमति पनि लिनुपर्ने व्यवस्था छ । तर कसैले पनि कुनै पनि निकायबाट अनुमतिसमेत नलिइ आफूखुशी चिस्यान र संकलन केन्द्र सञ्चालन गरेको पाइएको पाण्डेले जानकारी दिए ।

उनका अनुसार सर्लाहीको गोडैता नगरपालिकाको सिसौदियामा काभ्रेको हिमालयन डेरीले ३ हजार लिटर, सर्लाहीकै भारतीय बजारसँग सीमा जोडिएको बलरा नगरपालिकामा डीडीसीले ३ हजार लिटरको एक र २ हजार ४ सय लिटरको अर्को गरी दुईवटा चिस्यान केन्द्र सञ्चालन गरिरहेको छ । त्यसैगरी सुजल डेरीले सर्लाहीको गौडैता नगरपालिकास्थित भारतीय सीमासँग जोडिएको सिमरा भगवतिपुरमा १० हजार लिटर र ३ हजार लिटर गरी १३ हजार लिटर क्षमताको चिस्यान र संकलन केन्द्र सञ्चालनमा ल्याएको पनि सचिव पाण्डेले जानकारी दिए ।

बोर्डका अनुसार सीमा क्षेत्रमा सञ्चालनमा आएको अधिकाँश चिस्यान केन्द्रमा आलुमुनियमको क्यानमा दुध बोकेर मोटरसाइकलमा राखेर ल्याउने गरिएको पाइएको छ ।

‘भारतबाट सस्तो दुध खरिद गर्ने उद्देश्यले उक्त चिस्यान र संकलन केन्द्र सञ्चालनमा ल्याइएको हाम्रो बुझाई हो,’ सचिव पाण्डेले भने, ‘दुध संकलन गर्दा परीक्षण गर्नुपर्छ । तर परीक्षण वेगर गुणस्तरहीन दुध खरिद गरेको पाइएको छ । हामी अलि ढिला पुगेकाले ती चिस्यान केन्द्रहरुले कहाँबाट दुध खरिद गर्दैआएका छन्, त्यसको स्रोत पुष्टि गर्न नसकिए पनि सीमा क्षेत्रमै सञ्चालन गर्नुलाई भारतबाट खरिद गर्ने मूल उद्देश्य र नियत रहेको प्रस्ट हुन्छ ।’

अनुगमनमा सहभागी भएका मधेश प्रदेशअन्तर्गतको दुग्ध विकास बोर्डका पशु विकास अधिकृत सिंहका अनुसार डीडीसी, हिमालयन र सुजल डेरी उद्योगका आधिकारिक अधिकारीहरुलाई बोलाएर सीमा क्षेत्रमा चिस्यान र संकलन केन्द्र सञ्चालन गर्नुको औचित्य पुष्टि गर्न, मापदण्ड पालना गरे, नगरेको, दुधको परीक्षण किन नगरेको, दूध खरिद कुन कुन स्रोतबाट दैनिक कति कति परिमाणमा भइरहेको, संकलन भएको दुध कहाँ कहाँ जाने गरेको लगायतका बिषयमा स्पष्टीकरण सोधेको छ ।

साथै सञ्चालनमा रहेका चिस्यान र संकलन केन्द्रको आधिकारिकताका सम्पूर्ण कागजातसमेत माग गरिएको छ ।

‘मन्त्रालयको निर्देशनमा सीमा क्षेत्रमा सञ्चालन गरिएका ती चिस्यान केन्द्रलाई विशेष निगरानीमा राखेर छानविन गरिरहेका छौं,’ सिंहले भने, ‘अनुगमनको क्रममा सीमा क्षेत्रमा सञ्चालनमा आएको चिस्यान र संकलन केन्द्रले केही दिन अघिसम्म भारतबाट दुध खरिद गर्दै आएको स्थानीय दुग्ध किसानहरुले बयानको क्रममा जानकारी दिएका छन् ।’

अवैध रुपमा दुध र दुग्धजन्य पदार्थ भित्रिन नदिन कडाईका साथ सीमा क्षेत्रमा अनुगमन गर्न सुरु गरिएको पनि सिंहले जानकारी दिए ।

डीडीसीका महाप्रवन्धक संजिवकुमार झाले सर्लाही नगरपालिकाको अनुरोधमा आवश्यक मापदण्ड पूरा गरी सोही नगरपालिकामा डीडीसीको चिस्यान र संकलन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको स्पष्टिकरण दिएका छन् । यस्तै सुदुरपश्चिमको दोधारा चाँदनीमा पनि चिस्यान र संकलन केन्द्र सञ्चालनमा ल्याइएको उनले बताए ।

‘ती क्षेत्रहरुमा व्यावसायिकरुपमा पशुपालन भइरहेको छ, स्थानीय तहले स्वदेशी किसानको दुध भारत जान नपाओस भनेर चिस्यान केन्द्र सञ्चालन गरिदिन माग गरेको आधारमा ती दुवै स्थानमा चिस्यान केन्द्र स्थापना गरिएको हो,’ झाले भने, ‘भारतबाट दुध खरिद गर्न सञ्चालन गरेका छैनौं ।’

नेपालमा दुधको न्यूनतम खरिद मूल्य पनि भारतमा जस्तै दुई पटक निर्धारण हुनुपर्ने सुझाव पनि झाले दिए । यसले गर्दा लागत मूल्य घटेर उपभोक्ता मूल्य सस्तो हुने र आम उपभोक्ताले बढी परिमाणमा उपभोग गर्न सक्षम हुने उनको तर्क छ ।

भारतमा भदौदेखि फागुनसम्म अत्याधिक दूध उत्पादन हुने सिजनको लागि एक प्रकारको किसानको खरिद मूल्य र कम उत्पादन हुने चैतदेखि साउन महिनासम्मको लागि अर्को खरिद मूल्य गरी दुई प्रकारको मूल्य तोकिएको छ ।

भारतबाट सस्तो मूल्यको दुध र दुग्धजन्य पदार्थ आयातका कारण पनि स्वदेशी दुध तथा दुग्धजन्य पदार्थ बिक्री नहुँदा किसानहरुलाई वक्यौंता रकम दिन कठिनाई भएको ठहर गर्दै सरकारले दुग्धजन्य पदार्थको आयातमा पूर्ण रुपमा रोक लगाएको छ ।

संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले फागुन ३ गतेदेखि लागु हुने गरी चिल्लो हटाइएको दुध (स्किम्ड मिल्क), चिनी वा अन्य गुलियो पदार्थ नहालिएको होल मिल्क पाउडर (डब्लुएमपी), डेरी व्हाइटनर, धुलो पाउडर दुध, नौनी, घीउ, छुर्पी, प्रशोधित भुजुरी वा धुलो नपारेको चिज, भुजुरी पारेको वा धुलो पारेको सबै प्रकारको चिज र व्हे र परिवर्तित व्हे (पनिर बनाउँदा उत्पादन हुने एक प्रकारको पानी । पानीलाई सुकाएर पाउडर तयार पारिन्छ, जसलाई व्हे भनिन्छ) को आयातमा अर्को व्यवस्था नहुञ्जेलसम्मको लागि पूर्ण रुपमा रोक लगाएको हो ।

केन्द्रीय दुग्ध सहकारी संघले केही दिन अघि गरेको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार नेपालमा उत्पादन भएको दुधमध्ये दैनिक ५ देखि ६ लाख लिटर दुध बिक्री हुन सकेको छैन ।

नेपालमा हाल ६५ देखि ७० लाख लिटर दुध उत्पादन हुने गरेको तथ्याङ्क छ । यो क्षेत्रमा करिब ३० लाख घरपरिवार प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संलग्न छन् । तर, उत्पादित दुध बिक्री नहुँदा र बिक्री भएको दुधको भुक्तानीसमेत महिनौंसम्म नपाउँदा किसानहरुले हालै सडकमा दुध पोखेर विरोध जनाएका छन् ।


राजेश बर्मा