३ वटा सहकारीका बचतकर्ता एउटै समूहबाट ठगिए, यस्तो छ ‘रवि-जिबी’ र रास्वपा नेताको कनेक्सन



काठमाडौं । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, उपसभापति, सहमहामन्त्रीको पूरानै संलग्न देखिएको छ। रवि लामिछानेसँग निकट रहेकाहरुको एउटै समूहका सदस्यहरुले तीनवटा सहकारी गठी गरेको देखिएको छ ।

रास्वपाका नेताहरुलाई सहकारीबाट बचतकर्ताको बचत अपचलन गर्ने काममा सहयोग गर्न विभिन्न व्यक्तिले लामो समयदेखि सहयोग गर्दै आएको एक सरकारी प्रतिवेदनमा उल्लेख छ ।

रास्वपाका नेताहरुले सहकारीबाट लामो समयदेखि बचतकर्ताको बचत अपचलन गर्दै आएको विभिन्न तथ्यले प्रमाणित गर्दै गएको छ । कास्कीको पोखरा-४ नालामुखमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारीमा गितेन्द्र बहादुर राई (जीबी) अध्यक्ष रहेको र त्यो सहकरीको पैसा गोर्खा मिडिया नेतवर्कमार्फत ग्यालेक्सी फोर के टेलिभिजनमा लगानी भएको र रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेले समेत दुरुपयोग गरेको सार्वजनिक भएपछि अहिले यो विषयले सडकदेखि सनदसम्म हटकेक छ ।

सहकरी ठगीमा लामिछाने पत्नी निकिता पौडेल तत्कालीन समयमा उपाध्यक्ष रहेको साई स्वागत बचत तथा तथा ऋण सहकारी, लामिछानेका व्यवसायीक साझेदार जिबी राई पछिल्लो समय अध्यक्ष तथा रास्वपाका उपसभापति तथा श्रममन्त्री डोल प्रसाद (डीपी) अर्याल र सममहामन्त्री कविन्द्र बुर्लाकोटी सञ्चालक रहेको हाम्रो नयाँ कृषि सहकारी, जिबी राई अध्यक्ष भएको समयमा हाम्रो नयाँ कृषिमा उपाध्यक्ष रहेका लिलाबहादुर गुरुङ अहिले कल्याण उपकार सेभिङ एण्ड क्रेडिट को अपरेटिभका अध्यक्ष रहेका छन् ।

साथै साई स्वागत सहकारीका तत्कालीन लेखा समिति संयोजक तथा पछिल्लो समय सञ्चालक रहेका नुवाकोट पन्चकन्या गाँउपालिका-४ का रामहरी अधिकारी कल्याण उपकार सेभिङ एण्ड क्रेडिटमा अहिले प्रमुख कार्यकारी अधिकृत छन् ।

अधिकारीले साई स्वागतबाट बिनाधितो ५८ लाख ऋण लिएका छन् भने २ करोड २२ लाख १३ हजार ७३४ रुपैयाँ बिनोधितो ऋण आफैंले दिएको पाइएको छ । त्यो पैसा रास्वपाका नेता तथा गोरखा मिडिया नेटवर्कमा पनि पुगेको हुनसक्ने आँकलन गरिएको छ । निकित उपाध्यक्ष रहेका बेला साई स्वागत सहकारीका अध्यक्ष रहेका भरतजंगमका अनुसार अधिकारी रवि लामिछानेका निकटतम् पात्र हुन् ।

सहकारीको बचत अपचलनमा रास्वपा नेताहरुको संलग्नता अहिले सूर्यदर्शनका साथै साई स्वागत बचत तथा ऋण, हाम्रो नयाँ कृषि सहकारी हुँदै कल्याण उपकार सेभिङ एण्ड क्रेडिटसम्म पुगेको छ ।

साई स्वागतमा रास्वपाका सभापति लामिछाने पत्नी निकिता पौडेल उपाध्यक्ष थिइन् भने हाम्रो नयाँ कृषिमा रास्वपाका उपसभापति डिपी अर्यालय उपाध्यक्ष र सहमहामन्त्री बुर्लाकोटी सदस्य थिए । उनीहरु भएको समयमा नै सहकारीलाई मर्ज गर्न खोजिएको थियो ।

साई स्वागत र हाम्रो नयाँ कृषि सहकारीमा एकै व्यक्तिले दुईतिर रहेर काम गरेको पाइएको छ । अधिकारी भने साई स्वागत, हाम्रो नयाँ कृषि, कल्याण उपकारमा रहेको पाइएको छ ।

हाम्रो नयाँ कृषि सहकारीका तत्कालीन कोषाध्यक्ष जनक गौतम साई स्वागत सहकारीको लेखा समिति सदस्य बनेका छन् ।
हाम्रो नयाँ कृषि सहकारीका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामहरी अधिकारी साई स्वागत बचत तथा ऋण सहकरीको लेखा समितिको संयोजक थिए । उनी २०७९ माघ १४ गते बसेको साधारणसभा सञ्चालक समितिका सदस्यमा निर्वाचित पनि भए ।

तिनै अधिकारी कल्याण उपकार सेभिङ एण्ड क्रेडिट को अपरेटिभको वर्तमान सीईओ हुन् । अधिकारी सञ्चालक भएको बेला हाम्रो नयाँ कृषिमा उपाध्यक्ष रहेका लिलाबहादुर गुरुङ अहिले कल्याण उपकारमा अध्यक्ष छन् ।

सहकारी मर्ज

संस्थाको विधि विधान विपरित, साधारण सभाको म्यान्डेटबिनै साई स्वागत र हाम्रो नयाँ कृषि सहकारी संस्था मर्जर गर्न खोजिएको थियो ।

साई स्वागत सहकारीका पूर्वअध्यक्ष भरतमणि जंगम साधारण सभाको म्यान्डेटबिना हाम्रो नयाँ कृषि सहकारी संस्थासँग मर्जर गरेर संस्थाको विवरण गोलमाल गरि कम्प्युटर सफ्टवेयर सिस्टम डेटा अनधिकृतरुपमा प्रयोग गरेको दाबी गर्छन् ।

उक्त जानकारी पाएपछि सहकारी विभागमा २०८० साउन ३ गते सहकारी मर्ज गरेर विवरण गोलमाल गर्न खोज्नेलाई कारबाहीका लागि निवेदन दिएको जंगम बताउँछन् ।

यता साई स्वागत बचत तथा ऋण सहकारीका तत्कालीन कर्मचारी, हाल कल्याण उपकार सेभिङ एण्ड क्रेडिट को अपरेटिभकी कर्मचारी निशा थापाका अनुसार अधिकारी र संस्थाको सचिव तथा व्यवस्थापक शंकर उपाध्याय दाहालले २०७८ मंसिरमा साई स्वागत सहकारी हाम्रो नयाँ कृषि सहकारी संस्थासँग मर्ज (गाभिन) लागेको पुष्टी गरेकी छिन् ।

सहकारीको रकम खाने पचाउने हिसाबले उद्देश्य नै नमिल्ने, हाम्रो नयाँ कृषि सहकारी संस्थासँग साई स्वागत बचत तथा ऋण सहकारीलाई मर्जर गरी साई स्वागत बचत तथा ऋण सहकारी संस्थाको हिसाब कितावको विवरण गोलमाल पारिएको छ ।

संस्थाको मर्ज सहकारी संस्थासँग सञ्चालक समितिको निर्णय र साधारण सभाको म्यान्डेट विपतिर रहेको पाइएको छ । पछि मर्जर भने भाँडिएको छ ।

उक्त समयमा हाम्रो नयाँ कृषि सहकारीको अध्यक्षमा डिपी अर्याल र सञ्चालकमा कविन्द्र बुर्लाकोटी थिए भने रामहरी अधिकारी लेखा समितिमा थिए । यस्तै साई स्वागत बचत तथा ऋण सहकारीमा निकिता पौडेल उपाध्यक्ष थिइन् ।

२०७८ मंसिरपछि २०८० वैशाखसम्म साई स्वागत सहकारीको दैनिक काम कारबाही समेत हाम्रो नयाँ कृषि सहकारीको कार्यालय नक्सालबाट हुने गरेको थियो । अधिकारीले साई स्वागत सहकारीबाट आफूले लिएको र दिएको कर्जाको तमसुक पुरानो मिति राखेर हाम्रो कृषि सहकारीको कार्यालयमा बसेर बनाउने गरेको सहकारीका पुराना कर्मचारी बताउँछन् ।

साई स्वागत बचत तथा ऋण सहकारी संस्थामा २०७५ पुस २८ गतेदेखि २०७९ मंसिर ११ गतेसम्म अध्यक्ष भरतमणि जंगम, उपाध्यक्ष निकिता पौडेल थिए । त्यही समयमा रामहरि अधिकारी लेखा समितिका संयोजक रहेका थिए । उक्त समयमा जनक गौतम लेखा समितिका सदस्य थिए । २०७९ मंसिर १२ गतेपछि अधिकारी साई स्वागतको सहकारीको सञ्चालक रहेका छन् भने जनक गौतम लेखा समितिका सदस्य रहेका छन् । उनै गौतम हाम्रो नयाँ कृषि सहकारीमा २०७७ साउन २७ पछि २०७९ असोज २२ सम्म कोषाध्यक्ष रहेका थिए ।

हाम्रो नयाँ कृषि सहकारीमा २०७७ साउन २७ गतेको आठौ साधारणसभाबाट सूर्यबहादुर गुरुङ अध्यक्ष, डोल प्रसाद अर्याल उपाध्यक्ष, कविन्द्र बुर्लाकोटी सञ्चालक थिए भने २०७९ असोज २२ गतेको दशौं साधार सभाबाट गितेन्द्र बाबु राई अध्यक्ष, लिला बहादुर गुरुङ उपाध्यक्ष, रामहरी अधिकारी सञ्चालक बने ।

साई स्वागत बचत तथा ऋण सहकारी संस्थाको उपाध्यक्षमा निकिता पौडेल २०७५ पुस २८ गतेदेखि २०७९ मंसिर ११ गतेसम्म उपाध्यक्ष रहेको एक सरकारी अध्ययनले देखाएको छ । यद्यपी निकिताले भने २०७७ साल असोज ८ गते राजीनामा दिएको र उक्त राजीनामा २०८० असार ९ गते अर्थात तीन वर्षपछि मात्रै स्वीकृत भएको बताइएको छ । उपाध्यक्षले दिएको राजीनामा तीन वर्षसम्म किन स्वीकृत भएन ? शंकास्पद छ । तथापी काठमाडौं महानगरपालिकाको सहकारी विभागले गरेको अनुगमनका क्रममा उनले बुझाएको राजीनामा पत्र समेत भेटिएको छैन । महानगरले २०७९ चैत २१ गते संस्थामा अनुगमन गरेको थियो ।

उक्त सहकारीमा २०७९ मंसिर १२ गतेदेखि अहिलेसम्म सहकारीमा अध्यक्ष निम कुमारी सन्तेल रहेकी छिन् । साई स्वागत सहकारीले १२६ जना बचतकर्ताको बचत र सेयर रकम गरी ४ करोड ८६ लाख ६ हजार रहको छ ।

संस्थामा उपलब्ध विवरणअनुसार ऋण लगानी ४ करोड ३५ लाख रहेको छ । जसमा ४ करोड ९ लाख ४४ हजार ऋण बिनाधितो लगानी गरेको पाइएको छ ।

सहकारीबाट रामहरि अधिकारीले तमसुकको भरमा २०७५ बैशाख ७ गते ९० लाख, २०७५ जेठ ११ गते ७० लाख र २०७८ साल साउन १ गते ५८ लाख गरी २ करोड १८ लाख ऋण लिएका छन् ।

व्यक्तिगत ऋण शीर्षकमा ५८ लाखको मात्र हिसाब रहेको छ । सफ्टवेयर प्रणालीकै सब लेजर अन्तर्गत सामान्य ऋण शिर्षकमा व्याँज नजोडिने गरी ७८ लाख ६४ हजार ६ सय ६१ साथै जनरल लेजर अन्तर्गत सन्ड्री डेविटर्स शिर्षकमा ७ लाख ५८ हजार ५४९ रहेको छ ।

अधिकारीले तिर्नुपर्ने रकम २०७८ साउन १ गते लिएको व्यक्तिगत ऋण ५८ लाख, २०८० भदौ ३१ सम्मको व्याजसहित ८० लाख ७१ हजार ६७० रुपैयाँ, सब लेजर सामान्य ऋण ७८ लाख ६४ हजार, २०८० भदौ ३१ गतेसम्मको व्याजसहित १ करोड २८ लाख ९८ हजार ४४ रुपैयाँ र जनरल लेजर सन्ड्रि डेविटर्स शिर्षकको ७ लाख ५८ हजार ५४९ रुपैयाँ, २०८० भदौ ३१ गतेसम्मको व्याजसहित १२ लाख ४४ हजार २० रुपैयाँ गरी २ करोड २२ लाख १३ हजार ७३४ रुपैयाँ रहेको छ ।

अधिकारीले २०७७ साउन २७ गते श्री राधा स्वामी बचत तथा ऋण सहकारी संस्थाबाट ९५ लाख रुपैयाँ अन्तर सहकारी ऋण लिएको पाइएको छ ।

काठमाडौं महानगरपालिका-३ सल्लाघारी, बाँसबारीमा रहेको सहकारी संस्था अहिले काठमाडौंको बानेश्वरमा रहेको छ ।

रास्वपाका नेताहरु अहिले तथा पहिलो जोडिएका सहकारीमध्ये कल्याण उपकार सेभिङ एण्ड क्रेडिट को अपरेटिभले २९९ जना बचतकर्ताको ५८ करोड ७९ लाख ४९ १६८ रुपैयाँ ठगी गरेको छ ।

हाम्रो नयाँ कृषिका पूर्वउपाध्यक्ष तथा कल्याण उपकार सहकारीका अध्यक्ष लिलाबहादुर गुरुङ पक्राउ परेका छन् ।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीले १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ ठगी गरेका छन् । यसमा रास्वपाका सहमहामन्त्री विपिन कुमार आचार्य मुछिएका छन् । उनले सहकारीबाट प्रक्रिया पूरा नगरी १ करोड ५६ लाख १५ हजार रुपैयाँ अपचलन गरेको पाइएको छ । यस्तै उनको नोबडी प्रोडक्सन कम्पनीले ७५ लाख रुपैयाँ लिएको छ ।

यस्तै गृहमन्त्री लामिछानेले सुप्रिम सहकारीबाट प्रकृया पूरा नगरी २ करोड रुपैयाँ कर्जा लिएका छन् । अर्याल र बुर्लाकोटी संलग्न रहेको हाम्रो नयाँ कृषिले ५८ जनाको करिब ८ करोड रुपैयाँ ठगेको छ ।


क्लिकमान्डु