पार्टीको नीति विपरित मन्त्रीः सहकारीका बचतकर्ताले कहिले पाउलान् पैसा फिर्ता ?
काठमाडौं । यतिखेर संसदमा गृहमन्त्री रवि लामिछाने संलग्न गोरखा मिडियामा गैर कानुनी ढंगले विभिन्न सहकारीको पैसा लगानी भएको भन्दै संसदीय छानबीन समिति बन्नु पर्ने माग राख्दै नेपाली काँग्रेसले संसद अवरोध गरिरहेको छ । देशभरका धेरै सहकारीहरुले सहकारी सिद्धान्त विपरीत पहँचवालालाई गैरकानुनी ढंगले ऋण दिएर सर्वसाधारणको अर्बौै डुबेको छ ।
ती निरीह बचतकर्ताले आफनो पसिनाको कमाई फिर्ता पाउने हुन् कि होइनन् अझै थाहा छैन । काँग्रेसले सत्तापक्ष सहकारी ठगको पक्षपोषक भएको आरोप लगाउँदै गर्दा सत्तामा रहेको नेकपा एमालेले आफनो नीतिअनुरुप बचतकर्ताको हित गर्न नसकेको आरोप लाग्न थालेको छ ।
नेकपा एमालेले पार्टी सरकारमा नभएको बेला सहकारीका बचतकर्ताले पैसा पाउने वातावरण निर्माण सरकारले गर्नुपर्छ भनेर पत्रकार सम्मेलन नै गरेको थियो । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीचको सत्ता समिकरण टुटेपछि नेकपा एमाले फागुन २३ गते नयाँ समीकरण बनेसँगै दाहाल सरकारमा गएको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री बलराम अधिकारीलाई नेकपा एमालेले नै पुष्पकमल दाहालको नेतृत्वको सरकारमा पठाएको हो । तर, उनी पार्टीको नीति विपरित बोल्दै हिँडेका छन् ।
नेकपा एमालेको सहकारी विभागले फागुन ७ गते पत्रकार सम्मेलन गरेर नै बचतकर्ता ठग्ने सबै सहकारीलाई कारबाही गर्न माग गर्दै ३९ बुँदे धारणा समेत सार्वजनिक गरेको थियो । पार्टीको सहकारी विभाग प्रमुख खगराज अधिकारीले फागुन ७ गते पार्टीको तर्फबाट ३९ बुँदे धारणा सार्वजनिक गर्दै बचतकर्ता ठग्ने जुनसुकै सहकारीलाई पनि कानुनअनुसार कारबाही गरेर बचतकर्ताले पैसा पाउने वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरेका थिए ।
एमाले त्यतिबेला सरकारमा सहभागी भएको थिएन । तर, त्यतिबेला नै सयौ सहकारीले लाखौ बचतकर्ताको करिब खर्ब रुपैयाँ बचत ठगेको भन्दै आफनो बचत फिर्ताका लागि आमरण अनसन बसेका थिए । सहकारीका नाममा बचतकर्ताको बचत ठग्नेमा अधिकाश ठूला सहकारी एमाले निकट नेताहरुको रहेका छन् । इच्छाराज तामाङको सिभिल सहकारी, देवकुमार नेपालीको इमेज बचत तथा ऋण सहकारीदेखि केबी उप्रेतीको आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थालगायत धेरै सहकारी एमालेका नेताहरुका छन् ।
पार्टी समर्थित सबै नेताहरु सहकारीमा फस्ने भएपछी एमालेले उक्त समयमा तत्कालीन नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको सरकारलाई धम्क्याउन मात्र ३९ बुँदे धारण सार्वजनिक गरेको थियो । सहकारीका सवालमा त्यो पार्टीको आधिकारीक धारणा पनि हो ।
अहिले सहकारी मन्त्रालयमा एमालेकै नेता मन्त्री छन् । एमालेका मन्त्री अधिकारी पार्टी सरकारमा जानु भन्दा केही दिन अघी मात्रै दलले ल्याएको धारणा विपरित अघी बढेका छन् ।
‘बचतकर्ता ठग्ने जुनसुकै सहकारीलाई पनि सरकारले कारबाही गर्नुपर्नेमा सरकार आफै मुकदर्शन बनेर बस्दा कतै बचतकर्ता ठग्ने सहकारीलाई साथ दिएको त छैन भन्ने प्रश्न उठ्न थालेको छ,’ एमालेका सहकारी विभाग प्रमुख खगराज अधिकारीले फागुन ७ गते भनेका थिए, ‘सहकारीलाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाउन सरकारसँग आग्रह गर्छौ । समस्याग्रस्त सहकारीलाई सरकारले टेक ओभर गरेर बचतकर्ताले पैसा फिर्ता पाउने वातावरण बनाउनु पर्छ ।’
त्यसबेला जनताको बचतको रक्षाको दायित्व सरकारको भएको र सहकारीमा अहिले देखिएको समस्या यथाशिघ्र समाधान गर्न सबै तहका सरकारको ध्यानाकर्षण एमालेले गराएको थियो । तर, त्यसको केही दिनमा नै एमाले सरकारमा सहभागी भयो ।
पार्टीले बलराम अधिकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्रीको जिम्मेवारी दिएर पठायो । तर, मन्त्री अधिकारीले चैत्र २० गते राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको ६७औं राष्ट्रिय सहकारी दिवसका अवसरमा सरकारले मात्रै सहकारीको समस्या समाधान गर्न नसक्ने दाबी गरे ।
‘सहकारीभित्र देखिएका समस्या समाधान गर्न सरकारले मात्र सक्दैन,’ मन्त्री अधिकारीले भने, ‘सहकारी बिग्रिनुमा कहाँ–कहाँबाट त्रुटि भयो सबैले खोजौं ।’ मन्त्री अधिकारीको यो भनाइ एक पटकको मात्रै होइन । पटक पटक दोहोर्याउँदै आएका छन् ।
उनले आफ्नो त्यही भनाइ करिब एक महिनापछी पनि दोहोर्याए । वैशाख २५ गते गते नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले आयोजना गरेको दोस्रो लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा पनि मन्त्री अधिकारीले त्यही कुरा दोहोर्याए । ‘सहकारीमा आवद्धहरुले नै समाधान गर्ने हो, सरकारले सल्लाह दिने हो, यो बाटो जाउ भन्ने हो,’ उनले भने, ‘सरकारले समस्या समाधान गर्ने होइन ।’
फागुनमा पार्टीले आधिकारीक रुपमा सार्वजनिक गरेको धारणामा बचतकर्ता ठग्ने जुनसुकै सहकारीलाई पनि सरकारले कारबाही गर्ने, बचतकर्ताले पैसा पाउने वातावरण निर्माण गर्नु पर्ने माग रहेको थियो ।
पार्टीको नीति विपरित मन्त्री अधिकारी हिडेका हुन् कि पार्टीले आफनो नीति नै परिवर्तन गरेको हो, सहकारीमा आफनो बचत फसेका पीडितले प्रश्न सोध्न थालेका छन् । अहिले पनि बचतकर्ताको ठगीएको बचत फिर्ता गराउने मन्त्रीसँग कुनै योजना छैन । उनी पार्टीको अधिकारीक नीतिभन्दा बाहिर गएर बोल्दै हिँडेको आरोप छ ।
मन्त्री अधिकारीले नै सहकारीका समस्यामा सरकारले केही गर्न नसक्ने भन्दै हिँडेपछी बचतकर्ताले बचत कहिले फिर्ता पाउने भन्ने अन्यौल झन् बढेको छ । सहकारी आन्दोलन र सरकारपक्षबिच २ पटक सहमति भएपनि अहलेसम्म उनीहरुको माग पुरा हुन नसकेको मात्रै होइन कार्यान्वयन समेत हुन सकेको छैन ।
प्रधानमन्त्री दाहाल जेसुकै पनि गरिन्छ, सरकार छोडिन्न भन्दै सर्वसाधारणको पसिनाको बचत ठगी गर्नेलाई काखि च्यापेर सरकार चलाइ रहेका छन् । नेपाली काँग्रेसले आरोप लगाए झैं एकातिर प्रधानमन्त्री नै सहकारी ठगका पक्षमा उभिएका छन् भने अर्कोतिर नेकपा एमाले पनि सहकारी ठगको मतियार त होइन भन्ने प्रश्नको उत्तर अब मन्त्री अधिकारीले नभइ पार्टीले दिनु पर्ने स्थिती सिर्जना भएको छ ।