प्रधानमन्त्री र मन्त्रीहरु राजनीतिक दल र नेतृत्वप्रति उत्तरदायी हुनुपर्छ: अर्थमन्त्री वाग्ले

0
Shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री र मन्त्रीहरु राजनीतिक दल र नेतृत्वप्रति उत्तरदायी हुनुपर्ने बताएका छन्।

आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन योजनाका सम्बन्धमा सबै मन्त्रालयका सचिवहरूसँगको छलफलमा बोल्दै अर्थमन्त्री डा. वाग्लेले प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीहरूसम्म सबै नेपाली जनता, राजनीतिक दल र सम्बन्धित नेतृत्वप्रति उत्तरदायी हुनुपर्ने बताए ।

सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणका सवालमा सरकारले ‘शून्य सहनशीलता’को नीति सरकारले अंगिकार गरेको उनको भनाइ छ ।

राज्य सञ्चालनमा जवाफदेहिता र पारदर्शिता अनिवार्य रहेको उनको भनाइ छ ।

अर्थमन्त्री डा. वाग्लेले मुलुकमा सुशासनको स्पष्ट सोच अघि सारिएको र यसमा कुनैपनि प्रकारको सम्झौता नगरिने स्पष्ट पारे।

विगतका विकृति र विसङ्गतिहरूलाई त्याग्दै कर्मचारीतन्त्रमा सुधार ल्याउनुपर्नेमा उनले जोड दिए । अर्थमन्त्री डा. वाग्लेले कर्मचारीहरूको कार्यक्षमता र सामथ्र्यका आधारमा उनीहरूलाई थप प्रोत्साहित गर्ने सरकारको योजना रहेको समेत जानकारी दिए ।

बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन र शासकीय सुधारका लक्ष्यहरू हासिल गर्न सबै मन्त्रालयका सचिवहरूलाई निर्देशन दिँदै उनले राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र दुवैले आ–आफ्नो जिम्मेवारी र नैतिकतालाई केन्द्रमा राख्नुपर्ने बताए ।