बचतकर्ता ठगेर बैंकको सेयर, हाउजिङमा लगानी गर्ने कल्याण उपकार सहकारीका अध्यक्ष गुरुङलाई थुनामा राख्न आदेश



काठमाडौं । ललितपुर जिल्ला अदालतले कल्याण उपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लिलाबहादुर गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

ललितपुर जिल्ला अदालतका न्यायाधीश धनिश्वर पौडेलको एकल इजलासले आज (सोमबार) गुरुङसहित १४ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

ललितपुरमा रहेको कल्याण उपकार सेभिङ एण्ड क्रेडिट को–अपरेटिभले २९९ जनाको ५८ करोड ७९ लाख ४९ हजार १६८ रुपैयाँ रकम ठगी गरेको छ ।

बचतकर्ताको उक्त रकम ठगी गरेको भन्दै सहकारीका अध्यक्ष, सञ्चालक, लेखा समितिका सदस्य, पूर्व सीईओसहित १४ जना संलग्न रहेको भन्दै प्रहरीमा जाहेरी परेको छ । जसमध्ये अध्यक्ष पक्राउ परेका छन् भने अन्य फरार रहेका छन् ।

सहकारीका अध्यक्ष गुरुङको श्रीमती तथा पूर्व सीईओ नन्दा कुमारी बम्जन सहित १३ जना अहिले फरार रहेका छन् ।

बचतकर्ता ठगेर फरार हुनेमा सहकारीका पूर्व सीईओ बम्जनसहित सञ्चालक रोशन मान वैद्य, राम कृष्ण जयखु श्रेष्ठ, मोहन कृष्ण गुरुङ, चण्डिका श्रेष्ठ जोशी, मुंगा गुरुङ, सरिता महर्जन, लेखा संयोजक बिरेन्द्र कुमार बाटाजु , लेखा समितिका सदस्यहरु सुस्मिता बम्जन, किरणमान सिं छन् ।

त्यस्तै, सहकारीका तत्कालीन जावलाखेलस्थित केन्द्रको शाखा प्रमुख तथा पूर्वसिईओ नन्दा कुमारी बम्जन, हालको सिईओ रामहरी अधिकारी, ऋण शाखा प्रमुख कृष्ण नेपाल, ऋण अधिकृत प्रदिप तण्डुकार रहेका छन् ।

यो मुद्दामा २९९ जना जाहेरवालाहरुको जाहेरी दरखास्तमा उल्लेखित ठगी भएको रकम र बिगो मुलुकी अपराध संहिता,२०७४ को दफा २५४ बमोजिम प्रतिवादीहरुवाट जाहेरवालाहरुलाई दिलाई भराई पाउन समेतको मागदावी लिइएको छ ।

कल्याण उपकार सेभिङ एण्ड क्रेडिट कोअपरेटिभका अध्यक्ष लिला बहादुर गुरुङ, रोशन मान वैद्य, राम कृष्ण जयखु श्रेष्ठ, मोहन कृष्ण गुरुङ, सदस्य चण्डिका श्रेष्ठ जोशी, मुंगा गुरुङ, सरिता महर्जन, लेखा संयोजक बिरेन्द्र कुमार बाटाजु , लेखा समितिका सदस्यहरु सुस्मिता बम्जन, किरणमान सिं, त्यस्तै कल्याण उपकार सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि को तत्कालीन जावलाखेल स्थित केन्द्रको शाखा प्रमुख तथा पुर्व सिईओ नन्दा कुमारी बम्जन, हालको सिईओ रामहरी अधिकारी, ऋण शाखा प्रमुख कृष्ण नेपाल, ऋण अधिकृत प्रदिप तण्डुकारलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा ९१० मा निषेधित र उपदफा ९२० मा परिभाषित ठगीको कसूरमा सोही संहिताको दफा २४९ को उपदफा ९३० को देहाय खण्ड ९ग० बमोजिम सजाय हुन माग दाबी लिइएको छ ।

सहकारीले आकर्षक ब्याज, सुविधा समेतको प्रलोभनमा पारी, बचतकर्ताहरुको रकम फिर्ता नगरी ठगी गरेको उजुरीमा उल्लेख गरिएको छ ।

अध्यक्ष गुरुङले सहकारीका बचतकर्ताको पैसाले बैंकको संस्थापक सेयर किनेको, श्रीमतीलाई हाउजिङको सेयर किनिदिएको, छोरीलाई पढ्न अमेरिका पठाउनसमेत प्रयोग गरेको पाइएको छ ।

सहकारी ठगीमा बचतकर्ताले उजुरी दिएपछि पक्राउ परेका सहकारीका अध्यक्ष गुरुङले सरकारी वकिलको कार्यालयमा दिएको बयानमा यी सबै बिषय स्वीकारेका हुन् ।

ओखलढुंगा सिद्धीचरण नगरपालिका-१२ हाल ललितपुर महानगरपालिका-४ बागडोल बस्ने सहकारीका अध्यक्ष ५२ बर्षका गुरुङले सहकारीबाट बचतकर्तालाई ठग्नकै लागी श्रीमतीसँग सम्बन्ध बिच्छेद समेत गरेका छन् ।

वयानमा कल्याण उपकार सहकारीका अध्यक्ष गुरुङले सहकारीबाट पैसा निकालेर कुमारी बैंकको प्रमोटर सेयर किनेको स्वीकारेका छन् ।

साथै उनले आफ्नो नाममा जग्गा खरिद गर्न पनि सहकारीको पैसा चलाएको बताएका छन् । उनले खाताबाट श्रीमती नन्दा कुमारी बम्जनको नाममा ७५ लाख ट्रान्सफर गरेको पनि स्वीकारेका छन् । त्यो पैसाले श्रीमतीले कञ्चन हाउजिङको सेयर खरिद गरेको र बाँकी रहेको रकम भक्तपुरको दधिकोटमा रहेको जग्गा खरिद गरेको बताएका छन् । छोरीलाई पढन अमेरिका पठाउँदा ३०-३५ लाख रुपैयाँ पैसा खर्च गरेको जनाएका छन् ।

श्रीमान श्रीमती एकै समयमा एकै संस्थाको अध्यक्ष तथा सिईओ बन्न नपाउने भएपछि उनीहरुले कागजी डिभोर्स गरी संस्थामा श्रीमान गुरुङ कार्यकारी अध्यक्ष तथा श्रीमती नन्दा कुमारी बमजन सिईओ भएका थिए । बमजन २०६८ सालपछि २०७७ जेठ महिनासम्म सीईओ रहेकी थिइन् । कागजीरुपमा उनीहरुको सम्बन्ध बिच्छेद भएपनि सँगै ललितपुर महानगरपालिका-४ बागडोल बस्दै आएका थिए ।


क्लिकमान्डु