विराटनगरमा चार पाङग्रे विद्युतीय गाडी उत्पादन हुने, ३ अर्बको लागतमा कारखाना बन्दै



विराटनगर । एकवर्ष भित्रमा विराटनगरमा सबै प्रकारका चार पाङग्रे विद्युतीय गाडीको उत्पादन सुरु हुने भएको छ । त्यसका लागि केही समयअघि विराटनगरको एनके मोटर्स प्रालिका अध्यक्ष टिकाराम पुरी र चीनको स्यामन गोल्डेन ड्रागन अटोबढी कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक लियस जोङचुङ बीच चीनमा द्विपक्षीय सम्झौता भएको छ ।

चीनको फुजियान प्रान्तमा रहेको उक्त अटोबढी कम्पनीसँग मिलेर विराटनगरबाट एकवर्ष भित्रमा चाइनिज र कोरियन प्रविधिका सबै प्रकारका चार पाङग्रे विद्युतीय गाडीको उत्पादन सुरु गर्ने सम्झौता भएको एनके मोटर्स प्रालि कोशीका अध्यक्ष पुरीले क्लिकमान्डुलाई बताए ।

त्यसका लागि ड्रागन अटोबढी कम्पनीले सहज मूल्यमा पाटपुर्जा उपलब्ध गराउँदै प्रविधिमा सहयोग गर्ने बताइएको छ । पुरीका अनुसार उक्त कम्पनीले नेपालमा विद्युतीय गाडी उत्पादन गर्ने दक्ष जनशक्ति उत्पादन नभएसम्म प्राविधिक पठाएर गाडी उत्पादनमा सहयोग गर्ने र दक्ष जनशक्ति उत्पादनकालागि प्रशिक्षण दिने द्विपक्षीय सम्झौता भएको छ ।

विद्युतीय चार पाङग्रे गाडी उत्पादनका लागि एनके मोटर्स प्रालिले मोरङको बुढीगंगामा तीन अर्बको लागतमा कारखाना स्थापना गर्ने तयारी गरेको छ ।

‘कारखाना स्थापनाको काम सकिएपछि विद्युतीय चार पाङग्रे गाडीको उत्पादन सुरु हुने लक्ष्य राखिएको छ,’ पुरीले भने ।उनकाअनुसार कम्पनीले सुरुमा स्कुले बस र भ्यान, १४ र १९ सिटे हायस गाडी र पिकप भ्यानको उत्पादन गर्ने छ । त्यसपछि जीप र कारको उत्पान गरिने छ । उत्पादित ईभीको मूल्य त्यसबेला तय गरिने उनको भनाइ छ ।

पुरीका अनुसार कारखानाबाट मासिक ७ सय ५० वटा विद्युतीय गाडी उत्पादन गर्ने लक्ष्य राखिएको छ । यसअघि विराटनगरमा हुलास मोटर्स कम्पनीले विदेशबाट पाटपुर्जा आयात गरेर शेर्पा नामको चार चक्के गाडीको उत्पादन गरेको थियो । उत्पादीत गाडीले बजार नपाएपछि हाल उक्त कम्पनीले विद्युतीय सिटी रिक्सा उत्पादन गर्दै आएको छ ।

हुलास मोटर्समा बनिरहेको त्यो गाडी, जुन गर्भमै तुहियो

नेपालकै पहिलो गाडी उत्पादक कम्पनी ‘हुलास मोटर्स्’ घुम्दा जे देखियो…


विनोद भण्डारी