
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले क्यानडाबाट आयात हुने विभिन्न वस्तुहरूमा ५० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् ।
अमेरिकी प्रशासनका अनुसार, क्यानडाले अमेरिकामा निर्मित कार, मदिरा र दुग्धजन्य पदार्थहरूमा विभेदकारी व्यवहार गरेकाले त्यसको जवाफमा यो कडा कदम चालिएको हो । यस निर्णयले विश्वव्यापी व्यापार युद्धमा नयाँ मोर्चा खोलेको संकेत गरेको छ । यसले दुई छिमेकी मुलुकबीचको आर्थिक सम्बन्धमा तनाव थपेको छ ।
मदिरादेखि सिमेन्ट र आइस हकीका सामानहरूमा लगाइएको यो कर वृद्धिका लागि ट्रम्पले सन् १९३० को ट्यारिफ एक्टको धारा ३३८ प्रयोग गरेका छन् । यस कानुनले अमेरिकी वस्तुहरूमा विभेद गर्ने व्यापारिक साझेदारहरूका विरुद्ध ५० प्रतिशतसम्म दण्डात्मक भन्सार लगाउने अधिकार राष्ट्रपतिलाई दिन्छ ।
झण्डै एक शताब्दीको इतिहासमा यो कानुन पहिलोपटक प्रयोगमा ल्याइएको हो । आगामी ३० दिनभित्र लागू हुने यस नयाँ व्यवस्थाले फर्निचर, लुगाफाटा, बीउबिजन, पौडी पोखरीका सामग्री र विग (नक्कली कपाल) लगायतका दर्जनौं वस्तुहरूलाई समेट्नेछ ।
अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले एक विज्ञप्ति जारी गर्दै क्यानडाले अन्य साझेदार र सहयोगीहरूको तुलनामा अमेरिकाको व्यापार सन्तुलन कायम गर्ने प्रयासमा अवरोध पुर्याएको र अमेरिकी उद्योगहरूका विरुद्ध प्रतिशोधात्मक कदम चालेको आरोप लगाएका छन् ।
अर्कोतर्फ, क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले आफ्नो सरकारले व्यापार विवाद सुल्झाउन व्यापक प्रस्तावहरू पेश गरेको दाबी गर्दै ट्रम्पको यो कदमले उत्तर अमेरिकी व्यापार सम्झौता (यूएसएमसीए) को उल्लंघन गरेको बताएका छन् । कार्नीले यो व्यापार विवादले विशेषगरी अमेरिकी परिवारहरूको लागत बढाएको र क्यानडा आपसी हितका लागि विवाद समाधान गर्न सधैं तयार रहेको उल्लेख गरेका छन् ।
सन् १९३० को यो कानुनले विशेषगरी सन् १९३० को दशकको ग्रेट डिप्रेसन (महामन्दी) लाई झनै खराब बनाएको भन्दै आर्थिक इतिहासकारहरूले आलोचना गर्ने गर्छन् । धारा ३३८ को मुख्य उद्देश्य देशहरूले अमेरिकी निर्यातलाई नोक्सान पुर्याउने गरी विभेद नगरून् भन्ने सुनिश्चित गर्नु हो ।
पूर्व व्यापार अधिकारी जोन भेरोनोका अनुसार, विगतमा फ्य्रांकलिन डी. रुजबेल्ट लगायतका राष्ट्रपतिहरूले यसको प्रयोगबारे विचार गरे पनि ट्रम्पअघि कसैले पनि यसलाई व्यवहारमा उतारेका थिएनन् । विज्ञहरूले यसको प्रयोगलाई विडम्बनापूर्ण र अन्तर्राष्ट्रिय व्यापारिक नियमहरूको भावना विपरीत भएको टिप्पणी गरेका छन् ।
आगामी अगस्ट १९ देखि लागू हुने यो नयाँ शुल्क ऊर्जा, पोटास, माछा र महत्त्वपूर्ण खनिज बाहेकका अन्य सामग्रीहरूमा समान रूपमा लागू हुनेछ । ह्वाइट हाउसले क्यानडाको दुग्ध आपूर्ति व्यवस्थापन प्रणालीलाई संरक्षणवादीको संज्ञा दिँदै अमेरिकी कारहरूमाथि लगाइएको कोटा र करको तीव्र आलोचना गरेको छ ।
तथ्यांक अनुसार गत वर्ष क्यानडामा अमेरिकी सवारीसाधनको आयात २२ प्रतिशतले र मदिराको आयात ८१ प्रतिशतले घटेको छ । मदिरा बिक्रीमा लगाइएको प्रतिबन्ध मुख्यतया क्यानडाका प्रान्तीय सरकारहरूको क्षेत्राधिकारभित्र पर्ने भएकाले प्रधानमन्त्री कार्नीलाई यो समस्या तत्काल समाधान गर्न कानुनी चुनौती हुन सक्ने देखिएको छ ।





प्रतिक्रिया