अपार्टमेन्ट र सहकारी पीडितसँग सुधीर बस्नेतको जम्काभेटमा जे देखियो… (फोटो र भिडियोसहित)

पुष्प दुलाल २०७५ मंसिर १९ गते १८:२३ मा प्रकाशित

काठमाडौं । ‘आज दिउसो २ बजे सुधीर बस्नेत पीडित, सुधीर बस्नेत र समस्याग्रस्त सहकारी संस्थाको ब्यवस्थापन समितिबीच त्रिपक्षीय छलफल हुँदैछ, तपाई पनि आउनु होला है,’ भन्दै बस्नेतबाट ठगिएका एक पीडितले मंगलबार दिउसो साढे १२ बजे फोन गरे ।

त्यसको १५ मिनेटपछि व्यवस्थापन समितिका एक अधिकारीले पनि फोन गरेर निमन्त्रणा गरे ।

क्लिकमाण्डूले सुधीर बस्नेतलाई भेट्न धेरै प्रयासाहरु पनि गरेको थियो । तर, संभव भइरहेको थिएन । क्लिकमाण्डूले सुधीर बस्नेतको ठगी प्रकरणसम्बन्धी धेरै समाचारहरु प्रकाशन गरिसकेको छ । हाम्रा लागि यो एउटा फलोअप पनि थियो ।

त्यतिमात्रै होइन, गुगलमा सुधीरका जम्मा २ वटामात्रै फोटा भेटिन्छन् । जसकारण हामीले समाचार लेख्दा आफ्नो वाटरमार्क भएको उनको फोटो राख्न पाएका थिएनौं । त्यो पिडाबाट मुक्त हुने अवसर पनि थियो यो ।

र, मिल्यो भने सुधीरसँग अन्तर्वार्ता लिने हाम्रो तयारी पनि थियो ।

सहकारी र अर्पाटमेन्टबाट अर्बौं ठगी गरेका कारण बस्नेत चर्चित छन् । बस्नेतले ११ हजार जनाको ८÷९ अर्ब रुपैयाँ सावाँ ठगी गरेको र त्यसको ब्याजसमेत जोड्दा अहिले उनले साढे १६ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको व्यवस्थापन समितिको प्रतिवेदनमा उल्लेख छ ।

यसकारण पनि सुधीर बस्नेत मिडियाका लागि महत्वपूर्ण छन् । अझ भनौं बिक्ने पात्र हुन् । त्यसैले उनीसँग भेट्न पाइने भएपछि मल्टिमिडिया जर्नालिस्ट नारायण पौडेल र म मंगलबार दिउसो सवा २ बजे छलफलमा सहभागि हुन गयौं ।

सिंहदरबार बैद्यखानामा रहेको महालेखा नियन्त्रकको मिटिङ हलमा छलफल बोलाइएको थियो । हामी पुग्दा छलफल शुरु भइसकेको थियो ।

ब्यवस्थापन समितिका संयोजक युवराज सुवेदी बोलिरहेका थिए । सुवेदीले बस्नेतले साढे १६ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको र त्यसका लागि आफूहरुले उनको नाममा भएको सम्पत्ति बिक्री गरेर पीडितको पैसा फिर्ता गर्ने प्रक्रिया शुरु गरिसकेको बताए ।

यसै क्रममा सरोकारवाला सबैसँग छलफल गरेर अघि बढ्नका लागि त्रिपक्षीय छलफल गर्नुपरेको भन्दै उनले छलफल शुरु गरे ।

उपस्थित सबैका कुरा सुन्ने र पीडक बस्नेतलाई पनि आफ्ना कुरा राख्न दिने भन्दै सुवेदीले फ्लोर ओपन गरे ।

हाम्रो ध्यान भने छलफलमै हाप टिसर्ट लगाएर बसेका सुधीर बस्नेततिर केन्द्रित भयो ।

नजर जुध्नेवित्तिकै मुसुक्क मुस्काएर सुधीरले हात उठाए । म पनि मुस्काएँ । र, हात उठाएँ । धेरै पटक हाम्रो नजर जुधिरह्यो ।

उनलाई फोकस गरेर हामीले फोटो खिच्दा सुधीर केही संकोच मानिरहेका थिए । तर, भन्न भने सकेनन् ।

फ्लोर ओपन हुने वित्तिकै ओरेन्टल सहकारीमा निक्षेप राखेर डुबेका एक पीडित बोल्न थाले । उनले बस्नतेको सम्पत्ति तत्काल बिक्री गरेर निक्षेपकर्ताको निक्षेप फिर्ता दिनुपर्नेमा जोड दिए ।

पृष्ठभूमि बताउँदै उनले आफ्ना गुनासाहरु राखिरहेका थिए । उनी करिब १५ मिनेट बोलिसकेको थिए । फ्लोरबाट उनलाई समय छोट्याउनका लागि अनुरोध गरियो ।

‘तपाईं आफ्ना कुरा छोट्याउनुहोस् हामीले पनि आफ्ना कुरा राख्नु छ,’ एक पीडितले भने ।

‘अझै धेरै कुरा भन्न बाँकी छ, मैले किन छोट्याउने ? मलाई बोल्न नदिने तपाईं को हो ?’ भन्दै उनी जंगिए ।

त्यसपछि फ्लोरमा मौन रहेकी एक युवती टेवल ठटाउँदै जंगिइन् ।

‘‘यो कार्यक्रमको उदेश्य के हो ? त्रिपक्षीय सम्झौता अनि समितिबाट निक्लिएको विज्ञप्ति मा केन्दित हौ श्रीमान । बाहिरी कुरा बन्द गरौ ? त्यसो भए हामी पिडितको समिती छ,अपार्टमेन्ट पीडितहरुको उपभोक्ता समिति छ, हामी काम गरिरहेका छौं, हाम्रो पैसाको हेक्का नराखी बैंक हरुको मात्रै पक्षपोषण गर्ने हो ?’ सहकारी पीडित हकहित संरक्षण समितिकी अध्यक्ष कुन्ती पोख्रेल  जंगिइन् ।

त्यसपछि माहोल अर्कै भयो । भेला भएकामध्ये आधाभन्दा बढी ब्यक्तिहरु उठेर चिच्याउन थाले । कसैका कुरा कसैले सुनेनन् । सहकारी पीडित र अर्पाटमेन्ट पिडीतहरु एकअर्कालाई दोष लगाउन थाले । आरोप प्रत्यारोप गर्न थाले ।

समितिका अध्यक्ष सुवेदी अवस्था कुल बनाउन सबैलाई आग्रह गरिरहेका थिए । तर, एकछिन त्यहाँ ठूलै खैलाबैला मच्चियो । भेगास सिटीका उपभोक्ता समितिका केही व्यक्ति बहिस्कार गरेको भन्दै बाहिर निस्किए ।

पीडितहरुको बाझाबाझलाई केही समय सुधीर बस्नेतले हेरिरहे । केही समयपछि भने दुबै पक्षलाई हल्ला नगर्न आग्रह पनि गरे । अवस्था सामान्य बनाउन बस्नेतले राम्रै भूमिका निर्वाह गरे ।

सहकारी पीडितहरुको माग भेगास सिटी तत्काल बिक्री गरेर आफूहरुले ओरेन्टल सहकारीमा राखेको पैसा पाउनुपर्छ थियो भने भेगास सिटीका बुकिङकर्ताहरु भेगास सिटी बिक्री गरेर सहकारी पीडिलाई पैसा फिर्ता गर्न मिल्दैन भन्ने माग थियो । यसै विषयमा दुई पक्षले खैलाबैला मचएका थिए ।

त्यसपछि बल्लबल्ल ब्यवस्थापन समितिका सुवेदीले त्यहाँको कोलाहललाई नियन्त्रणमा लिए । र, उनले अब बोल्नेले ५ मिनेट मात्रै बोल्न पाउने सीमा तोकिदिए ।

त्यसपछि सहकारी पीडित हकहित संरक्षण समितिकी अध्यक्ष कुन्ती पोख्रेल  बोल्न थालिन् । उनी उठेर चिच्याउँदै ब्यवस्थापन समिति विरुद्ध खनिइन् ।

उपभोक्ता समितिले भेगास सिटी बनाइरहेको अवस्थामा व्यवस्थापन समितिले बेच्नका लागि किन सूचना निकालेको ? भन्दै आक्रोश पोखिन् ।

व्यवस्थापन समितिलाई भेगास सिटी बिक्री गर्ने अधिकार नभएको उनको भनाई थियो । समितिको यसअघिको नेतृत्वले त्रिपक्षीय सम्झौता गरेर उपभोक्ता समितिलाई बनाउन दिएको दाबी गर्दै बिक्री प्रक्रिया तत्काल रोक्नुपर्ने उनको भनाई थियो ।

अर्पाटमेन्ट पीडितको पैसा फिर्ता नभइ सहकारी पीडिको पैसा फिर्ता नहुने भन्दै उनी समिति विरुद्ध खनिइन् ।

त्यसपछि भने सहकारी र अर्पाटमेन्ट दुबै पक्षका पीडितहरुले पालैपालो बोले । उनीहरु प्राध्यापक भएकाले केही सन्तुलित र संयमित भएर बोले । अधिकांशले भेगास सिटी बनाएर मात्रै बिक्री गर्ने अनि त्यसबाट आएको पैसाले दुबै पक्षका पीडितको पैसा फिर्ता गर्नुपर्ने माग राखे ।

समितिका संयोजक सुवेदी

त्यसपछि व्यवस्थापन समितिका संयोजक सुवेदीले सुधीर बस्नेतलाई बोल्न दिए । बस्नेतले भेगास सिटी बनाएर बिक्री गरेपछि मात्रै सहकारी र अर्पाटमेन्ट पीडितको पैसा फिर्ता गर्न सकिने बताए । भेगास सिटी नबनाउने हो वा अहिले नै अक्सनमा बिक्री गर्ने हो भने कुनैपनि पीडितले आफ्नो सम्पत्ति फिर्ता नपाउने ठोकुरासमेत गरे । निकै कन्फिडेन्सका साथ प्रस्तुत भएका बस्नेत यो समस्या आफ्ना कारणले आएको भन्दै समाधान पनि आफैं गर्न तयार रहेको बताए ।

बस्नेतको पूर्ण बक्तब्य हेर्न यो लिंक खोल्नुहोस्-सुधीर बस्नेतले भने- ब्याज १ रुपैयाँ तिर्दिन, भेगास सिटी बनेन भने सावाँ पनि तिर्न सक्दिन (भिडियोसहित)

सबैको सुझाब सुनेपछि समितिका अधयक्ष सुवेदीले सरोकारवालाहरुको सुझाबकै आधारमा समितिले उपयुक्त निर्णय गर्ने बताए । सरकारले पीडितहरुलाई न्याय दिनका लागि समिति गठन गरेको र त्यसको जिम्मेवारी आफूलाई दिएको बताउँदै आफूले पीडितहरुलाई न्याय दिलाएरै छाड्ने उनको भनाई थियो ।

बस्नेतको सम्पत्ति ‘रोल ओभर’ गरेर पीडितको पैसा फिर्ता गर्न आफूहरु तयार भएको र फेरि थप छलफल गरेर निर्णयमा पुग्ने सुवेदीले बताउँदै छलफललाई समापन गरे ।

कार्यक्रम समापन भएपछि हामीले सुधीरलाई भेट्यौं । भेट्नासाथ उनले सोधीहाले– ‘सञ्चै हुनुहुन्छ । धेरै भयो है भेट नभएको पनि ।’

‘तपाईंले मलाई चिन्नुहुन्छ र ?’ आश्चर्य मान्दै मैले सोधेँ ।

‘एक/दुई पटक भेटेको मान्छेलाई कहाँ बिर्सन सकिन्छ र ?’ उनले उल्टो प्रतिप्रश्न गरे, ‘फेरि मेरै बारेमा लेखिरहने पत्रकारलाई कसरी बिर्सूँ ।’

त्यसपछि मैले मेरो भिजिटिङ कार्ड दिएँ । उनी मुसुक्क हाँसे ।

‘मैले अलिकति रेकर्डेड कुरा गर्ने प्रस्ताब राखेँ । अबस्था खराब छ, म बोल्यो भने यहाँ झन् समस्या हुन्छ भन्दै उनले मानेनन् ।

‘अब निस्कौं’ भन्दै उनी अघि बढेँ । म र नारायणजी दुबै उनी सँगसँगै निस्कियौं ।

‘यत्रो ठूलो ठगी काण्ठमा फस्नुभएको छ, यो समस्याबाट मुक्त भएर पूरानै जिबनशैली जिउने दिन आउलान् कि नआउलान् तपाईंका ?’ मैले चुस्स प्रश्न सोधेँ ।

‘म पनि यही सोचिरहेको छु, समस्याको समाधान छिटो भैदिए आनन्दसँग बाँच्न त पाउँथेँ,’ उनले जवाफ दिए, ‘तपाईं मिडियाका साथीहरुले पनि लेखेर सरोकारवाला सबैलाई छिटो समस्या समाधान गर्न झक्झकाउनु पर्यो ।’

म सुनिरहेँ । नारायणजी फोटो खिचिरहनु भएको थियो । सुधीरले भने, ‘भाई धेरै फोटो खिच्नुभयो, अब नखिच्नोस् प्लिज ।’

नारायणजीले लिन लागेको सर्ट पनि लिनुभएन । यसबेलासम्म हामी महालेखा परिक्षकको कार्यालयको गेटमा पुगिसकेका थियौं ।

छुट्ने बेला सुधीरले भने- ‘भाई मिलाएर लेख्दिनुहोस् ल, नत्र हामी सबैलाई गाह्रो पर्छ ।’

हात हल्लाए अनि कानमा फोन लगाएर उनी सुइँसुइँ अघि बढे । पीडितहरु पनि उनलाई हेरिरहे । उनी एक्लै हिँडेर अनामनगरतिर लागे ।

हामी त्यहाँ उपस्थित भएका केही पीडितहरुसँग कुराकानी गर्न थाल्यौं ।

‘यत्रो ठगी गरेको मान्छेको कन्फिडेन्स देख्नुभयो, यो मान्छेको क्षमतालाई चाहीँ मान्नै पर्छ,’ एक पीडितले भने, ‘सुधीर बस्नेतका अघि विश्वविख्यात अपराधी चाल्स सोभराज केही पनि होइनन् जस्तो लाग्छ मलाई त । सुधीरको क्रिमिनल र मास्टर माइन्ड छ । जसकारण म जस्तो राज्यको उच्च आहेदामा बसेको सचेत मान्छे पनि ठगिएँ ।’

उनले आफू उच्चस्तरको सरकारी कर्मचारी भएको बताए । तर, आफ्नो नाम र पद नछापिदिन आग्रह गरे ।

यति गर्दा ४ बजिसकेको थियो । हामी फर्कियौं ।

बाटोमा सहकर्मीमित्र नारायणजीले भने- यो मान्छेको दिमाग र आँटलाई चाहीँ मान्नैपर्छ । मलाई त १६ रुपैयाँ त ठगी गर्न डर लाग्छ । १६ अर्ब ठग्दा पनि कति कन्फिडेन्सका साथ बोल्न सक्ने मान्छे रहेछन् सुधीर त ।’

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स