बचतकर्ताको पैसा बैंकको सेयर र श्रीमतीलाई हाउजिङको सेयर किन्नदेखि छोरीलाई अमेरिका पठाउनसम्म

सहकारीको अध्यक्ष र सीईओ बन्न डिभोर्स



काठमाडौं । कल्याण उपकार सेभिङ एण्ड क्रेडिट को‍-अपरेटिभका अध्यक्ष लिला बहादुर गुरुङले सहकारीका बचतकर्तालाई ठगेको रकम बैंकको संस्थापक सेयर किन्न, श्रीमतीलाई हाउजिङको सेयर किन्न देखि छोरीलाई पढ्न अमेरिका पठाउनसमेत प्रयोग गरेको पाइएको छ ।

सहकारी ठगीमा बचतकर्ताले उजुरी दिएपछि पक्राउ परेका सहकारीका अध्यक्ष गुरुङले सरकारी वकिलको कार्यालयमा दिएको बयानमा यी सबै बिषय स्वीकारेका हुन् ।

ओखलढुंगा सिद्धीचरण नगरपालिका-१२ हाल ललितपुर महानगरपालिका-४ बागडोल बस्ने सहकारीका अध्यक्ष ५२ बर्षका गुरुङले सहकारीबाट बचतकर्तालाई ठग्नकै लागी श्रीमतीसँग सम्बन्ध बिच्छेद समेत गरेका छन् ।

श्रीमान श्रीमती एकै समयमा एकै संस्थाको अध्यक्ष तथा सिईओ बन्न नपाउने भएपछि उनीहरुले कागजी डिभोर्स गरी संस्थामा श्रीमान गुरुङ कार्यकारी अध्यक्ष तथा श्रीमती नन्दा कुमारी बमजन सिईओ भएका थिए । बमजन २०६८ सालपछि २०७७ जेठ महिनासम्म सीईओ रहेकी थिइन् । कागजीरुपमा उनीहरुको सम्बन्ध बिच्छेद भएपनि सँगै ललितपुर महानगरपालिका-४ बागडोल बस्दै आएका थिए ।

श्रीमान लिला बहादुर गुरुङ सहकारी ठगीमा पक्राउ परेपछि सिन्धुली जिल्ला दुधौली नगरपालिका-४ पोखरे स्थायी घर भई ललितपुर महानगरपालिका-४ बागडोल बस्ने सहकारीको पूर्वसिईओ ४८ बर्षकी नन्दा कुमारी बम्जन अहिले फरार रहेकी छिन्। उनी कल्याण उपकार सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिको तत्कालीन जावलाखेल स्थित केन्द्रको शाखा प्रमुख तथा पुर्वसिईओ पनि हुन् ।

वयानमा कल्याण उपकार सहकारीका अध्यक्ष गुरुङले सहकारीबाट पैसा निकालेर कुमारी बैंकको प्रमोटर सेयर किनेको स्वीकारेका छन् ।

साथै उनले आफ्नो नाममा जग्गा खरिद गर्न पनि सहकारीको पैसा चलाएको बताएका छन् । उनले खाताबाट श्रीमती नन्दा कुमारी बम्जनको नाममा ७५ लाख ट्रान्सफर गरेको पनि स्वीकारेका छन् । त्यो पैसाले श्रीमतीले कञ्चन हाउजिङको सेयर खरिद गरेको र बाँकी रहेको रकम भक्तपुरको दधिकोटमा रहेको जग्गा खरिद गरेको बताएका छन् ।

गुरुङले आफु संस्थाको कार्यकारी अध्यक्ष हुँदा कर्जा असुली गर्दा बिभिन्न व्यक्तिहरुले आफ्नो खातामा र संस्थाको खातामा डिपोजिट गर्ने गरेको बयानका क्रममा जानकारी गराएका छन् । संस्थाको नाममा जम्मा भएको पैसा पनि आफ्नै नाममा जग्गा खरिद गरेको स्वीकारेका छन् ।

साथै उनले अमेरिकाको होलिन्स विश्वविद्यालयमा अध्ययनरत छोरीलाई वार्षिकरुपमा र पछि सेमेष्टर रुपमा ३०-३५ लाख रुपैयाँ पठाएको स्वीकार गरेका छन् । छोरीलाई पठाएको पैसा पनि सहकारीका बचतकर्ताको रहेको पाइएको छ ।

डिभिजन सहकारी कार्यालय ललितपुरमा दर्ता भएको सहकारी २०६२ सालबाट ललितपुर मानभवनस्थित कार्यालय खोली २०६४ माघ २ गतेबाट कल्याण सेभिङ एण्ड क्रेडिट लिबाट सञ्चालन भएको हो । २०७१ सालमा उपकार सेभिङ एण्ड क्रेडिटसंग एक आपसमा गाभिई संयुक्तरुपमा कल्याण उपकार सेभिङ एण्ड क्रेडिट गत कात्तिक १ गतेदेखि बन्द रहेको छ ।

अध्यक्ष गुरुङले बचतकर्तालाई आकर्षक ब्याज दिने, चाहेको बखत रकम झिक्न पाउने भनेर बचत संकलन गरेको र समयमा फिर्ता नदिएको स्वीकार गरेका छन् ।

ललितपुरको मानभवनमा रहेको यो सहकारीले २९९ जनाको ५८ करोड ७९ लाख ४९ हजार १६८ रुपैयाँ रकम ठगी गरेको छ । बचतकर्ताको रकम ठगीमा १४ जना संलग्न रहेको भन्दै प्रहरीमा जाहेरी परेको छ । जसमा १ जना पक्राउ परेका छन् भने अन्य फरार रहेका छन् । प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयले काठमाडौ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

सहकरीबाट बचतकर्ता ठग्नेहरुमा सहकारीका अध्यक्ष लिला बहादुर गुरुङका साथै रोशन मान वैद्य, राम कृष्ण जयखु श्रेष्ठ, मोहन कृष्ण गुरुङ, सदस्य चण्डिका श्रेष्ठ जोशी, मुंगा गुरुङ, सरिता महर्जन, लेखा संयोजक बिरेन्द्र कुमार बाटाजु , लेखा समितिका सदस्यहरु सुस्मिता बम्जन, किरणमान सिं छन् ।

त्यस्तै, सहकारीका तत्कालीन जावलाखेलस्थित केन्द्रको शाखा प्रमुख तथा पूर्वसिईओ नन्दा कुमारी बम्जन, हालको सिईओ रामहरी अधिकारी, ऋण शाखा प्रमुख कृष्ण नेपाल, ऋण अधिकृत प्रदिप तण्डुकार रहेका छन् ।

उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) मा निषेधित र उपदफा (२) मा परिभाषित ठगीको कसूरमा सोही संहिताको दफा २४९ को उपदफा (३) को देहाय खण्ड (ग) बमोजिम सजाय हुन मागदावी लिईएको छ।


क्लिकमान्डु