आर्थिक वृद्धि हासिल गरिरहेको बंगलादेशमा किन भयो सत्ता पल्टाउने विद्रोह ?
बंगलादेशमा अघिल्लो साता प्रधानमन्त्री शेख हसिना वाजेद पदबाट राजीनामा दिएर भारततर्फ पलायन भएपछि नोबेल शान्ति पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ ।
विद्यार्थीहरूले सरकारी पदमा आरक्षणको व्यवस्था हटाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेकोमा त्यो हिंस्रक बन्दै गएपछि हसिना सत्ताच्युत हुने स्थिति आएको हो । हसिनाको नेतृत्वमा बंगलादेशले लोभलाग्दो आर्थिक प्रगति गरेको भए पनि उनी आफैं देश छोडेर भाग्नुपर्ने स्थिति कसरी आयो भनी चर्चा चलिरहेको छ ।
विश्व बैंकको आँकडा अनुसार, सन् २००९ मा हसिनाले सत्ता सम्हाल्दा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन लगभग ७०० डलर थियो भने सन् २०२४ मा उनी सत्ताबाट बाहिरिँदा त्यो बढेर लगभग २७ सय डलर पुगेको थियो । सन् २०२२ सम्म पनि बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनले भारतलाई समेत उछिनेको भनी चर्चा गरिएको थियो ।
यस १५ वर्षको अवधिमा हसिना सरकारले राजनीतिक स्थिरता कायम गराउँदै निरन्तर आर्थिक वृद्धि गराउँदै लगेको थियो । विशेषगरी विशाल परिमाणमा तयारी कपडाको निर्यात गरेर बंगलादेशले लाखौं मानिसलाई गरीबीको दुष्चक्रबाट बाहिर निकाल्न सफलता पाएको थियो ।
बंगलादेशको आर्थिक सफलतामा त्यहाँको महिलाको प्रमुख हात रहेको विश्लेषणहरू पाइन्छन् । बंगलादेश, नेपाल र भारतको तुलना गरी लेखिएको स्वाति नारायणको पुस्तक ‘अनइक्वल : ह्वाई इन्डिया ल्याग्स बहाइन्ड इट्स नेबर्स’ मा महिलाको शिक्षादरमा वृद्धि भई शिक्षित महिला रोजगारीमा आउन थालेपछि आर्थिक वृद्धिमा योगदान पुगेको उल्लेख छ । महिलाले कमाउन थालेपछि पिता वा पतिमा निर्भर हुनुपर्दैन र उनीहरू आर्थिक तथा सामाजिक अधिकारसम्पन्न स्वतन्त्र व्यक्ति बन्न पुग्छन् । यसले महिला स्वयंको आर्थिक उन्नति गराउँछ भने समग्र अर्थतन्त्रलाई अभिवृद्धि गर्न पनि भूमिका खेल्छ ।
त्यसमाथि बंगलादेशका बहालवाला अन्तरिम सरकार प्रमुख अर्थशास्त्री मोहम्मद युनुसको ग्रामीण बैंकले थालेको लघुवित्त क्रान्तिका कारण पनि महिलाको सशक्तीकरणमा योगदान पुगेको थियो । लघुवित्तले उपलब्ध गराएको सुभल ऋणले महिलालाई स्वतन्त्र रूपमा कमाइ गर्नका लागि सक्षमता र साधन दुवै उपलब्ध गराएको थियो । तर त्यसमा समस्या देखिएर महिलाहरू ऋणको चंगुलमा फँसेको पाइएको छ र यससम्बन्धी बनेको एक वृत्तचित्रका कारण ग्रामीण बैंकबाट मोहम्मद युनुस हटेको बताइन्छ ।
त्यसका अतिरिक्त बंगलादेशमा सांस्कृतिक एकरूपताले गर्दा पनि आर्थिक उन्नतिका लागि सहज वातावरण बनेको थियो । त्यहाँ अल्पसंख्यकहरू भए पनि तिनले आर्थिक उन्नतिमा अवरोध गर्ने कुनै पनि काम गरेका थिएनन् । अनि शहर र गाउँको अर्थतन्त्रमा असमानता भए पनि त्यसले जन्माएको असन्तुष्टि प्रखर थिएन । त्यससँगै बंगलादेलाई अर्को मुलुकबाट सुरक्षा जोखिमको अवस्था पनि थिएन ।
अनि बंगलादेशको एकात्मक शासन प्रणालीका कारण अन्य देशमा जस्तो प्रदेश वा स्थानीय सरकारले केन्द्र सरकारका योजनामा भाँजो हाल्ने अवसर थिएन । केन्द्र सरकारसँग प्रशासनिक, राजनीतिक, आर्थिक र कानूनी अधिकार भएकाले अवरोधविना नै आर्थिक उन्नतिका योजना कार्यान्वयन गर्न सहज थियो । अझ त्यसमाथि केन्द्रमा हसिनाको सुदृढ नेतृत्व र विपक्षीहरूलाई उनले कमजोर बनाउने गरी नियन्त्रणमा राखेका कारण पनि आर्थिक उन्नतिमा सहजता थियो ।
हसिनाले खुला व्यापार, निजी क्षेत्रलाई प्रोत्साहन तथा सामाजिक विकासमा लगानी लगायतका सही निर्णयहरू गरेकाले पनि आर्थिक लाभमा योगदान पुगेको थियो । लगानीकर्ताहरूलाई निर्बाध रूपमा आफ्ना योजना कार्यान्वयन गर्नका लागि हसिनाले वातावरण बनाइदिएकी थिइन् ।
तर हसिनाको आर्थिक नीतिले समस्याहरू पनि जन्माएको थियो । व्यापक आर्थिक प्रगति गर्ने मुलुकमा भ्रष्टाचार पनि बढ्दै गएको हुन्छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको पछिल्लो तथ्यांकमा २४ अंक सहित बंगलादेश १८० मुलुकमध्ये १४९ औं स्थानमा छ । सरकारी कर्मचारीहरूले घूस नलिइकन कुनै काम नगर्ने अनि घूस खाएर नीतिगत भ्रष्टाचार गर्ने समस्या विकराल रहेको विभिन्न अध्ययनले देखाएका छन् । हसिनाले चीनका राष्ट्रपति सी चिनपिङको सिको गर्दै भ्रष्टाचार न्यूनीकरणमा व्यापक कदम चाल्न सक्थिन् किनकि उनी शक्तिशाली प्रधानमन्त्री थिइन् । तर उनले त्यसो गरिनन् ।
लन्डन विश्वद्यिालयमा अर्थशास्त्रका प्राध्यापक मुश्ताक खानका अनुसार, आर्थिक वृद्धिका क्रममा सीमित समूह (कार्टेल र सिन्डिकेट) को बोलबाला हुन्छ र उनीहरू अनौपचारिक आर्थिक गतिविधिमा संलग्न हुन पुग्छन् । उनीहरूलाई रोक्नका लागि कानूनको कठोर कार्यान्वयन गर्नुपर्ने हुन्छ । तर यसमा हसिना चुकिन् ।
तयारी कपडाको निर्यातमा मात्र सम्पूर्ण निर्भर हुनु हसिनाको अर्को गल्ती रह्यो । बंगलादेशको सस्तो श्रमिक बजारका कारण जारा र एच एन्ड एम जस्ता विश्वव्यापी फेशन कम्पनीहरूले त्यहाँ कपडा उत्पादन गराउन थालेका थिए । त्यसले लाखौं मानिसको जीवनस्तर उकास्न सहयोग गरेको थियो । कपडा उद्योगले मात्र बंगलादेशको कमाइको ८० प्रतिशतभन्दा बढी स्थान ओगटेको थियो । तर त्यसमा मात्र भर नपरी आर्थिक उन्नतिका लागि विकल्पको खोजी पनि हसिनाले गर्नुपर्ने थियो ।
कोभिड महामारीका कारण तयारी कपडाको विश्वव्यापी मागमा ह्रास आएपछि बंगलादेशलाई गाह्रो पर्दै गयो । कोभिडको झट्काबाट बाहिर निस्कन नपाउँदै रुस–युक्रेन युद्ध शुरू भएपछि बंगलादेशले आयात गर्दै आएको खाद्यवस्तु र इन्धनको भाउ चर्किएको थियो । तयारी कपडा निर्यात बाहेकको अर्थतन्त्र विविधीकरणमा ध्यान नदिएपछि आयात खर्च उठाउन हसिना सरकारलाई धौधौ परेको थियो ।
फलस्वरूप, बंगलादेशमा महंगी ह्वात्तै बढेको थियो र हसिना सरकारले त्यसलाई नियन्त्रण गर्न सकेको थिएन । बंगलादेशी टाकाको मुद्रास्फीति हुँदै जाँदा विदेशी मुद्रा सञ्चिति घट्दै गएको थियो । उक्त सञ्चिति थाम्नै नसकिने गरी घटेपछि बंगलादेशले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ऋण लिन बाध्य हुनुपरेको थियो ।
कोभिड महामारीपछि तयारी कपडाको निर्यात बौरिन थालेको भए पनि बंगलादेशमा आर्थिक समस्याको बीजारोपण भइसकेको थियो । बंगलादेशले एकदमै कम राजस्व उठाउने गरेको छ र त्यसमा प्रशासन तथा जनता दुवै जिम्मेवार छन् । कर तिर्दा पनि घूस खुवाउनुपर्ने स्थितिका साथै कर तिर्ने अनिच्छाका कारण जनताले खासै कर बुझाउने गरेका छैनन् । अनि प्रशासनले पनि कडीकडाउ रूपमा कर उठाउने गरेको छैन । बंगलादेशको कर र कुल गार्हस्थ्य उत्पादनको अनुपात संसारमै सबभन्दा कममध्ये पर्छ । यस्तो स्थितिमा सरकारलाई विभिन्न परियोजनामा लगानी गर्न र विदेशी आयातको रकम भुक्तानी गर्न गाह्रो पर्छ।
कोभिडपछि जन्मिएको आर्थिक समस्याका कारण बंगलादेश सरकारलाई महंगीमाथि नियन्त्रण कायम गर्न हम्मेहम्मे पर्न थालेको थियो । महंगीको मार झेलिरहेका सर्वसाधारणलाई कुल गार्हस्थ्य उत्पादनका वृद्धिका आँकडाले छुँदैनन् । त्यसमाथि हसिना सरकारले आफ्नो विरोधी आवाजहरूलाई कठोरतापूर्वक दबाउने गरेकाले मानिसहरूमा असन्तुष्टि थियो । अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाइएसँगै महंगीको मारबाट जनतालाई जोगाउन नसक्दा हसिना सरकारप्रति जनताको आक्रोश विस्फोट हुन पुगेको थियो ।
जनताको आक्रोश चुलिनुमा हसिनाको अल्पकालीन आर्थिक सोच जिम्मेवार देखिन्छ । तयारी कपडा निर्यात बाहेकको अर्थतन्त्रमा ध्यान नदिँदा हसिनालाई नयाँ रोजगारी सिर्जना गर्न गाह्रो भयो । नयाँ रोजगारी नहुँदाको स्थितिमा सरकारी रोजगारीमा निर्भर युवालाई आरक्षणको व्यवस्था तगारो बनेको थियो । त्यसमाथि त्यहाँको उच्च अदालतले आरक्षण व्यवस्था पुनर्बहाली गरिदिएपछि युवाहरू रिसाए । आन्दोलन चर्किंदै गएपछि सर्वोच्च अदालतले आरक्षण व्यवस्थामा कटौती गरे पनि निकै ढिलो भइसकेको थियो ।
हसिनाको सत्ताबाट बहिर्गमनमा माथि उल्लेख गरिएका आर्थिक कारणहरू त छँदैछन् । तर यसमा भूराजनीति पनि जोडिएको छ । यसको चर्चा पंक्तिकारले गरिसकेको छ ।
लघुवित्त क्रान्तिका जन्मदाता मोहम्मद युनुसलाई अब बंगलादेशको अर्थतन्त्र सुधार्ने, रोजगारी सिर्जना गर्ने र सामाजिक सद्भाव कायम राख्ने चुनौती छ । उनी यस चुनौतीमा खरो नउत्रिएमा जमात–ए–इस्लामी जस्ता कट्टरपन्थी समूहहरू हावी भएर बंगलादेशलाई अस्थिरता र असुरक्षाको भुमरीमा फँसाउनेछन् ।