५ किलोमिटर कुदेपछि गगनले भने: गाडीमा ब्रेक नहुनेले सरकार र दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने

0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र प्रतिपक्ष दुवैको कार्यशैलीमा समानता रहेको भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् ।

बुधवार वीपी कोइरालाको स्मृति दिवसका अवसरमा ललितपुरमा आयोजित जलवायु जनचेतना दौड कार्यक्रममा सहभागी भएपछि आयोजित कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।

जलवायु परिवर्तनबारे सचेतना जगाउन आयोजित पाँच किलोमिटरको दौड विना कुनै विश्राम पूरा गरेपछि थापाले प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्तिको प्रसङ्ग जोडेका हुन् ।

यसअघि चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनका क्रममा प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता शाहले वर्तमान सरकारको गाडीमा ‘ब्रेक’ लगाउन आवश्यक नरहेको र यो गन्तव्यमा पुगेपछि मात्र रोकिने अभिव्यक्ति दिएका थिए । कांग्रेस सभापति थापाले सोही भनाइलाई लक्षित गर्दै प्रतिपक्षको सक्रियतालाई पनि ‘ब्रेक’ विनाको दौडसँग तुलना गरेका हुन् ।

‘म एकछिन पनि नरोकिई पाँच किलोमिटर दौडिएँ । मसँगै दौडिएका साथीहरूले ठट्टा गर्दै भने –गाडीमा ब्रेक नहुनेले सरकार चलाउने र दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने कुरा ठ्याक्कै मिलेको छ,’थापाको भनाइ छ ।