माग पूरा नभए आन्दोलन थप सशक्त पार्ने कक्रोच जनता पार्टीको चेतावनी

0
Shares

एजेन्सी । कक्रोच जनता पार्टी (सीजेपी) का प्रवक्ता आशुतोष रंकाले बुधबार सरकारले प्रदर्शनकारीका मागहरू सम्बोधन नगरे आन्दोलन थप सशक्त पार्ने चेतावनी दिएका छन् ।

एएनआईसँग कुरा गर्दै रंकाले सरकार सहमत भएन भने लाखौं मानिसहरू दिल्ली आउने र यसपटक आफूहरू पछाडि नहट्ने र शान्त नबस्ने बताएका छन् ।

मंगलबार कांग्रेस नेताहरू राहुल गान्धी, प्रियंका गान्धी र अन्यलाई हिरासतमा लिएको विरोधमा देशभर प्रदर्शनहरू सुरु भएका छन् । असम, केरला, पश्चिम बंगाल, जम्मु र कश्मीर, महाराष्ट्र, कर्नाटक, हरियाणा, झारखण्ड र अन्य राज्यहरूमा कांग्रेस नेता र युवाहरूले विरोध प्रदर्शन गरेका थिए ।

यसअघि मंगलबार राहुल गान्धी वायनाडकी सांसद प्रियंका गान्धी वाड्रा, दुई मुख्यमन्त्री र पार्टी नेताहरूसहित प्रधानमन्त्रीको ७, लोक कल्याण मार्गस्थित निवासमा कक्रोच जनता पार्टीको सोमबारको मार्चमा दिल्ली प्रहरीले गरेको कारबाहीको विरोध गर्न पुगेका थिए । समाजवादी पार्टीका नेता अखिलेश यादव पनि उक्त विरोध प्रदर्शनमा सहभागी भएका थिए ।

तीन घण्टापछि विपक्षी नेताहरूलाई त्यहाँबाट जबर्जस्ती हटाइयो र साँझमा गान्धी तथा अन्य नेताहरूलाई हिरासतमा लिइयो । उनीहरूलाई केही घण्टापछि रिहा गरिएको थियो । अन्य केही सांसद र नेताहरूलाई किंग्सवे क्याम्प प्रहरी चौकी लगिएको थियो र पछि रिहा गरियो ।

मंगलबार साँझ दुई केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहले मेदान्त अस्पतालमा अनशनरत अभियन्ता सोनम वाङचुकलाई भेटेका छन् । सरकारी स्रोतले द इन्डियन एक्सप्रेसलाई दिएको जानकारी अनुसार, वाङचुकसँगको यो भेट जितेन्द्र सिंहले प्रधानमन्त्री निवास बाहिर विरोध प्रदर्शन गरिरहेका राहुल गान्धीलाई भेटेको केही समयपछि भएको हो ।

वरिष्ठ सरकारी अधिकारीहरूले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग राजनीतिक भएको र यसमा झुक्ने कुनै सम्भावना नरहेको संकेत गरेका छन् । उनीहरूले नीट प्रश्नपत्र चुहावटका पछाडि रहेका कमजोरीहरू सुधार गरिएको र नीट, सीयूईटी र जेईई मेन अन्तर्गतका भर्ना प्रक्रियाहरू धेरै हदसम्म ट्य्राकमा रहेको बताएका छन् ।

सरकार यस विषयमा संसदमा बहस गर्न तयार रहेको उनीहरूको भनाइ छ । द इन्डियन एक्सप्रेससँग कुरा गर्दै वरिष्ठ सरकारी अधिकारीहरूले केन्द्र सरकारसँग प्रधानको राजीनामा स्वीकार गर्ने कुनै मनसाय नरहेको बताएका छन् ।

उनीहरूका अनुसार, सरकारले कमजोरीहरूलाई अस्वीकार गरेको छैन र जिम्मेवारीबाट उम्किने प्रयास पनि गरेको छैन ।
समाजवादी पार्टीका कार्यकर्ताहरूले मंगलबार साँझ केन्द्र सरकारविरुद्ध प्रदर्शन गर्दै नयाँ दिल्लीमा विद्यार्थीहरूमाथि प्रहरीले गरेको भनिएको लाठीचार्ज र पार्टी अध्यक्ष अखिलेश यादवलाई हिरासतमा लिएको घटनाको निन्दा गरेका छन् । समाजवादी पार्टीका विधायक माता प्रसाद पाण्डेले भाजपा सरकारले लोकतन्त्रमा विश्वास नगरेको आरोप लगाएका छन् ।

उनले एएनआईसँग भने, ‘यो एउटा लोकतान्त्रिक प्रक्रिया हो जसमा हामीलाई धर्ना बस्ने र विरोध गर्ने अधिकार छ । यसमा सरकारले अनावश्यक हस्तक्षेप गर्नुपर्ने आवश्यकता छैन । हामी आफ्ना कुरा राख्न सडकमा उत्रिन्छौं… यो लोकतान्त्रिक प्रक्रियाको एक हिस्सा हो । दुर्भाग्यवश, यो सरकार लोकतन्त्रमा विश्वास गर्दैन र लोकतान्त्रिक प्रक्रियाहरूलाई समाप्त गर्न चाहन्छ ।’