ढुसी लागेको मख्खन पगालेर घिउ बेच्दै डीडीसी, सड्दैछ थप ५० टन बटर

5.5k
Shares

काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले बिग्रेको बटर (मख्खन) पगालेर तयार गरिएको कमसल गुणस्तरहीन घिउ बजारमा बिक्री गर्दै आएको पाइएको छ ।

उचित समयमा बिक्री नहुँदा म्याद नाघेको र उचित तापक्रम व्यवस्थापन नगरिएका कारण बिग्रिएको बटरबाट घिउ तयार पारेर डीडीसीले बजारमा बिक्री गर्दै आएको हो । यो घिउ बालाजु आयोजनाले तयार पारी बजारीकरण गर्दै आएको छ ।

डीडीसी स्रोतका अनुसार म्याद नाघेर सडिसकेको बटरबाट ५० प्रतिशत र नयाँ उत्पादन भएको बटरबाट ५० प्रतिशत मात्रा सम्मिश्रण गरी पगालेर घिउ बनाएर बजारमा बिक्री भइरहेको छ ।

एकातिर बजारमा बिक्री घट्दै गएर बटरले बजार नपाएको र अर्कोतर्फ किसानलाई ठूलो रकम भुक्तानी गर्नुपर्ने चर्को दबाब भएकाले कमशल र असल बटर समिश्रण गरेर भएपनि त्यस्ता बटर व्यवस्थापन गरिएको स्रोतको दाबी छ ।

नियमनकारी निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग​, काठमाडौं महानगरपालिकाका साथै संसदीय उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले समेत वेलामौकामा उत्पादनको गुणस्तर तथा तापक्रम मेन्टन प्रणालीको विषयमा अनुगमन नगरेका कारण सरकारी स्वामित्वकै संस्थानले गुणस्तरहीन खाद्य पदार्थ बजारमा निर्धक्क साथ बिक्री गर्दै आएको व्यवस्थापन समितिका ती अधिकारीले जानकारी दिए ।

आवश्यकता भन्दा बढी उत्पादन भएको बटर समयमा बिक्री हुन नसक्दा म्याद नाघेको अवस्थामा पुगेको हो । गत असोजदेखि पुससम्ममा गरी ३ करोड ६० लाख रुपैयाँ बराबरको ४५ मेट्रिक टन बटरको म्याद सकेको थियो ।

म्याद सकेको यस्तो बटरबाट गुणस्तरहीन घिउ तयार पारेर डीडीसीले चाडबाड र विवाह ब्रतबन्धको मौकामा बिक्री गर्नुका साथै हाल पनि बिक्री गर्दै आएको छ ।

डीडीसीले बजारमा बटर प्रतिकिलो ८०० रुपैयाँ र यो बटरलाई पगालेर तयार पारिएको घिउ प्रतिलिटर ११०० रुपैयाँको दरले बिक्री हुँदै आएको छ ।

डीडीसी स्रोतले भन्यो, ‘४५ मेट्रिक टन बटरको म्याद गत पुसमा सकिएको थियो, स्वदेशमा पनि बजार पाउन सकेन, निर्यातको लागि सरकारले पनि कुनै व्यवस्था नगर्दा बटरको म्याद सकेर सडेको हो ।’

डीडीसीको बालाजु आयोजना प्रमुख इन्द्रभुषण यादवले भने म्याद नाघेको बटर पगालेर उत्पादित घिउ बजारमा नपठाएको दाबी गरे ।

‘म्याद नै नाघिसकेको भने छैन, म्याद सकिनै लागेको बटरलाई पगालेर तयार पारिएको घिउ उपत्यकाको विभिन्न ठूला डिपार्टमेन्ट स्टोरबाट बिक्री वितरण भइरहेको छ,’ यादवले भने, ‘ढुसी लागेर सडेको बटरबाट घिउ बनाएर बजारमा पठाएका होइनौं ।’

पुरानो उत्पादन बजार नपाएर सड्ने क्रममा पुगेको छ भने दैनिक रुपमा उत्पादन भएको मखन र धुलो दुधको स्टक पनि अर्कोतर्फ थपिँदै गएको छ । लामो समयदेखि तयार पारिएको बटर र धुलो दुधमा उत्पादन मिति र उपभोग्य मितिसमेत उल्लेख नगरी मापदण्डविपरित तापक्रममा कोल्ड स्टोरमा भण्डारण गरिएको छ ।

उता निजी क्षेत्रका डेरी उद्योगहरुसँग पनि २ हजार मेट्रिक टन बटर र १ हजार ५ सय मेट्रिक टनभन्दा बढी पाउडर दूध मौज्दातमा बसेको छ । निजी क्षेत्रले भने कति परिमाण बराबरमा यस्ता पदार्थको म्याद सकिन लागेको भन्ने खुलाएको छैन ।

बटरको म्याद माइनस १८ डिग्री सेल्सियसमा राख्दा उत्पादन मितिदेखि ८ महिनासम्म मात्रै उपभोग्य मिति हुन्छ । डीडीसीको बिराटनगर, हेटौंडा र बालाजुको कोल्ड रुपमा लामो समयदेखि माइनस १ देखि २ डिग्री सेल्सियस तापक्रममा मात्रै बटर स्टोरेज गरेका कारण पनि बिग्रिन थालेको हो ।

डीडीसीसँग अहिले ४९ करोड रुपैयाँबराबरको ७ लाख किलो धुलो दूध र ४८ करोड रुपैयाँबराबरको ६ लाख किलो बटर स्टक बसेको छ ।

निजी क्षेत्रको उत्पादनमा सानो त्रुटी भेटिंदा न्युनतम १० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म आर्थिक जरिवाना गराउने नियमनकारी निकायहरुले भने डीडीसी सरकारी स्वामित्वमा भएको भन्दै दर्जनौंपटक कैफियत भेटिंदा पनि कारवाही गरेको छैन ।

खाद्य तथा पेयजन्य पदार्थको गुणस्तरको नियमन गर्ने अधिकार सरकारले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई दिएको छ । यो विभाग र डीडीसी कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत पर्छन ।

ढुसी लागेर सड्दै गरेको बिषय सार्वजनिक कार्यक्रममै उठान

समयमा बिक्री नहुँदा र उचित तापक्रम मेन्टेन नगरिएका कारण उक्त बटर ढुसी लागेर सड्न लागेको बिषय डीडीसीको आन्तरिक कार्यक्रममा पनि प्रमुखताको साथ उठान भएको थियो ।

नेकपा एमालेसम्बद्ध दुग्ध विकास संस्थान कर्मचारी संगठन नेपालको गत माघ २४ गते बालाजु आयोजनामा सम्पन्न स्थापना दिवसमा सहभागी भएका नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) सम्बद्ध संगठनका कर्मचारी नेताहरुले ढुसी लागेर बटर सड्न लागेको भन्दै सार्वजनिक रुपमै मन्तव्यमार्फत व्यवस्थापनको ध्यानाकर्षण गराएका थिए ।

ति कर्मचारी नेताहरुले त्यस्तो बटरको तत्कालै उचित व्यवस्थापन गर्नुपर्ने आग्रह गरेका थिए ।

यसअघि पनि गुणस्तरहिन बटर पगालेर तयारी घिउको बजारिकरण
डीडीसीले यसअघि पनि म्याद नाघेको बटरबाट घिउ पगालेर बजारमा बिक्री गरेको थियो ।

२०७७ असोज अन्तिम साता खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले म्याद नाघेर ९६ हजार ३ सय किलो बटर रोक्का गरेको थियो ।

विभागले उक्त बटर तत्काल प्रयोग गर्न र बिक्री वितरण नगर्न भनेर डीडीसीको बालाजु आयोजनालाई निर्देशन समेत दिएको थियो ।

त्यसको केही समयपछि उक्त बटर खोज्दा फेला पार्न सकिएको थिएन । रोक्का राखिएको परिमाणमध्येबाट ९ टन डीडीसीले लुकाएर राखेको थियो भने बाँकी ८७.३ मेट्रिक टन बटरलाई पगालेर गुणस्तरहीन घिउ बनाएर बजारमा बिक्री गरेको थियो ।

यो विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा हालसम्म मुद्दा विचाराधीन छ ।

तत्कालिन समयमा डीडीसीले उपभोक्तालाई प्रतिकिलोमा ५० रुपैयाँ छुट र विक्रेतालाई ५ रुपैयाँ आकर्षक कमिसन उपलब्ध गराएर म्याद नाघेको बटरबाट तयार पारिएको घिउ बजारमा बिक्री गरेको थियो ।

२०७७ असोज २६ गते काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण विभागले डीडीसीको बालाजुस्थित आयोजनामा अनुगमन गर्दा म्याद नाघेको अवस्थामा बटर फेला परेको थियो ।

महानगरपालिकाले बालाजु आयोजनामा भण्डारण गरी राखिएको १ लाख ९४ हजार ९७५ किलो बटरको उत्पादन मितिमा प्रश्न चिन्ह उठाएको थियो ।

अनुगमनको क्रममा केही बटरको कार्टुनमा उत्पादन मिति उल्लेख थियो भने अधिकांश कार्टुनमा उत्पादन मिति र उपभोग्य मिति उल्लेख गरिएको थिएन ।

थप ४ करोड रुपैयाँको मख्खनमा ढुसी लाग्यो
यसैबीच डीडीसीको दुई आयोजनाको गरी ५० मेट्रिक टन बटरमा ढुसी लागेर सडेको छ । कर्मचारीको चरम लापरवाहीका कारण ४ करोड रुपैयाँबराबरको बटर सडेको हो ।

स्रोतका अनुसार बिराटनगर आयोजनामा २ करोड ४० लाख रुपैयाँबराबरको ३० मेट्रिक टन र हेटौंडा आयोजनामा १ करोड ६० लाख रुपैयाँबराबरको २० मेट्रिक टन बटर ढुसी लागेर सडेको छ ।

बटरलाई कोल्डस्टोरमा माइनस १८ डिग्री सेल्सियसको तापक्रममा नियमित रुपमा भण्डारण गरी राख्नुपर्ने मापदण्ड छ । तर बिराटनगर र हेटौंडामा माइनस १ डिग्री सेल्सियसको तापक्रम ‘मेन्टेन’ नगरेका कारण नयाँ उत्पादन भएको बटर बिग्रिएको डीडीसी स्रोतले जनाएको छ ।

बिराटनगर आयोजना प्रमुख हिरबहादुर थापाले बटरमा ढुसी नलागेको दाबी गरे ।

उनले भने,‘हामीले कोल्डस्टोरमा तापक्रम मेन्टेन गरेर राखेका कारण कुनै पनि बटरमा ढुसी लागेर सड्ने अवस्थामा पुगेको छैन ।’

थन्काइयो नयाँ प्लान्ट
नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले केहि महिनाअघि ७ करोड रुपैयाँबराबरको विभिन्न उपकरण बिराटनगर आयोजनालाई अनुदानमा उपलब्ध गराएको थियो । तर ति सबै उपकरण अहिले विग्रिएको अवस्थामा पुगेका छन् ।

उक्त आयोजनाले बिराटनगर आयोजनाको प्रतिघण्टा उत्पादन क्षमता ५ हजारलाई वृद्धि गरी १० हजार क्षमताको बनाउन भुस व्वाइलर, १० हजार लिटरको पास्चराइजर प्लान्ट, क्रिम सेपरेटर र होमोनिनाइजर उपलब्ध गराएको थियो ।

यस्ता उपकरण र प्लान्ट विग्रिएपनि मर्मत सम्भार गरेर सञ्चालनमा नल्याइएको त्यहाँका एक अधिकारीले जानकारी दिए ।