रबर स्ट्याम बन्ने डरले किशोर प्रधानको पक्षमा उभिएँ, ९ महिनामा विधान संशोधन गर्छु- शेखर गोल्छा



बिराटनगर । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानलाई गर्ने बताएका छन् ।

बिहीबार बिराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गोल्छाले आफू २ महिनापछि अध्यक्ष बन्ने बताउँदै महासंघलाई बचाउन सबै एकजुट हुनुपर्ने बताए ।

उनले आफू कुनै एक वर्गको नेता नभएको बताउँदै सबै व्यवसायीको नेता भएको बताए ।

‘एकजना पूर्वअध्यक्षले भन्नु भएछ, शेखर एक्लैले केही गर्न सक्दैन, सबै टिम त मेरै आउने हो, शेखर मेरो लाइनमा हिँडेन भने पदमुक्त गरिदिन्छु, तर म कसैको रबर स्ट्याम्ब बन्दिन,’ उनले भने ।

महासंघमा विभिन्न समस्या रहेको बताउँदै ३ वर्षसम्म विधान संशोधनमा मात्रे अल्झिएको बताए ।

‘३ वर्षसम्म विधान संशोधनमा मात्रै समय खर्च गर्यौ, निजी क्षेत्र र उद्योगीहरुको समस्या के के भइरहेको छ त्यो समस्या समाधानका लागि समय थिएन, अब त्यस्तो हुँदैन,’ उनले भने ।


उनले आफू अध्यक्ष भइसकेपछि निन्तान्त व्यवसायी र निजी क्षेत्रको पक्षमा काम गर्ने बताउँदै सचिवालय कमजोरले समस्या सिर्जना भएको आरोप समेत लगाए ।

उनले आफू अध्यक्ष भइसकेपछि ६ महिनाभित्रमा महासंघको सबै हिसाबकिताब अडिट गरेर त्यसलाई वेवसाइटमा राख्ने प्रतिवद्धना समेत जनाए । उनले कुनै पनि बेलामा संस्थामा के भइरहेको छ हेर्नका लागि हरेक दिन वेवसाइटमा अपडेट गर्ने समेत बताए ।

महासंघ कमजोर भएकाले अहिले कुनै पनि प्रोजेक्ट पनि नआएको उनको भनाइ छ ।

उनले विधान संशोधनको विषयमा बोल्दै जिल्लाले के चाहेको छ त्यो आफूलाई थाहा भएको भन्दै ९ महिनाभित्रमा सबैसँग राय सल्लाह लिएर विधान संशोधन गर्ने बचन दिए ।

साथै सरकारसँग छलफल गर्न , नियम कानून निजी क्षेत्रमैत्री बनाउनका लागि थिंक ट्यांक बनाउने र हरेक समस्यालाई थिंक ट्यांकमा बहस गरी प्रस्तुत गर्ने समेत बताए ।


क्लिकमान्डु