ओरियन्टल सहकारीका अध्यक्ष सुधीरको बयान: भक्तपुरमा २७६ रोपनी जग्गा छ, १ वर्षमा २ अर्ब फिर्ता गर्छु



काठमाडौं । ओरियन्टल को-अपरेटिभका निलम्बित अध्यक्ष सुधीर बस्नेतले सहकारीका बचतकर्ताको २३ करोड बचत फिर्ता गरेको जनाएका छन् । उनले २ अर्ब बचत फिर्ता गर्ने योजना सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिमा बयान दिने क्रममा सुनाएका छन् ।

बस्नेतले सहकारी ऐन र प्रचलित कानून बमोजिम सहकारी सञ्चालन गरेको दाबी गरेका छन् । २०६८ सालमा नेपाल राष्ट्र बैंक र सहकारी विभागको संयुक्त निरीक्षणमा जग्गा जमिनमा बढी लगानी गरिएको र यसलाई घटाउनु भनि सुझाव दिइएको उनले समितिमा जानकारी गराए ।

बस्नेत सहकारीबाहेक सुरुमा गाडी सम्बन्धी र सप्लायर्स सम्बन्धी कार्य गर्थे । पछि हाउजिङ व्यवसायी बनेका उनले अग्नि वायु सेवा सञ्चालन गरेको उल्लेख गरेका छन् । सुरुमा उक्त संस्थाबाट प्रवाह भएको कर्जाहरू उठाउन गाह्रो भएको हुनाले संस्थाको नाममा जग्गा जमिन खरीद गर्न थालिएको र पछि सहकारीको नाममा सीमित मात्रामा जग्गा खरीद गर्ने निर्देशन भएकोले सहकारीको नाममा भएको जग्गाहरू विभिन्न व्यक्तिहरूको नाममा ऋण खडा गरिएको बस्नेतले स्वीकारे ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकको नीतिमा भएको परिवर्तनले जग्गा जमिन बिक्री गर्न गाह्रो भएको र बचतकर्तालाई बचत फिर्ता गर्न नसकेको उनको भनाइ छ ।

हाल ति ऋणीहरूले जग्गा संस्थाको सम्पत्ति हो उक्त जग्गाहरू संस्थाको नाममा फिर्ता गर्न मन्जुर भएको भनि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा लिखित रूपमा कागज समेत पेस गरिसकेको उनले जनाएका छन् । यी जग्गाहरू मध्ये केही जग्गा बचतकर्ताहरूलाई बचत रकम फिर्ता गर्नको लागि विभिन्न फाइनान्स कम्पनीहरूमा सहकारीद्वारा धितो राखी रकम निकालि बचतकर्ताहरूलाई बाँडिएको बस्नेतको दाबी छ ।

‘उक्त फाइनान्स कम्पनीहरूलाई समयमै ऋण भुक्तान गर्न सकिएन । मैले प्रहरी तथा विभागमा दिएको बयानको क्रममा सम्पत्ति विवरण उपलब्ध गराई रोक्का राख्न निवेदन दिएको थिएँ’ उनले भनेका छन्, ‘तर विभागबाट जग्गा रोक्का भएको र केही फाइनान्स कम्पनीहरूले उक्त रोक्काविरुद्धमा मुद्दा दायर गरी मुद्दा जिति केही जग्गाहरू लिलाम बिक्री गरिसकेका छन् । हाल लिलाम बाँकी भएको जग्गा जमिनबाट बचतकर्ताहरूलाई बचत रकम फिर्ता गर्न हामी सक्षम छौं ।’

सहकारी संस्थाको सम्पत्ति कहाँ-कहाँ के कुन स्वरूपमा छ ? भन्ने प्रश्नमा बस्नेतले भनेका छन् ‘२०७१ सालमा सहकारी छानविनको लागि गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको आयोगले तत्कालीन समयमा सम्पूर्ण विवरणहरू लगेको थियो। हाल उक्त विवरणहरू समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा रहेको छ । मलाई हाल याद भए अनुसार पोखरा, दमौली, चितवन, हेटौडा, पर्सा, दाङ, बाँके र बर्दियामा जग्गाहरू रहेका छन् । साथै संस्थाको रकमबाट भक्तपुर गुन्डुमा २७६ रोपनी जग्गा खरीद गरीएको छ ।’

सहकारीको कुल दायित्व करिब २ अर्ब ९४ करोड रहेको उनको भनाइ छ । सहकारीका नाममा रहेको उल्लेखित जग्गा जमिनको हालको बजार मूल्य करिब ४ अर्ब रहेको उनको दाबी छ ।

सहकारीको सम्पत्तिको विवरण समितिमा पेस गरेको कार्ययोजनामा उल्लेख गरिएको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाबाट के कुन प्रयोजनको लागि १ अर्ब ७ करोड ८४ लाख रुपैयाँ ऋण लिएको हो ? भन्ने प्रश्नमा बस्नेतले भनेका छन्, ‘ओरियन्टल को–अपरेटिभ समेतले कुनै पनि बैंकबाट कर्जा लिएको छैन । यो ऋण रकम मेरो व्यक्तिगत व्यापार व्यवसायसँग सम्बन्धित ऋण रकम हो ।’

अन्य साहु शीर्षकमा १९ करोड ७० लाख रुपैयाँ कसलाई र केका निम्ति तिर्नुपर्ने हो भन्ने प्रश्नमा उनले सिस्टममा देखिएको साहु मेरो व्यक्तिगत व्यापार व्यवसायका साहुहरू हुन् सहकारीसँग सम्बन्धित छैन’ उनले भनेका छन् ।

सम्पत्तिलाई बैंकमा धितो राखी ऋण लिएको र त्यहि सम्पत्तिको नाममा अपार्टमेन्टको एडभान्स बुकिङ भनी अधिकतम रकम किन लिएको हो ? भन्ने प्रश्नमा बस्नेतले भनेका छन्, ‘सम्पत्ति बैंकमा राखिएको हुन्छ, उक्त सम्पत्तिको ऋण कम निस्किन्छ र अपार्टमेन्टको निर्माण कार्य गर्नको लागि अत्याधिक रकम आवश्यक पर्छ । सो रकम मध्ये केही रकम बुकिङकर्ताहरूसँग लिने गरिएको हो । बिक्रीको सुनिश्चितताको लागि बुकिङकर्ताहरूसँग उक्त रकम लिइएको हुन्छ अधिकतम रकम लिइएको होइन ।’

बस्नेतले विद्यमान अवस्थामा सहकारीको समस्या समाधान गर्न सक्ने दाबी गरेका छन् । त्यसका लागि आफूहरुले कार्ययोजना समेत समस्याग्रस्त व्यवस्थापन समितिलाई पटक पटक बुझाएको उनको भनाइ छ । कार्ययोजना अन्तर्गत लिन मन्जुरी भएका बचतकर्ताहरूलाई बचत बराबरको सम्पत्ति बाँडेर बचत फिर्ता गर्न सकिने उनको भनाइ छ ।

सोही अनुरुपको कार्य समेत सुरु गरिसकेको जनाए । भक्तपुर गुन्डुको १३ रोपनी जग्गा समितिबाट फुकुवा भएपछि करीब २३ करोड रकम बराबर भएका बचतकर्ताहरूलाई बाँडिएको दाबी गरे।

सो पश्चात थप जग्गा लिन मन्जुर भएका १ अर्ब ७२ करोड रकम बराबरको बचत भएका बचतकर्ताहरूको नामावली समस्याग्रस्त व्यवस्थापन समिति समक्ष पेस गरेको उनले जनाए । जसमध्ये १८ करोड बराबर रकम बचत भएका बचतकर्ताहरूलाई सनाखत समेत गराइसकेको बस्नेतको भनाइ छ ।

‘समस्याग्रस्त व्यवस्थापन समितिका पदाधिकारी परिवर्तन भएको हुँदा उहाँरूले बुझ्न समय लाग्ने र मन्त्रालयमा स्वीकृतिको लागि पत्र पठाउनु भएको भनि जानकारी गराउनु भएको छ’ उनले समितिमा भनेका छन् ‘ हाल बचतकर्ताहरूसँग सनाखत गर्ने कार्य समेत रोक्नु भएको छ । यदि हामीले हाम्रो कार्ययोजना अनुरूप सहज रूपमा सम्बन्धित बचतकर्ताहरूलाई जग्गा वितरण गर्न पाएमा नौ महिना देखि एक वर्ष भित्रमा सम्पूर्ण वचतकर्ताहरूलाई बचत फिर्ता गर्न सक्ने अवस्थामा छौं । साना बचतकर्ताहरूको हकमा विभिन्न जिल्लामा भएका सम्पत्ती र भक्तपुर गुन्डुका केही जग्गाहरू बिक्री गरी बचत रकम फिर्ता गर्न सकिने छ ।’
सरकार कै रोहबरमा बचतकर्ताहरूलाई बचत रकम बराबरको जग्गा बाँड्न पाएमा समस्या समयमै समाधान हुने उनको भनाइ छ।

एनले आफूसँग भएको सम्पत्तिहरू बचतकर्ताहरूको मन्जुरीमा उनीहरूलाई उपलब्ध गराउन नेपाल सरकारले बचतकर्ताहरूको मन्जुरी लिएर सनाखत गराई नेपाल सरकारको रोहबरमा बचतकर्ता वा बचतकर्ताहरले मन्जुरी दिएको व्यक्ति को नाममा पास हुने गरि फुकुवा भएमा सहकारीको समस्या समाधान गर्न सहज हुने बताए ।

तपाईंले सञ्चालन गर्नु भएको ग्राण्ड अपार्टमेन्ट समेतमा लगानी गरेका लगानीकर्ताहरूको तर्फबाट सुनिता श्रेष्ठ र राजु श्रेष्ठ समेतले १२ वर्ष देखि हामीले लगानी गरेको लगानीको प्रतिफल प्राप्त हुन सकेन समस्याग्रस्त सहकारी व्यवस्थापन समिति लगायतबाट रोका रहेको हुँदा यस समस्याको सिघ्र समाधान गरि हाम्रो लगानीको प्रतिफल हाम्रै नाममा गरिपाउँ भन्दै निवेदन दिएका छन् । उक्त समस्या के कति कारणले सृजना भएको हो ? तपाईंको ग्राण्ड अपार्टमेन्ट लगायतका अपार्टमेन्टहरूका समस्या के कसरी समाधान गर्नु हुन्छ भन्ने प्रश्नमा जवाफ दिँदै उनले भने, ‘ग्राण्ड अपार्टमेन्ट हामीले २०६६/०६७ सालमा नै हस्तान्तरण गरेका थियौं । हामीले हस्तान्तरण गर्दा सबै युनिटको पुर्जा बनिसकेको थियो । सो बिल्डिङ पास गर्नको लागि हामीले चार करोड अन्यत्रबाट व्यवस्थापन गरी बैंकको कर्जा भुक्तानी गरिदिएका थियौं । सो समयमा समितिका अध्यक्ष राजु श्रेष्ठले बैंक डिल गर्ने, पास गराउने लगायतका सम्पूर्ण कार्य गर्नु हुन्थ्यो ।

राजु श्रेष्ठ २०६६-२०६७ सालदेखि उक्त बिल्डिङमा बसोबास गर्दै आउनु भएको छ । हाल उनले उक्त बिल्डिङ भाडामा लगाउनु भएको छ । सो विल्डिङको विषयमा अन्य कुनै समस्या भएको भए अन्य व्यक्तिहरू पनि यहाँ निवेदन दिन उपस्थित हुनु हुन्थ्यो। हाम्रो तर्फबाट राजु श्रेष्ठसँग कुनै समस्या रहेको छैन । उक्त आवास संयुक्त आवास भएको हुनाले एक जनाले मात्र भुक्तानी गरेर फुकुवा हुँदैन सम्पूर्ण भुक्तानी भएमा मात्र फुकुवा हुन्छ र बिल्डिङमा टासिएको रातो स्टिकर हटाई हरियो स्टिकर टाँस गर्न सबैले मिलि खर्च गरि मर्मत सम्भार गरेमा हुन्छ । यसमा हाम्रो कम्पनिको कुनै गल्ति छैन । यसमा कम्पनिले गरेको करार बमोजिम निजलाई ब्याज बमोजिमको रकम भुक्तान गरि निजले उक्त अपार्टमेन्टबाट लिएको फाइदा समेत सबै कट्टा गरि अपार्टमेन्ट फिर्ता लिन तयार छौं’ उनले भनेका छन् ।

सहकारी ठगी मुद्दामा दुई वर्ष कैद तोकिएकोमा १८ महिना उनले कैद सजाय भुक्तान गरेका छन् ।

सहकारीको सम्पत्ति दायित्व भन्दा धेरै रहेको रहेको भन्दै सहकारीका बचतकर्ताहरूलाई सहकारीको सम्पत्ति र सहकारीको रकमबाट खरीद गरेर रोक्का राखिएको सम्पत्ति दिएर हिसाबकिताब मिलाउन सरकारले उचित वातावरण निर्माण गरिदियोस् भन्ने माग गरेका छन् ।

उक्त समयमा जग्गामा धेरै लगानी भएको हुनाले समस्या सृजना भएको स्वीकारेका छन् । आफूले पछिल्लो १२ वर्षमा अत्याधिक मुद्दा झेल्नु परेकोले समयमै यी सबैबाट मुक्त हुनका लागि बचतकर्ताको रकम फिर्ता गर्न पाए हुन्थ्यो भन्नेमा रहेको उल्लेख गरे।

बस्नेत ओरियन्टल को–अपरेटिभ लिका अध्यक्ष तथा प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट को-अपरेटिभ, भेगास बचत तथा ऋण सहकारी लि, कोहीनुर हिल सेभिङ एण्ड क्रेडिट र कन्जुमर बचत तथा ऋण सहकारीका मुख्य सञ्चालक थिए ।


क्लिकमान्डु