गरिब देशलाई आर्थिक रुपमा समृद्ध बनाएकी शेख हसिना: ‘आइकन’ देखि पतनसम्म



एजेन्सी । पछिल्लो २० वर्षयता लगातार बंगलादेशको सत्ताको केन्द्रमा रहेकी ७६ वर्षीया शेख हसिनाको प्रधानमन्त्री पद त स्वत: गयो, उनको राजनीतिक विरासत पनि अन्त्य भयो । १९७१ मा पाकिस्तानबाट बंगलादेश अलग हुँदा स्वतन्त्रता आन्दोलनको नेतृत्व गरेका शेख मुजिबुर रहमानलाई बंगलादेशका संस्थापक अर्थात् राष्ट्रपिता पनि भनिन्छ ।

तिनै राष्ट्रपिता मुजिबुर रहमानको योगदान र निष्ठाको उच्च सम्मान गर्दै उनकी छोरी शेख हसिनालाई पनि बंगलादेशी जनताले राजनीतिमा उच्च स्थान दिएका थिए । यो १५ वर्षको अवधिमा उनले देशको अर्थतन्त्र केही हदसम्म उकास्ने काम पनि गरेकी थिइन् । तर पछिल्लो समय उनको भूमिका यस्तो भइदियो कि बंगलादेशी जनताहरुले उनलाई तानशाह भन्न थालिसकेका छन् । प्रदर्शन लम्बिँदै जाँदा उनीविरुद्ध नारावाजी हुन थालेको थियो, ‘वान, टु, थ्री, फोर, शेख हसिना इज अ डिक्टेटर’ ।

किन भाग्नुपर्‍यो शेख हसिना ?

शेख हसिना सोमबार राजीनामा दिनुअघि देशवासीका नाममा सम्बोध गर्न चाहन्थिन् । तर सोमबारसम्म आइपुग्दा अवस्था यति धेरै बिग्रिसकेको थियो कि प्रदर्शनकारीहरु शेख हसिनालाई सुन्न पनि तयार थिएनन् । प्रदर्शनकारीहरु उनको निवासमै प्रवेश गर्न थालेपछि सुरक्षा चुनौती झनै बढ्यो । र अन्तत: सम्बोधन गर्न नपाइकन हसिनालाई हेलिकप्टरमा लुकेरै भारततर्फ भाग्नुपर्ने अवस्था आयो ।

उनी किन भाग्नुपर्ने अवस्था आयो भनेर थाहा पाउनुअघि आइतबारको घटना र त्यसअघि उनले प्रदर्शनकारीहरुलाई दिएको प्रतिक्रिया बुझ्नुपर्ने हुन्छ । आइतबार मात्रै उनले प्रदर्शन दबाउन राज्यशक्तिको भरपुर प्रयोग गरिन् । एकै दिन ९० जनाभन्दा धेरै प्रदर्शनकारी मारिए । जुन आन्दोलनको अवधिभर एकै दिन सबैभन्दा धेरै हत्या भएको रेकर्ड थियो ।

त्यसो त, आइतबार त्यति ठूलो जनसागर उर्लिनुको पछाडि पनि शेख हसिनालाई नै जिम्मेवार मानिएको थियो । उनले संवादका लागि हात बढाउनुको सट्टा प्रदर्शनकारीहरुलाई आतंकवादीको संज्ञा दिइन् । त्यति मात्रै हैन उनले प्रदर्शनकारीहरुलाई ‘राजाकारका कार्यकर्ता’ भएको आरोपसमेत लगाइन् ।

जवकि राजाकार शब्द बंगलादेशमा अत्यन्त अपमानजनक र घृणाको गाली दिँदा प्रयोग गरिन्छ । जब पाकिस्तानबाट बंगलादेश स्वतन्त्र हुँदै गर्दा पाकिस्तानले बंगलादेशको स्वतन्त्रता आन्दोलन दबाउन प्रयोग गरेको अर्धसैन्य संगठनलाई राजाकार भनिन्छ । राजाकारले त्यसबेला बंगलादेशको आन्दोलन दबाउन युद्ध अपराध तथा थुप्रै गैरन्यायिक हत्या गरेको आरोप समेत लागेको थियो।

वास्तवमा बंगलादेशमा एक महिनदेखि आरक्षणको विरुद्धमा निरन्तर आन्दोलन गरिरहेका युवा विद्यार्थीहरुलाई देशको प्रधानमन्त्रीले गम्भीर आरोप लगाउँदा उनीहरु झनै आक्रोशित बनेका थिए ।

फलस्वरुप आइतबारको उनीहरुको आन्दोलन झनै उत्तेजित बन्यो । सरकारले पनि दबान अत्यधिक बल प्रयोग गर्‍यो । र आइतबार नै ठूल संख्यामा प्रदर्शनकारी मारिए । सोमबार भने प्रधानमन्त्रीको निवासमै घेराउ र तोडफोड हुनथाल्यो । यतिसम्म कि शेख हसिनाको प्रतिशोधले प्रदर्शनकारीहरुले शेख हसिनाका पिता तथा बंगलादेशका संस्थापक मुजिबुर रहमानको शालिक नै तोडफोड गर्न थाले ।

कसरी आएकी थिइन् सत्तामा हसिना ?

१९४७ मा पूर्वी बंगालको मुस्लिम परिवारमा उनको जन्म भएको थियो । उनका बावु शेख मुजिबुर रहमान स्वतन्त्र बंगलादेशको संस्थापक राष्ट्रपति थिए । १९७१ मा देशलाई पाकिस्ताबाट अलग बनाउने आन्दोलनमा प्रमुख भूमिका भएका कारण शेख मुजिबुर रहमानलाई पहिलो राष्ट्रपति बनाइएको थियो।

त्यसबेला शेख हसिना स्वयं ढाका युनिभर्सिटीमा विद्यार्थी नेताको रुपमा चिनिन थालेकी थिइन् । १९७५ मा सैन्य सत्तापलटको क्रममा मुजिबुर रहमान र उनको परिवारका अधिकांश सदस्यको हत्या भएको थियो ।

शेख हसिना र उनकी बहिनी भने त्यस घटनाको क्रममा विदेश भ्रमणमा रहेकाले उनीहरु बाँच्न सफल भएका थिए । त्यसपछिका वर्षहरु उनले भारतमा निर्वासित जीवन बिताइन् । १०८१ मा बंगलादेश फर्किइन् र पिताको विरासतमा टेकेर राजनीतमा सक्रिय भइन् । त्यसबेला उनले पिताको पार्टी अवामी लिगलाई फेरि सक्रिय बनाएर त्यसको नेतृत्व गरिन् ।

त्यसबेला जनरल हुसेन मुहम्मद इरसादको सैन्य शासनविरुद्ध उनको पार्टी अन्य पार्टीहरुसँग मिलेर सडक आन्दोलन गर्दै लोकतन्त्रको लागि लडेको थियो । र उक्त आन्दोलनले शेख हसिनालाई तत्कालै एक ‘आइकन’ बनाइदियो ।

१९९६ मा उनी निर्वाचित भएर पहिलो पटक सत्तामा पुगिन् । तर छोटो अवधिमै उनी भारतसँग जलसन्धि गर्ने क्रममा आलोचित र विवादित पनि बनिन् । फलस्वरुप २००१ मा आफ्नै राजनीतिक पूर्वसहयोगी रहेकी बेगम खलिदा जियासँग चुनाव हारिन् ।

यद्यपि बंगलादेशको अर्थतन्त्र पछिल्लो समय केही उकास्ने काम गरेको र पूर्वी क्षेत्रमा रहेका बंगलादेशका विद्रोही समूहसँग सम्झौता गरेको विषयलाई लिएर हसिनाको प्रसंशा पनि हुने गरेको थियो । र फेरि २००९ मा कार्यवाहक सरकारको निगरानीमा भएको चुनावबाट हसिना सत्तामा फर्किइन् । त्यसपछि उनी कहिल्यै बंगलादेशक संसद्‍को प्रतिपक्षी आसनमा बस्नुपरेको थिएन।

शेख हसिनाले देशका लागि के गरिन् ?

शेख हसिनाको शासनकालमा विशेषगरी २००९ पछि बंगलादेशले आर्थिक प्रगति गरेको छ । विश्वकै गरिब मुस्लिम बाहुल्य देशबाट दक्षिण एसियाली देशहरुमा अगाडि ल्याउन हसिनाको भूमिका रहेको थियो । हाल दक्षिण एसियाली क्षेत्रमा तीब्र रुपमा अर्थतन्त्र बढ्ने देशमा बंगलादेश हो ।

अब बंगलादेश यस क्षत्रमा सबैभन्दा तिव्र रुपमा बढेको अर्थव्यवस्था मध्ये एक हो । आर्थिक प्रगतिको मामलामा बंगलादेशले विशाल छिमेकी भारतभन्दा अघि बढेको छ । पछिल्लो एक दशकमा बंगलादेशको प्रतिव्यक्ति आम्दानी तीन गुणा वृद्धि भएको छ ।

विश्व बैंकका अनुसार पछिल्लो २ दशकमा बंगलादेशमा साढे २ करोड मानिस गरिबीबाट उकासिने अवस्थामा छन् । देशको अर्थतन्त्र बलियो हुनुमा यहाँको कपडा उद्योगलाई मानिन्छ । किनकि बंगलादेशमा कपडाको व्यापार राम्रो मानिन्छ । हाल यहाँ उत्पादित कपडा अमेरिका, युरोप र एसियाका बजारमा आपूर्ति हुने गरेको छ ।

यबीचमा हसिनाले विदेशीहरुको सहायतामा केही महत्वाकांक्षी विकास परियोजन सुरु गरेकी थिइन् । गत महिना मात्रै यसका लागि उनले चीनसँग सम्झौता गरेर फर्किएकी थिइन् ।

कसरी सुरु भयो आन्दोलन ?

हसिना सत्तामा आएपछि उनका लागि सबैभन्दा ठूलो संकट यही पछिल्लो प्रदर्शन नै हो । उनको पार्टी विवादित आम चुनावमा लगातार चौथोपटक विजयी बनेको थियो । त्यससँगै हसिनाविरुद्ध असन्तुष्टि बढेको थियो ।

केही महिनाअघि सुरुमा स्वतन्त्रता सेनानीका सन्तान तथा महिलाहरुका लागि वर्षौंदेखि सरकारी जागिरमा आरक्षण सिट दिइएकोमा विरोध हुन थालेको थियो ।

उक्त विरोध प्रदर्शन सुरुमा सानै थियो । सरकार पनि आन्दोलन दबाएरै जाने मनस्थितिमा थियो । केही दिनसम्म त चलिरहेकै थियो । तर सरकारले प्रहरीसहित ठूलो संख्यामा सुरक्षाकर्मी खटाएर प्रदनर्शन रोक्न लगायो। फलस्वरुप आफ्न माग र समस्या सरकारले नबुझ्दा उनीहरु थप आन्दोलित बने ।

बंगलादेशमा अब के हुन्छ ?

सोमबार शेख हसिना देश छोडेर भाग्ने तयारी गरिरहँदा सेनाले भने देशवासीका नाममा सम्बोधनको तयारी गरिरहेको थियो । सैन्य प्रमुख वाकर उज जमानले देशवासीका नाममा सम्बोधन गरे । जहाँ उनले प्रदर्शनकारीलाई केही समय धैर्य गरिदिन आह्वान गरका छन् । उनले हिंसात्मक प्रदर्शन रोक्न र केही समय धैर्य भएर बसिदिन आग्रह गरेका छन् ।

साथै प्रतिपक्षी दलहरुसँग छलफल गर्दै अन्तरिम सरकार गठनको तयारी भएको पनि उनले बताएका छन् । यद्यपि अन्तरिम सरकार कस्तो बनाउने भनेर कुनै स्पष्ट खाका सार्वजनिक भएको छैन ।

यसैबीच, सेनाले शासन व्यवस्था प्रत्यक्ष रुपमा आफैं चलाउँछ कि राजनीतिक दलहरुलाई हस्तन्तरण गर्दै आमनिर्वाचनको लागि वातावरण बनाउँछ भन्ने पनि अन्योल नै छ । जवकि मानिसहरुलाई आशंका के पनि छ भने विगतमा झैं सेनाले आफैं शासन सत्ता चलाउने पो हो कि ।

तर प्रदर्शनकारी विद्यार्थी अगुवाहरुले सैन्य शासन आफूहरुलाई स्वीकार्य नहुने बताएका छन् । सैन्य शासनले लोकतन्त्र सिद्धिने भन्दै उनीहरु सैन्य शासनको विपक्षमा छन्। यस्तै कतिपय स्वतन्त्र अधिकारकर्मी एवं राजनीतिक विश्लेशकहरुले धेरै समय संक्रमणकाल लम्ब्याउन नहुने भन्दै सेनाको नेतृत्वबाट राजनीतिक तहमा शासन हस्तान्तरण गरिनुपर्ने बताएका छन् ।

यससँगै बंगलादेशको सेनाले सत्ता हस्तान्तरण नगरेर दलहरुसँग सौदावाजी गर्न थाल्यो भने त्यो पाकिस्तानको जस्तै हुनसक्ने भन्दै चिन्ता पनि उठ्न थालेको छ । तर पछिल्लो महिना चलेको देशव्यापी आन्दोलनको म्यान्डेट भने जननिर्वाचित सरकार नै हो । र त्यो लोकतान्त्रिक हुनुपर्ने आधारभूत सर्त उनीहरुको छ ।

तर आम नागरिकहरुको हकमा हेर्ने हो भने बंगलादेशको सेना सामान्यतया अन्य देशका सेनाहरुको तुलनामा लोकप्रिय रहँदै आएको छ । अर्थात् यहाँका मानिसहरु सनाप्रति भरोसा र सम्मान गर्ने गर्छन् । यस्तैमा शेख हसनाले सत्ता छाडेर भागेपछि सत्ताको तालाचाबी पूरै सेनाको हातमा छ । र अहिले उत्पन्न भएको राजनीतिक संकट र रिक्ततालाई अब सैन्य प्रमुख जमानले कति वुद्धिमानी र कुशलतापूर्वक अवतरण गराउलान् भन्ने कुराले नै बंगलादेशको भविष्य पनि निर्धारण हुनेछ ।

सैन्य प्रमुख जमानले भने हप्तौंसम्म भएको प्रदर्शनमा भएका हत्याबारे अनुसन्धान गर्ने पनि जनाएका छन् । साथै उनले सबै पीडितलाई न्याय मिल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


क्लिकमान्डु