चण्डीराजको ‘बार्गेनिङ एरिया’ मा गोल्छा/मुरारका समूह हावी, चन्द्र बने एशोसियटका खेलाडी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको यो पटकको निर्वाचनले दुईवटा शक्तिकेन्द्रलाई फरक-फरक सन्देश दिएको छ ।

महासंघका दुई शक्तिकेन्द्रले जुन ठाउँमा आफू निकै बलियो भएको दाबी गरेका थिए । यथार्थमा त्यहाँ त्यो शक्ति नरहेको प्रष्ट सन्देश मतदाताले दिएका छन् ।

महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भए ।

तर ढकालले दाबी गरे अनुसारको भोट आएन । ढकालले ५४.२६ प्रतिशत मत पाए भने अर्का प्रत्यासी किशोर प्रधानले ४५.७४ प्रतिशत मत पाए ।

महासंघका दुईजना पूर्वअध्यक्ष चण्डीराज ढकालको जिल्ला नगर र अर्का पूर्वअध्यक्ष पशुपति मुरारका र आजदेखि अध्यक्ष बनेका शेखर गोल्छाको एशोसियटमा पकड भएको मानिन्थ्यो ।

तर, नतिजाले त्यो देखाएन ।

महासंघको निर्वाचनमा पूर्वअध्यक्ष चण्डीराज ढकाल सँधै सक्रिय हुन्छन् । मोमेन्टो गार्मेन्ट बन्द भएपछिको चण्डीराजको मूख्य पेशा र व्यवसाय नै महासंघको राजनीति भएको उनीइत्तरको बुझाइ छ ।

यतिसम्म कि चण्डीराजलाई ३६५ दिन नै महासंघको चुनाव लाग्ने गरेको आरोपसमेत लगाइन्छ ।

यद्यपी ढकाल भने आफू महासंघलाई समय दिने गरेको हुँदा जिल्ला नगरका साथीहरुको मायाँ पाउने गरेको बताउँछन् ।

चुनावी प्यानलभन्दा माथि उठेर शेखर गोल्छा र चन्द्र ढकालले महासंघको साझा प्यानल बनाएर अघि बढ्नुपर्छ ।

जिल्ला नगरतर्फ बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल प्रत्यासी किशोर प्रधानभन्दा पछाडि परे । महासंघको जिल्ला नगर, एशोसियट र वस्तुगत आधारमा हुने निर्वाचन प्रणालीमा जिल्ला नगरमा पछाडि परेपनि चन्द्रले बरिष्ठ उपाध्यक्षको निर्वाचन जितेका छन् ।

चण्डीराज ढकालले दाबी गरे भन्दा ठीक विपरित जिल्ला नगरतर्फ उपाध्यक्ष र बहुमत कार्यकारिणी सदस्य प्रधान समुहले जित्यो । प्रधान समुहका दिनेश श्रेष्ठले चन्द्र ढकाल समुहका गुणनिधि तिवारीलाई पराजित गरे ।

गोल्छा-चौधरी इगोको लडाइँ र महासंघ फुटाउने त्यो चुनाव…

चन्द्र ढकालको जिल्ला नगरमा प्रधानको भन्दा कम भोट आउनु र उपाध्यक्षका प्रत्यासीले निर्वाचन हार्नु र सदस्यसमेत प्रधान समुहको बहुमत आउनुले चण्डीराज ढकालले जिल्ला नगरलाई देखाएर गर्ने गरेको बार्गेनिङ निकै कमजोर भएको देखिएको छ ।

निर्वाचित कार्यसमिति हेर्दा चण्डीराज ढकाल अध्यक्षपछिको विशिष्ट सदस्य हुने सम्भावना यो पटक छैन भन्दा हुन्छ । जिल्ला नगरमा नै आफ्नो पकड भएको चण्डीले दाबी गरेपनि साढे ३ वर्ष अगाडि चण्डीले नै समर्थन गरेका दिनेश श्रेष्ठले जिल्ला नगरको उपाध्यक्ष हारेका थिए ।

यो पटक चण्डीको पक्षमा नभएर अर्को पक्षबाट जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले जितेको र कार्यकारिणी समितिसमेत बहुमत आएको हुँदा चण्डीराज ढकालले जिल्ला नगरलाई देखाएर गर्ने बार्गेनिङ अब महासंघमा नचल्ने देखिएको छ ।

जिल्ला नगरमा चण्डीराजको राम्रो पकड भएको देखेर चुनाव जित्ने उद्देश्यले गोल्छा/मुरारका समूह छाडेका चन्द्र ढकाल झन्डै चिप्लिए । चण्डीको भर परेर आफूले हदैसम्मको मिहेनत नगरेका भए चन्द्रले यो चुनाव हार्ने निश्चत रहेछ भन्ने प्रष्ट देखियो ।

चन्द्रलाई पनि मतदाताले के सन्देश दिएका छन् भने ‘अब तिमीले चण्डीलाई छोड्नैपर्छ ।’

चण्डीबाट जिल्ला नगरमा ठूलो सहयोग हुने र आफूहरुले एशोसियट र वस्तुगतबाट राम्रो मत पाउने दाबी गर्दै चन्द्र ढकाल समूहले ६५ प्रतिशतभन्दा बढी मत ल्याएर चुनाव जित्ने दाबी गरेको थियो । जुन सरासर गलत देखियो ।

यो पटक महासंघको निर्वाचनमा अर्को अप्रत्यासित नतिजा एशोसियटमा आयो । एशोसियटमा प्रधान समुहका सौरभ ज्योतिलाई निकै नै बलियो उम्मेद्वार मानिएको थियो ।

एशोसियटतर्फ उपाध्यक्षमा ढकाल समुहका रामचन्द्र संघईले निर्वाचन जिते । १९ जना कार्यकारिणी सदस्यमा १० जना प्रधान समुहबाट आए भने ९ जना ढकाल समुहबाट ।

एशोसियटतर्फ प्रधान समुहको पराजयलाई हेर्ने भने एशोसियटमा शक्तिशाली भनिएका गोल्छा/मुरारका समूह कमजोर भएको देखियो ।

प्रधान समुहको सबैभन्दा बलियो मानिएको एशोसियटको उपाध्यक्षमा उल्टै ठूलो मतान्तरले निर्वाचन हार्नु र बरिष्ठमा कम मत आउनुले गोल्छा/मुरारकाले भने अनुसार एशोसियटका मतदाता नचलेको देखियो ।

पछिल्लो ३ कार्यकाल महासंघमा एशोसियटतर्फ मुरारका नै हाबी थिए । मुरारका सुरज वैद्य अध्यक्ष हुँदा एशोसियटतर्फ उपाध्यक्ष जितेका थिए ।

स्वत अध्यक्ष बन्ने निश्चित भएका गोल्छा तटस्थ बस्नुपर्नेमा किशोर प्रधानको प्यानललाई आफ्नो प्यानल भन्दै खुलेरै भोट माग्दै हिँडे । मतदाताहरुले तटस्थ बस्नुपर्ने अध्यक्षजस्तो व्यक्तिले गुटबन्दी गरेको रुचाएनन् । र, शेखरले नचाहँदा नचाहँदै पनि पदाधिकारीमा चन्द्र र रामचन्द्र आए ।

त्यसपछि भएको निर्वाचनमा प्रदिपजंग पाण्डे अध्यक्षमा निर्वाचित हुँदा भाष्करराज राजकर्णिकार समूहले एशोसियटमा ‘क्लिनस्विप’ नै गरेको थियो । त्यो बेला भाष्कर समुहबाट एशोसियट उपाध्यक्ष शेखर गोल्छाले निर्वाचन जितेका थिए ।

साढे ३ वर्षअघिको निर्वाचनमा चन्द्र ढकाल एशोसियट उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए । त्यो बेला ढकाल मुरारकाको समुहमा नै थिए । किशोर प्रधानले एशोसियटमा उपाध्यक्षको उम्मेद्वार नै पाएनन् भने सदस्य लड्ने ३ जनाभन्दा बढी थिएनन् ।

चन्द्र ढकालले एशोसियटमा पाएको मत र उनका उम्मेद्वार संघईले एशोसियट उपाध्यक्ष जितेको हुँदा एशोसियटमा चन्द्र ढकालको प्रभाव मुरारकाको भन्दा बढी देखियो ।

वस्तुगतमा प्रधान समूहका अन्जन श्रेष्ठ करिब दुईतिहाई मतसहित निर्वाचित भए । १४ जना कार्यकारिणी सदस्यमा ७ जना प्रधान समुहको आयो भने ७ जना ढकाल समूहको आयो । जहाँ कडा टक्कर हुने आँकलन गरिएको थियो ।

कसलाई कस्तो सन्देश ?

महासंघको निर्वाचनले यो पटक बरिष्ठ र आफ्नो प्रभाव देखाउने चाहना भएका व्यवसायीलाई मतदाता कसैको बसमा नहुने सन्देश हो । अर्थात् जिल्ला नगर मेरो भन्ने चण्डीराज ढकाल त्यहीँ कमजोर बने भने एशोसियटमा गोल्छा/मुरारकाको प्रभाव रहेन ।

महासंघको विधानअनुसार आइतबारदेखि शेखर गोल्छा स्वत अध्यक्ष बनेका छन् । किशोर प्रधान र सौरभ ज्योति जिताउन हिँडेका शेखरलाई मतदाताले चन्द्र र संघईलाई साथै लिएर हिँड्ने सन्देश दिएका छन् ।

पदाधिकारीसहित कार्यकारिणी समितिमा गोल्छाले सहयोग गरेको प्यानलको बहुमत छ ।

यो निर्वाचनले अहिलेसम्म महासंघमा राज गरेका चण्डीराजलाई सबैभन्दा कमजोर बनाएको छ । महासंघको राजनीतिक समीकरणमा एशोसियटमा चन्द्र शक्तिशाली खेलाडीकारुपमा उदाएका छन् ।

गोल्छालाई अध्यक्ष भएको ६ महिनामा हटाउने भनेका चण्डीराज जिल्ला नगरमा नै कमजोर बनेपछि उनले चाहे अनुसारको कार्यकारिणी समिति नै आएन । चन्द्रले चण्डीको बलमा नभएर आफ्नो व्यक्तिगत सम्बन्ध र बलमा चुनाव जितेका हुन् ।

चण्डीको आधार क्षेत्र मानिने जिल्लानगरमा केन्द्रित भएर गोल्छा/मुरारका समूह हावी त भए । तर, उनीहरुको आधारक्षेत्र मानिएको एशोसियटमा चन्द्र हावी भइदिए ।

यो निर्वाचनले अहिलेसम्म महासंघमा राज गरेका चण्डीराजलाई सबैभन्दा कमजोर बनाएको छ । महासंघको राजनीतिक समीकरणमा एशोसियटमा चन्द्र शक्तिशाली खेलाडीकारुपमा उदाएका छन् ।

गोल्छाले २ वर्ष ४ महिनाको अध्यक्षको कार्यकाल चलाउनको लागि सुविधाजनक बहुमत पाएका छन् । चुनावअघि अर्को प्यानल भएपनि ढकाल र संघईसँग सहकार्य गरेर अघि बढ्नुपर्छ ।

चन्द्रलाई पनि मतदाताले के सन्देश दिएका छन् भने ‘अब तिमीले चण्डीलाई छोड्नैपर्छ ।’ किनभने पछिल्लो समय चन्द्र ढकालले सार्वजनिकरुपमै आफ्नो प्यानलको बहुमत आउने र शेखर गोल्छालाई काम गर्न अफ्ठ्यारो हुने चेतावनी दिँदै आएका थिए । जसलाई मतदाताले अस्वीकार गरिदिए ।

र, अर्कोतिर स्वत अध्यक्ष बन्ने निश्चित भएका गोल्छा तटस्थ बस्नुपर्नेमा किशोर प्रधानको प्यानललाई आफ्नो प्यानल भन्दै खुलेरै भोट माग्दै हिँडे । मतदाताहरुले तटस्थ बस्नुपर्ने अध्यक्षजस्तो व्यक्तिले गुटबन्दी गरेको रुचाएनन् । र, शेखरले नचाहँदा नचाहँदै पनि पदाधिकारीमा चन्द्र र रामचन्द्र आए ।

चन्द्रले चाहेर पनि शेखरले नचाहँदासम्म यो कार्यकालमा चण्डी महासंघको विशिष्ट सदस्यमा आउन सक्ने आधार र संभावना छैन । गोल्छासँग मिलेर अघि बढ्नुको विकल्प छैन ।

अब चण्डीराजसँगै सति जाने कि नजाने भनेर चन्द्रले चाँडै निर्णय लिनुपर्ने हुन्छ । अहिलेसम्म बोकेको ब्यागेज बिसाउनुपर्ने देखिन्छ ।

त्यसैले चुनावी प्यानलभन्दा माथि उठेर शेखर गोल्छा र चन्द्र ढकालले महासंघको साझा प्यानल बनाएर अघि बढ्नुपर्छ । होइन भने व्यक्तिगतरुपमा कसैलाई धेरै नाफाघाटा होला ।

तर संस्थागतरुपमा महासंघलाई घाटाबाहेक केही पनि हुँदैन ।

नीतिगत विषयमा भन्दा चरम गुटबन्दी र निर्वाचनको जोडघटाउका कारण चर्चामा आइरहने महासंघलाई अब आर्थिक एजेण्डामा केन्द्रित बहस र एजेण्डामा हिडाउँदै निजी क्षेत्रको लबिङलाई बलियो बनाउनुको विकल्प छैन ।

महासंघमा मिक्स र एक्सिलेन्ट टिम आएको छ । यो टिम गुटबन्दीभन्दा माथि उठ्न सकेन भने भावी दिनमा महासंघ थप कमजोर बन्ने निश्चित छ ।


पुष्प दुलाल