एभरेष्ट बैंकले राष्ट्र बैंकमा किन बुझाएन मर्जरको प्रतिवद्धता ?



काठमाडौं । अधिकांश बैंकले राष्ट्र बैंकसमक्ष मर्जरको लिखित प्रतिवद्धता र मर्जर बारे आफ्नो धारणा बुझाइसकेका छन् । एभरेष्ट बैंकले भने अहिलेसम्म राष्ट्र बैंकमा मर्जरको प्रतिवद्धता बुझाएको छैन ।

आजभन्दा १० वर्षअघि नै मर्जरमा जानका लागि छलफल थालेको एभरेष्ट बैंकले किन राष्ट्र बैंकमा लिखित प्रतिवद्धता बुझाएन ? किन गभर्नर डा. चिरञ्जीबी नेपालको निर्देशनको रेस्पोन्स गरेन ? भनेर हामीले राष्ट्र बैंकका अधिकारीहरु र एभरेष्ट बैंकका अधिकारीहरुलाई सोधेका थियौं ।

मर्जरमा एभरेष्ट बैंकलाई कसैले पत्यानन्, छबी नै खराब

राष्ट्र बैंकका अधिकारीहरुसँग एभरेष्ट बैंकका अधिकारीहरुलाई विदेशी साझेदारसँग छलफल भइरहेको जानकारी गराएका रहेछन् ।

‘एभरेष्ट बैंकका साथीहरु आएर हामी विदेशी साझेदार पञ्जाब नेशनल बैंकसँग छलफल गरिरहेका छौं, त्यसैले अहिले प्रतिवद्धता बुझाउन नसकेका हौं, जतिसक्दो चाँडो राष्ट्र बैंकको निर्देशनको रेस्पोन्स गर्छौं भन्नुभएको छ,’ राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले क्लिकमाण्डूसँग भने, ‘हामीलाई विश्वास छ, मौद्रिक नीतिअघि एभरेष्ट बैंकको पनि प्रतिवद्धता आउँछ ।’

जब राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठसँग रिसले चुर भए…

हामीले यसै विषयमा जानकारी लिन एभरेष्ट बैंकका एक सञ्चालकलाई सोधेका थियौं । ती सञ्चालकले आफ्नो नाम उल्लेख नगरिदन आग्रह गरे ।

‘पञ्जाब नेशनल बैंकसँग छलफल भइरहेका छ, उसले निर्णय दिइसकेको छैन, त्यसैले हामीले अहिलेसम्म राष्ट्र बैंकमा मर्जरको लिखित प्रतिवद्धता बुझाउन नसकेका हौं,’ ती सञ्चालकले भने, ‘बैंकका अध्यक्ष (बिके श्रेष्ठ) हाबी हुनुहुन्छ, उहाँले सिरियस्ली छलफल नै गनुभएको छैन ।’

हामीले बैंकका सूचना अधिकारीसमेत रहेका अस्टिेन्ट जनरल म्यानेजर केशबराज पौलेडलाई पटक पटक सम्पर्क गर्ने प्रयास गर्यौंै । उनी सम्पर्कमा आउन चाहेनन् ।

गभर्नरलाई ढाँटेर एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठ सम्पर्कबिहिन, भाँडियाे मर्जर

मर्जर र एभरेष्ट बैंकको रोचक इतिहास भएकाले हामीले एभरेष्ट बैंकले के गरिरहेको छ भने बढी चासोका साथ हेरेका थियौं । र, हेरिरहने छौं ।

राष्ट्र बैंकले असार २७ गते मौद्रिक नीति ल्याउने भनेको थियो । तर, अर्थसचिव विदेश गएको र अन्य प्राविधि कारण देखाउँदै साउन १० गतेभित्र ल्याउने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

बैंकका अध्यक्ष र सीइओलाई गभर्नरको निर्देशनः मौद्रिक नीतिअघि नै मर्जरको प्रतिवद्धता पेश गर्नू

२० वटा बैंकले राष्ट्र बैंकसमक्ष मर्जरको प्रतिवद्धता र आफ्नो धारणा बुझाइसकेका छन् भने ३ वटा बैंकले समझदारी गरिसकेका छन् । यसो गर्दा २३ वटा बैंकले राष्ट्र बैंकको निर्देशनअनुसार काम गरे । एभरेष्ट र नविल बैंकसहित ३ वटा सरकारी लगानीका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकले पनि राष्ट्र बैंकमा लिखित प्रतिवद्धता बुझाएका छैनन् ।

एभरेष्ट बैंकको खराब इमेज

नेपालको इतिहासमा एभरेष्ट मात्रै एउटा यस्तो बैंक हो- जो मर्जरमा पूर्णतः असफल सावित भइसकेको छ । मर्जरको हल्ला चलाएर सेयर बजारबाट एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठ र अन्य ठूला लगानीकर्ताले मालामाल कमाएको आरोप पनि लाग्ने गरेको छ ।

बैंकरलाई गभर्नरले भने- लभ गर्ने समय अब धेरै छैन, मौद्रिक नीतिपछि त बिहे गर्नुपर्छ

पछिल्लो समय लक्ष्मी बैंकसँग मर्जरको हल्ला चलाएर सेयर बजारमा चलखेल गरी मोटो रकम कमाएको निष्कर्श निकाल्दै राष्ट्र बैंकका गभर्नर लगायत उच्च अधिकारीहरुले एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठलाई लिखित प्रतिवद्धता राष्ट्र बैंकमा पेश गर्न निर्देशन दिएका थिए ।

‘हुन्छ २/४ दिनमै पेश गर्छु’ भन्दै राष्ट्र बैंकबाट निस्किएका श्रेष्ठ लामो समय राष्ट्र बैंकको सम्पर्कभन्दा बाहिर बसे । श्रेष्ठले आफूलाई टाँढेको भन्दै राष्ट्र बैंकका गभर्नर डा. नेपालले चित्त दुखाएको गभर्नर निकट स्रोतहरु बताउँछन् ।

राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई झुक्याएको, ढाँटेको भनेर एभरेष्ट बैंकको इमेज खराब बनेको छ ।

कसैले पत्याएनन्

गत असार १२ गते राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले बैंकका अध्यक्ष र सीइओलाई बोलाएर मौद्रिक नीतिअघि नै मर्जरको लिखित प्रतिवद्धता पेश गर्न निर्देशन दिएका थिए । त्यसपछि एभरेष्ट बैंकले पनि केही बैंकसँग छलफल गर्न खोज्यो । तर, एभरेष्टको प्रस्तावलाई बैंकहरुले रेस्पोन्स गरेनन् ।

स्वाप रेसियोमा एभरेष्ट र लक्ष्मी बैंकको आ-आफ्नै अडान, सफल होला त मर्जर ?

‘एभरेष्ट बैंकले मर्जरको छलफल गरौं भनेर प्रस्ताव गरेको थियो, उहाँहरुसँग काम गर्न सकिन्छ जस्तो लागेन र हामीले रेस्पोन्स नै गरेनौं,’ एक वाणिज्य बैंकका सञ्चालकले क्लिकमाण्डूसँग भने, ‘बिकेजीको नियत मर्ज गर्ने भन्दा पनि मर्जरको हल्ला गरेर सेयर बजारबाट पैसा कमाउने देखियो ।’

असफल इतिहास

नेपालमा मर्जरसम्बन्धी नीति आउनुभन्दा पहिला एभरेष्ट र इन्भेष्टमेन्ट बैंकबीच मर्ज हुने विषयमा केही छलफल चलेको थियो ।

तर, इन्भेष्टमेन्ट बैंकका कर्मचारीले मर्जरमा जान नहुने भन्दै विरोध गरेपछि त्यो प्रयास तुहिएको थियो ।

त्यसपछि राष्ट्र बैंकबाट मर्जरको नीति आयो । मर्जरको नीति आएपछि एभरेष्टले तत्कालीन किष्ट बैंकसँग मर्जरको छलफल गर्यो । तर प्रारम्भिक छलफलमै स्वाप रेसियोमा कुरा मिलेन । र, थप प्रक्रिया नै अघि बढेन ।

एभरेष्टसँग मर्जरको कुरा नमिलेपछि तत्कालीन किष्टका प्रवन्ध निर्देशक कमल ज्ञवालीले भनेका थिए, ‘बिकेजीले आफ्नो सम्पत्तिलाई सुन र अरुको सम्पत्तिलाई पित्तल देख्नुहुन्छ, कवाडीको भाउ गनुहुन्छ, अनि कसरी मिलेर अघि बढ्न सकिन्छ ?’

किष्टपछि एभरेष्टले कुमारी बैंकसँग मर्जरको छलफल गर्यो । कुमारीसँग पनि स्वाप रेसियो मै कुरा मिलेन । र, त्यो पनि सफल भएन ।

कुमारीपछि एभरेष्टले लक्ष्मी बैंकसँग मर्जरको छलफल गर्यो । अढाई वर्षअघि देखि भएको छलफल ६/७ महिनाअघि देखि औपचारिकरुपमै टुंगिएको छ । लक्ष्मीसँग पनि स्वाप रेसियोमै कुरा मिलेन ।

एभरेष्ट र लक्ष्मीको मर्जरमा राष्ट्र बैंकले एकपछि अर्को गर्दै एभरेष्ट बैंकका शर्तहरु मानिदिएको थियो । एभरेष्टले पञ्जाब नेशनल बैंकले भनेको कम्पनीलाई ड्यु डेलिजेन्स अडिट (डीडीए) गर्न दिनुपर्छ भन्ने शर्त राख्यो ।

लक्ष्मी बैंकसँग मर्ज हुन एभरेष्ट बैंकले राख्यो यस्तो शर्त

राष्ट्र बैंकको नियमले विदेशीलाई डीडीए गर्न दिन मिल्दैनथ्यो । तर, एभरेष्ट बैंकका लागि राष्ट्र बैंकले नियम नै परिवर्तन गरेर विदेशी कम्पनीलाई डीडीए गर्न दियो ।

एभरेष्ट र लक्ष्मी बैंकका मूख्य लगानीकर्ताबीच डीडीए रिपोर्टमा जे आउँछ त्यो स्वीकार गरेर अघि बढ्ने सहमति भएको थियो । आफूले चाहेको कम्पनीले डीडीए गर्दा पनि एभरेष्ट बैंकको भन्दा लक्ष्मीको मूल्य प्रतिकित्ता ४० रुपैयाँ मात्रै कम देखियो ।

यसको अर्थ के हो भने यी दुई बैंक गाभिँदा लक्ष्मी बैंकको १०० कित्ता सेयर हुनेसँग गाभिएपछि बन्ने बैंकको ६० कित्ता सेयर हुने भयो ।

‘डीडीएमा जे आउँछ त्यो मान्ने सहमति थियो तर जब डीडीए रिपोर्टले ६० देखायो त्यसलाई बिकेजीले स्वीकार गर्नुभएन,’ लक्ष्मी बैंकका एक सञ्चालकले भने, ‘उहाँले ३० दिन्छु भन्नुभयो । अढाई वर्षदेखिको छलफल र कुराकानी बेकार भयो ।’

खासगरी एभरेष्टले अरु बैंकलाई कवाडीको भाउ गर्ने गरेका कारण यसअघिका मर्जर प्रक्रिया अवरुद्ध भएका हुन् भने अहिले बैंकहरु एभरेष्टसँग टाढिएका हुन् ।


पुष्प दुलाल