गोल्छा-चौधरी इगोको लडाइँ र महासंघ फुटाउने त्यो चुनाव…



काठमाडौं । २०५० सालको महासंघको निर्वाचनमा अध्यक्षका प्रत्यासी थिए विनोद चौधरी र हुलासचन्द गोल्छा ।

निर्वाचनको सिलसिलामा दुबै उम्मेदवारहरु व्यापक प्रचारप्रसारका लागि देश दौडाहमा थिए ।

गोल्छासँग उनका छोरा तथा अहिलेका महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा चुनावी अभियानमा सँगै थिए । लन्डनबाट उच्च शिक्षा पूरा गरी भर्खरै फर्किएका युवा शेखरलाई हुलासचन्दले चुनावी अभियानमा साथमै राखेका थिए ।

महासंघको विधानका मस्यौदाकार र स्थापनाकालदेखि संस्थामा आवद्ध थिए हुलासचन्द ।

हुलासचन्द आफू चुनाव जित्नेमा ढुक्क थिए । चुनावी रस्साकस्सीकै एक साँझ परिवार सबैलाई जम्मा गरेर अध्यक्षकारुपमा आफूले गर्न खोजेका कामको बारेमा समेत जानकारी गराइसकेका थिए ।

चुनावी अभियानका क्रममा उनीहरु हेटौँडामा पुगेका थिए । प्रचार सकेर हेटौँडाको होटल बास बसेका थिए । मध्यरातमा हुलासचन्द बिरामी भए ।

रातको समयमा हेलिकप्टरबाट काठमाडौं ल्याउन सक्ने अवस्था थिएन ।

भोलिपल्ट बिहानमात्रै हुलासचन्दलाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याइयो । र, थप उपचारका लागि अमेरिका लगियो ।

चुनावी रस्साकस्सीमा रहेका बेलामा शारीरिकरुपमा अस्वस्थ भएपछि गोल्छाले उम्मेदवारी छाड्ने निर्णय गरे ।

तर, यो कुरालाई प्रतिद्वन्द्वी विनोद चौधरीले चुनावी हतियार बनाए । उनले ‘हुलासबाबुले हार मान्नु भयो’ भन्दै प्रचारप्रसार गरे । प्रतिद्वन्द्वीले मैदान छाडेपछि चौधरी निर्विरोध निर्वाचित भए ।

स्वास्थ्यमा गंभीर समस्या भएर उपचारका लागि अमेरिका पुगेका गोल्छालाई ‘हुलासबाबुले हार मान्नु भयो’ भन्ने चौधरीको अभिव्यक्तिले नराम्रोसँग घोच्यो । यसलाई गोल्छा परिवारले अपमान गरेको भन्दै इगोका रुपमा लियो । त्यसपछि शुरु भयो एकले अर्कालाई जसरी भएपनि सिध्याउने खेल ।

पहिलो कार्यकाल पूरा भएपछि पनि चौधरीले फेरि महासंघ अध्यक्ष बन्ने इच्छा देखाउँदै चुनावी मैदानमा उत्रिए ।

चौधरीसँग भिँड्न ज्योति ग्रुपका पद्य ज्योतिले उम्मेदवारी दिए । यो चुनावलाई गोल्छा अर्गनाइजेशनले चौधरीसँगको इगो साँध्ने निधो गर्यो । र, ज्योतिलाई गोल्छा परिवारले सबैप्रकारको अस्त्र प्रयोग गर्यो ।

त्यसबेलासम्म महासंघ एकतावद्ध थियो । उद्योगी/व्यवसायीहरु मिलेरै चुनाब लड्थे । एकअर्कामा बैरभाव राख्दैन थिए । चुनावमा होमिए पनि एकअर्कालाई आरोपरप्रत्यारोप लगाइँदैन थियो । जसकारण तुस र इगो रहने कुरै भएन ।

तर जब ०५२ सालमा दोस्रो कार्यकालका लागि विनोद चौधरी अध्यक्षमा उठे । अनि शुरु भयो पवित्र महासंघभित्र गुट-उपगुट, राजनीतिक हस्तक्षेप, पैसाको चलखेल, जातिवादी राजनीति र साम-दाम-दण्ड-भेद ।

०५२ सालमा भएको विनोद चौधरी र पदम ज्योतिको चुनावी इगोले व्यवसायीहरुबीच फुट नै ल्याइदियो । निर्वाचनको हारको तुस यहाँसम्म आइपुग्यो कि महासंघलाई टक्कर दिने उद्देश्यले चौधरीले ०५९ सालमा समानान्तर संस्था नेपाल उद्योग परिसंघ स्थापना गरे ।

त्यसपछि व्यवसायीहरुबीच संस्थागतरुपमै ध्रुविकरण शुरु भयो । कतिपय अवस्थामा एकले अर्काको अस्तित्व नै स्वीकार गरेनन् । जसले नेपालको निजी क्षेत्रको आन्दोलनलाई अघि बढायो वा पछि धकेल्यो ? त्यो त समयले पुष्टि गर्छ नै ।

रोचक कुरा त के छ भने चौधरी र ज्योतिबीचको त्यो चुनाब महासंघका हालसम्मका सबैभन्दा चर्चित चुनाव हो ।

त्यसअघि महासंघको चुनावलाई मिडियाले पनि खासै स्थान दिँदैन थिए । राजनीतिक दल र नेताहरुले पनि खासै वास्ता गर्दैन थिए ।

तर, त्यो चुनाव भने फरक भइदियो । अखबारका पहिलो पृष्ठमै दैनिक महासंघमा भइरहेको राजनीतिको कभरेज हुन्थ्यो ।

यसरी घुसाइयो राजनीति

कुटनीतिक नियोगबाट पनि महासंघको को आउला भन्ने चासो राखिन्थ्यो । र राजनीतिक दलले आफ्नो आधिकारिकरुपमै आफ्नो उम्मेद्वारी घोषणा गरेर जिल्ला उद्योग वाणिज्य संघका प्रतिनिधिहरुलाई यो उम्मेद्वारलाई भोट हाल्नु भनेर ‘ह्वीप’ समेत जारी गरे ।

एमालेले संस्थागत निर्णय नै गरेर पदम ज्योतिलाई सहयोग गर्यो भने कांग्रेसमा भने विभाजन थियो । तर, त्यसबेलाका प्रभावशाली नेता अर्जुननरसिंह केसीले चौधरीलाई खुलेर भोट मागे ।

अहिले पनि उम्मेद्वारहरु राजनीतिक दलका नेता गुहार्न पुगेका खबरहरु आइरहन्छन् । महासंघका निवर्तमान कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले फलानो उम्मेद्धारलाई भोट नहाले ठीक हुँदैन भनेर पूर्वमन्त्रीले धम्क्याएको कुरा क्लिकमाण्डूमार्फत् खुलासा गरेका छन् ।

जातीय ध्रुविकरण

जातीय ध्रविकरण महासंघको अर्को रोग हो । यो रोग पनि त्यहीबेला शुरु भएको थियो, जुन चुनावबमा माडवारी समुदायका विनोद चौधरी र नेवार समुदायका पदम ज्योति प्रतिस्पर्धी बने ।

अहिले पनि व्यापारिक वृत्तमा सबैभन्दा बढी नेवार र दोस्रो संख्यामा माडवारी समुदाय हाबी छन् । बाहुन÷क्षेत्री त निकै कम छन् ।

नेवार समुदाय र माडवारी समुदायले महासंघको नेतृत्व व्यवसायिक हकहितका लागि भन्दा पनि आफ्नो समुदायको प्रतिष्ठासँग जोडेरसमेत हेर्न थाले । जुन अहिले पनि कहीलेकाहीँ टड्कारै देख्न सकिन्छ ।

यसरी भयो ध्रुविकरण

चौधरीले दोस्रो कार्यकालका लागि उम्मेद्वारी पछि महासंघको इतिहासमै पहिलोपटक ‘एक अध्यक्ष, एक कार्यकाल’को नारा लाग्यो ।

पहिलो कार्यकालमा पदम ज्योतिलाई अर्को कार्यकालका लागि अध्यक्षमा सहयोग गर्ने बाचा गरेका थिए चौधरीले । तर, त्यो बाचा विर्सिए अनि आफैं उम्मेद्वार बन्न कस्सिए ।

पहिलो कार्यकालमा चौधरीलाई खुलेर सहयोग गरेका व्यवसायीहरुले दोस्रो कार्यकालमा भने ज्योतिलाई साथ दिए ।

कस्तो हुन्छ पराजयको पीडा ?

त्यो साधारणसभा थापाथलीस्थित ब्लुस्टार होटलमा भएको थियो । ज्योतिको चुनावी कार्यालय ब्लुस्टारमै थियो भने चौधरीको कार्यालय ब्लुस्टारसँगै जोडिएको सीता होटलमा थियो ।

आफूले चुनाब जित्छु भन्दै चौधरी निर्वाचनको भोलिपल्ट बिहानै पदबहाली गर्नुपर्छ भनेर ब्लुस्टार होटलतिर लागे । ब्लुस्टार होटलको गेटमा उनलाई साथीहरुले रोकेर एकछिन भित्र नजानुहोस् भने । त्यसबेला मात्रै चौधरीले थाहा पाए कि चुनावी परिणाम मेरो पक्षमा रहेनछ भन्ने कुरा । महासंघको विधानअनुसार अध्यक्षले निर्वाचित अध्यक्षलाई टिका लगाएर स्वागत गर्नुपर्ने व्यवस्था थियो ।

‘आफ्नो कोटबाट आफ्नै हातले संगठनको पिन झिकेर नयाँ अध्यक्षको कोटमा सिउरिदिनुपर्ने । पराजयले पीडा दिन्छ । तर आफ्नै हातले पराजयको माला लगाउँदा झन् बढी पीडा हुँदो रहेछ,’ आत्मकथामा चौधरीले लेखेका छन् ।

पैसाको खोलो

महासंघको निर्वाचनमा पैसाको खोलो बग्छ । सामान्यतया एउटा टिमले ५/७ करोड रुपैयाँ खर्च हुन्छ । यसरी चुनावमा पैसाको खोलो बगाउने प्रवृत्ति पनि चौधरी र ज्योतिकै पालादेखि शुरु भएको हो ।

यतिसम्म कि एकजना मतदातालाई जिल्लाबाट ल्याउन समेत हेलिकप्टर पठाइएको थियो ।

‘केही पिछडिएका जिल्लाका तर्फबाट मत दिने अधिकार बोकेर आएका प्रतिनिधिको किनबेच सुरु भयो,’ चौधरीले आत्मकथामा लेखेका छन् ।

यतिधेरै पैसा कहाँ खर्च हुन्छ त ? पूर्वअध्यक्ष सुरज बैद्य भन्छन्- ‘अचेल भोट किन्ने चलन पनि छ, त्यसबाहेक तारे होटलका कार्यक्रम र दारु पाटी यस्तै यस्तै ।’

अहिलेको निर्वाचनमा बरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्र ढकाललाई पनि पैसाको खोलो बगाएको आरोप अर्का उम्मेद्वार किशोर प्रधान पक्षले लगाउँदै आएको छ ।

‘चन्द्र ढकालको बिजनेशको कच्चा पदार्थ नै पैसा हो, छोटो समयमै मनग्ये पैसा पनि कमाउनु भयो, ठूलो व्यावसायिक सफलता पनि हासिल गर्नुभयो,’ ढकालका प्रखर आलोचक रहेका महासंघका एक पूर्वअध्यक्ष भन्छन्, ‘अचेल त उहाँलाई पैसा भएपछि जे पनि गर्न सकिन्छ भन्ने भएको छ । अहिले मोटो रकम खर्च गरेर चुनाव जित्न लाग्नुभएको छ ।’

कतिसम्म हुन्छ चुनावको इगो ?

चौधरीले आफ्नो कार्यकालमा टेकुस्थित महासंघको आधुनिक भवन निर्माण गरेका थिए । त्यो भवन उद्घाटन गर्दा चौधरीले चुनाव हारेका थिए । भवन उद्घाटन कर्यक्रममा चौधरीलाई अथितिकोरुपमा मात्रै बोलाइएको थियो ।

कार्यक्रम भइरहेको ठाउँमा चौधरी सबैभन्दा पछाडि बसेका थिए । चुनाव जित्नेहरु मञ्चमा थिए । उनीहरुले चौधरीलाई लक्षित गर्दै भनेका थिए– ‘जो जित्दा हे वो सिकन्दर’ भनेर व्यंग्य गरेका थिए । चौधरीले यसलाई अपमान गरेका अनुभूति गरे ।

चुनाव हारेको पीडाले चौधरी रन्थिनिए । र, ०५४ का लागि अध्यक्षको उम्मेद्वार खोज्न थाले । आफ्नो पराजयको इगो साँध्न चौधरीले लागि परे । आफ्नो उम्मेद्वारलाई अध्यक्षमा जिताउन पाएमात्रै आफ्नो हारको पीडा भुल्नसक्छु भन्ने लाग्यो उनलाई ।

पोखरा उद्योग वाणिज्य संघमा राम्रो पकड भएका आनन्दराज मुल्मीलाई चौधरीले अध्यक्षको उम्मेद्वारकारुपमा अघि सारे । उम्मेद्वार बनाउनुभन्दा पनि उनी आफुले बनाएको उम्मेद्वारलाई जिताएर आफ्नो हारको पीडा विर्सने अभियानमा लागे ।

‘सोचेँ काठमडौंका व्यापारिक घरानाले रोलक्रममा चलाउन खोजेको महासंघमा पोखराका व्यवसायी मुल्मीलाई अध्यक्ष बनाउन सके एकैपटक मेरा २ उद्देश्य पुरा हुनेछन्,’ चौधरीको आत्मकथामा उल्लेख छ, ‘अनि मैले मुल्मीलाई आफ्नो आधिकारिक उम्मेद्वारका रुपमा अघिसारेँ ।’

अर्का अध्यक्षका प्रत्यासी थिए चिरञ्जीबीनिधी तिवारी । तिवारीलाई पद्म ज्योति, महेशलाल प्रधान, सुरज बैद्य, गोल्छा समूह, मदनलाल-चिरञ्जीबीलाल लगायतको समर्थन थियो ।

अन्तत मुल्लीले निर्वाचन जिते । त्यसपछि चौधरी महासंघको राजनीतिबाट अलग हुन चाहन्थे । तर, महासंघको राजनीति उनीबाट टाढा भाग्न मानेन । र, ०५९ सालमा महासंघको समानान्तर संस्था नेपाल उद्योग परिसंघ खोले ।

महासंघमा मुरारकाले यसरी फर्काए चौधरीलाई

०५४ सालम आनन्दराज मुल्मीलाई जिताउन महासंघका सार्वजानिक फोरमहरुमा देखिएका चौधरी त्यसपछि सीएनआइका फोरमहरुमा मात्रै देखिन्थे । करिब दुई दशक वित्यो । अहँ उनी महासंघले आयोजना गरेका कुनैपनि कार्यक्रममा गएका थिएनन् ।

तर, २०७३ चैत २८ गते चौधरी एकाएक महासंघको ५१औं साधारणसभाको उदघाटन कार्यक्रममा देखिए । चौधरीलाई देखेर महासंघका प्रतिनिधिहरु आश्चर्यचकित भएका थिए ।

चौधरीलाई महासंघको साधारणसभामा ल्याउने व्यक्ति हुन् महासंघका ततकलीन अध्यक्ष पशुपति मुरारका ।

महासंघ छाडेर समानान्तर संस्था खोलेर बसेका चौधरीलाई आफ्नो कार्यकालमा टेकुमा महासंघको अत्याधुनिक भवन बनाएको भन्दै मुरारकाले विशेष सम्मान पनि दिए । त्यही विशेष सम्मान थाप्न चौधरी साधारणसभामा देखिएका थिए ।

महासंघको कार्यक्रममा आउन पाउँदा आफूलाई निकै खुसी लागेको भन्दै चौधरीले आफ्ना साथीभाईसँग खुसी पनि साटेका थिए ।

कतिपयले दुई दशकपछि चौधरीलाई महासंघमा फर्काएर निजी क्षेत्रको एकता गराउन सफल भएको भन्दै मुरारकालाई बधाई पनि दिएका थिए ।

तर, कतिपयले भने माडवारी समुदायबीचको एकताकोरुपमा टिप्पणी गर्नसमेत गरेका थिए ।

कुनै समय एकै गुटमा रहेका चण्डीराज, पशुपति र शेखरहरु अहिले एकअर्कालाई सिध्याउन लागि परेका छन् ।

र, अहिले पनि इगो उस्तै

त्यो चुनावदेखि महासंघभित्र छिरेको राजनीतिक हस्तक्षेप आजसम्म पनि सक्रिय छ । भलै कहिले बढी छ भने कहिले घटी ।

पात्र फेरिए पनि प्रवृत्ति भने फेरिन सकेको छैन । अहिले फेरि त्यो स्तरकै इगोको लडाइँ भएको आभाष हुन्छ ।

यही मंसिर १३ गतेदेखि विधानअनुसार स्वतः अध्यक्ष बन्दै गरेका शेखर गोल्छा बरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधानको पक्षमा खुलेरै लागेका छन् । गोल्छाले प्रधानको प्यानललाई आफ्नो टिम भएको बताउँदै मत समेत मागिरहेका छन् ।

यो काममा गोल्छालाई अहिलेकी अध्यक्ष भवानी राणा, निवर्तमान अध्यक्ष पशुपति मुरारका, पूर्वअध्यक्षहरु कुशकुमार जोशी, विनोदबहादुर श्रेष्ठ, रविभक्त श्रेष्ठ, महेशलाल प्रधान र प्रदिपकुमार श्रेष्ठ लगायतले सघाएका छन् ।

त्यसैगरी, अर्का बरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्र ढकाललाई पूर्वअध्यक्ष चण्डीराज ढकाल र सुरज बैद्य लगायतको समर्थन छ ।

पूर्वअध्यक्ष प्रदिपजंग पाण्डे अहिलेसम्म फ्रन्टलाइनमा खुलेका छैनन् ।

बरिस्ठ उपाध्यक्षका उम्मेदवार ढकाल र प्रधान त बाहिर देखिने पात्र मात्रै हुन्, अहिलेको गुटबन्दी र इगाेकाे लडाइँ चण्डीराज ढकाल भर्सेस शेखर गोल्छा र पशुपति मुरारका हो । लामाे समयदेखि महासंघमा हावी भएको स्वार्थ समुहलाई यश पटक जरैदेखि उखेलेर फाल्न खाेजिएकाे गाेल्छा/मुरारका पक्षकाे तर्क छ ।

चण्डीराज ढकाल पक्षले बरिस्ठ उपाध्यक्ष गाेल्छालाई अध्यक्ष बन्नबाट राेक्न विधान संशोधन गर्ने भरपुर प्रयास गर्याे तर सफल भएन । ढकाल समुह अचेल आफ्नो समूहले बहुमत ल्याएर अध्यक्ष शेखर गोल्छालाई ६ महिनाभित्रै हटाउने भन्दै हिँडेको छ । गोल्छा/मुरारका समूह महासंघको राजनीतिलाई नै पेशा र व्यवसाय बनाउँदै लामो समय राज गरिरहेका चण्डीराजलाई सँधैका लागि महासंघको शक्तिभित्र प्रवेश गर्ने ढोका नै बन्द गर्न लागि परेको छ ।

हेरौं यो झगडाले कसलाई कहाँ पुर्याउने हो ?

र, अन्त्यमा इगोको राजनीतिले कहीँ पुर्याउँदैन भन्ने कुरा बारम्बार सम्झाइरहनु नपरोस् ।


पुष्प दुलाल