महासंघको विशेष साधारणासभा मंसिर २५ गते, होला त विधान संशोधन ?
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विशेष साधारणसभा बोलाएको छ । महासंघले विधान संशोधन गर्ने प्रस्तावसहित मंसिर २५ गते साधारणसभा डाकेको हो ।
२०८१ असार २४ गते बसेको नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति बैठकले विधान संशोधनको प्रस्ताव विशेष साधारणसभामा लैजाने निर्णय गरेको थियो । सोहीअनुसार मंसिर २५ गतेका लागि विशेष साधारणसभा बोलाइएको हो ।
कार्यसमितिको निर्णयअनुसार अहिलेका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ पछिका एक वरिठ उपाध्यक्ष स्वतः अध्यक्ष बनेपछि अध्यक्षको प्रत्यक्ष निर्वाचन हुने गरी विधान संशोधन हुनेछ ।
महासंघमा वर्षौंदेखि गिजोलिएको विधान संशोधनको एजेण्डा बल्ला अघि सरेको हो ।
कार्यसमितिबाट सर्वसम्मतीमै अघि सरेकोबारे अध्यक्ष चन्द्र ढकालले भनेका थिए, ‘हामीले दफावार छलफल गरेर सबै साथीहरुको सहमतिमा विधान संशोधनको ठोस प्रस्तावसहितको एजेण्डा विशेष साधारणसभामा लैजाने निर्णय गरेका छौं । कार्यसमितमा सर्वसहमति भएकाले साधारणसभाबाट पारित हुनेमा हामी विश्वस्त छौं ।’
२०७३ सालमा महासंघले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने गरि विधान संशोधन गरेको थियो । त्यही विधानअनुसार तत्कालीन वरिष्ठ उपाध्यक्ष भवानी राणा अध्यक्ष बनेकी थिइन् । त्यसयता विधान संशोधन हरेक अध्यक्षको एजेन्डा बन्दै आएको छ ।