रविका ‘विश्वासपात्र’ श्रममन्त्री डिपी अर्याल र सहमहामन्त्री बुर्लाकोटी पनि सहकारी ठगीमा संलग्न

यस्तो छ जिबी राईसँगको साँठगाँठ



काठमाडौं । सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका विश्वासपात्र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्याल र कबिन्द्र बुर्लाकोटी सहकारी ठगीमा मुछिएका छन् ।

श्रममन्त्री अर्याल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति हुन् भने बुर्लाकोटी सह-महामन्त्री हुन् । उनीहरु दुबै सभापति लामिछानेका प्रियपात्र हुन् ।

अर्याल र बुर्लाकोटीले ‘हाम्रो नयाँ कृषि सहकारी संस्था’को सञ्चालनका क्रममा बचतकर्ता ठगी गरेको पाइएको हो ।

२०७९ मंसिरमा भएको आम निर्वाचनबाट सुशासनको नारा दिएर नयाँ दलका रुपमा उदाएको रास्वपाका सभापतिसहित पदाधिकारीहरु एकपछि अर्को गर्दै सहकारीमा जम्मा भएको बचत अपचलनको घटनामा संलग्न भएको पाइएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले माघ ११ गते ‘हाम्रो नयाँ कृषि सहकारी संस्था’लाई समस्याग्रस्त घोषणा गरेको थियो । मन्त्रालयले सहकारीलाई समस्याग्रस्त घोषणा गरेर सहकारी व्यवस्थापन समितिको कार्यालयमा पठाएको छ ।

श्रममन्त्री अर्याल हाम्रो नयाँ कृषि सहकारी संस्थाका उपाध्यक्ष र बुर्लाकोटी सञ्चालक थिए ।

बुर्लाकोटी प्रतिनिधि सभा निर्वाचनमा रास्वपाबाट गोरखा क्षेत्र नम्बर २ मा उम्मेद्वार रहेका थिए ।

सहकारी विभागको सिफारिसमा माघ १२ गते समस्याग्रस्त घोषणा भएको सहकारीमा पछिल्लो एक वर्षदेखि गितेन्द्र बाबु (जीबी) राई अध्यक्ष छन् । जीबी राई र रवि लामिछाने मिलेर ग्यालेक्सी टेलिभिजन खोलेका थिए ।

हाम्रो नयाँ कृषि सहकारीले ३४ जना बचतकर्ताको ४ करोड ९२ लाख रुपैयाँ बचत फिर्ता नगरेको कार्यालयले जनाएको छ ।संस्थालाई सरकारले समस्याग्रस्त घोषणा गरेर समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा पठाएपछि कार्यालयले सहकारीका बचतकर्तालाई ३५ दिनभित्र मागदाबी गर्न सूचना जारी गरिसकेको छ ।

काठमाडौंको बालुवाटारमा रहेको सहकारीले २०७७ साल साउन २७ गते साधारणसभा गरेको थियो। सभाले ४ वर्षका लागि सूर्यबहादुर गुरुङको अध्यक्षतामा नयाँ सञ्चालक चयन गर्यो । उपाध्यक्षमा वर्तमान श्रममन्त्री डीपी अर्याल, सचिव उत्तम अधिकारी, कोषाध्यक्ष जनक गौतम रहेका थिए । यस्तै सञ्चालक सदस्यमा कृष्णकुमार न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका अहिलेका सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी र शर्मिला तामाङ रहेका थिए ।

४ वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको भए पनि कार्यकाल नसकी २०७९ साल असोज २२ गते साधारणसभा बोलाउन लगाएर अर्याल, बुर्लाकोटीको सक्रियतामा सहकारीको अध्यक्ष राईलाई चयन गरिएको थियो ।

‘त्यो समय राई देशभर कार्यक्षेत्र भएको सहकारीको खोजिमा थिए । अर्याल, बुर्लाकोटीले सहयोग गरेर दबाब वा प्रभावमा राईलाई अध्यक्ष बनाएका थिए,’ सहकारीका एक सञ्चालक भन्छन्- ‘अर्याल र बुर्लाकोटीहरुको सहयोगमा राईलाई संस्था जिम्मा लगाइयो । साँठगाँठ यसरी रविसँगै रहेछ भन्ने त पछिमात्रै थाहा भयो ।’

अर्याल र बुर्लाकोटीको सक्रियतामा चयन भएको राईको अध्यक्षतामा नयाँ कार्यसमितिमा उपाध्यक्ष लिलाबहादुर गुरुङ, सचिवमा ओमप्रकाश गुरुङ, कोषाध्यक्षमा नवीन अछामी र सञ्चालक सदस्यहरुमा रामहरी अधिकारी, असरफ अलि सिद्धिडी र दुर्गा चापागाई पाण्डे रहेका छन् ।

उनीहरुको चयन कानूनी रुपमा गलत देखिएको छ । चार वर्षका लागि सुर्य गुरुङको अध्यक्षतमा गठन भएको सञ्चालक समितिको कार्यकाल ४ वर्ष रहेको थियो । तर, बीचमै गुरुङलाई हटाएर राईको अध्यक्षतामा संस्था संस्था कब्जा गरिएको ती सञ्चालकले जानकारी दिए ।

राईले किर्ते साधारणसभा गरेर संस्था कब्जा गरेपछि सभा सकिएको ६ महिनापछि सहकारीका बचतकर्ताहरुले सहकारी विभागमा उजुरी दिएका थिए । बचतकर्ताहरुले उजुरी दिएपछि विभागले सहकारीका पुराना र नयाँ सञ्चालकलाई बोलाएर छलफल गरेको थियो । छलफलका क्रममा राई एकपटक उपस्थित भएका थिए । त्यो समयमा बचतकर्ताको बचत फिर्ता गर्ने भनेपनि अलिहेसम्म पाएका छैनन् ।

अध्यक्ष राईले सहकारीबाट ६ लाख रुपैयाँको सेयर किनेका छन् । अहिले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीबी राई फरारको सूचीमा छन् । यद्यपी गृहमन्त्री लामिछानेले भने ढिलो चाँडो राईलाई पक्राउ गर्ने आश्वासन दिइसकेका छन् । राईले उक्त समयमा संस्थालाई अन्य सहकारीसँग मर्जर गर्न खोजेका थिए । तर, केही सहकारीसँग छलफल गरेको भएपनि त्यो भने सफल हुन नसकेको पूर्वसञ्चालकहरुको भनाइ छ ।

देशभर कार्यक्षेत्र भएको हाम्रो नयाँ कृषि सहकारीको नाममा बर्दियामा १२ कठ्ठा जग्गा र उक्त जग्गामा १ करोड लागतमा संरचना बनेको छ । त्यो संरचनामा सहकारीले बंगुर पालन गर्ने लगायत कृषि कार्य गर्ने योजना बनाएको पुराना सञ्चालकको भनाइ छ ।

मन्त्रालयले संस्थालाई समस्याग्रस्त घोषणा गरेको पत्र कार्यालयमा पठाएपछि कार्यालयले संस्थाबाट कागजपत्र संकलन गरिसकेको छ । संस्थामा जाँदा कागजपत्र भेटिएको भए पनि सहकारीका सदस्यको तथ्यांक भएको राखेको सफ्टवेयर लुकाइएको छ ।

कार्यालयका अनुसार सहकारीमा जादाँ सिस्टममा डेटा नभेटिएपछि सफ्टवेयर निर्माता कम्पनीसँग सम्पर्क गरेर डेटा मगाउने तयारी भइरहेको छ ।

‘अर्याल र बुर्लाकोटीजी सभापतिज्यूका राइट ह्याण्ड हुन्,’ रास्वपाकै एक केन्द्रिय सदस्यले क्लिकमान्डुसँग भने, ‘उहाँहरुको जालो यस्तो रहेछ, हामीलाई त थाहै थिएन ।’

उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा अध्यक्ष रवि लामिछाने पनि सूर्यदर्शन सहकारी ठगीमा संलग्न रहेको आरोप लागेको छ । प्रतिपक्षी नेपाली कांग्रेसले लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग निरन्तर उठाइरहेको छ।


सोभित थपलिया