बैंकका अध्यक्ष र सीइओलाई गभर्नरको निर्देशनः मौद्रिक नीतिअघि नै मर्जरको प्रतिवद्धता पेश गर्नू



काठमाडौं। राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले मौद्रिक नीति अघि नै मर्जरको प्रतिवद्धता राष्ट्र बैंकमा बुझाउन निर्देशन दिएका छन् । बिहीबार २८ वटै वाणिज्य बैंकका अध्यक्ष तथा सीइओहरुलाई बोलाएर गभर्नर डा. नेपालले यस्तो निर्देशन दिएका हुन् ।

‘असार २७/२८ गतेतिर मौद्रिक नीति आउँछ, त्यसअघि नै मर्जरको प्रतिवद्धता गरेर राष्ट्र बैंकमा बुझाउनुहोस्,’ गभर्नर निर्देशन उदृत गर्दै बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले क्लिकमाण्डूसँग भने ।

बैंकको संख्या कसरी घटाउने ? राष्ट्र बैंक, २८ बैंकका अध्यक्ष र सीइओहरु छलफलमा (फोटो फिचर)

बिहान ११ बजेदेखि दिउसो १ बजेसम्म राजधानीको याक एण्ड यति होटेलमा छलफल भएको थियो ।

छलफलको शुरुवातमा राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले प्रस्तुति दिएको थियो । प्रस्तुतिमा बैंकहरुको संख्या बढी भएको र अस्वस्थ प्रतिस्पर्धा भएको उल्लेख गर्दै त्यसलाई रोक्न मर्जर तथा एक्विजिसनको बिकल्प नरहेको उल्लेख थियो ।

मर्जरमा जान दबाब दिन बैंकका अध्यक्ष र सीइओलाई राष्ट्र बैंकले पाँच तारे होटेल बोलायो

त्यही प्रस्तुतिमा आधारित रहेर गभर्नरले निर्देशन दिए ।

‘हाम्रो टिमले अध्ययन गरेर यो प्रस्तुति तयार पारेको हो, तपाईंहरुले पनि देखिहाल्नु भयो, त्यसैले अब तपाईंहरु मर्जर तथा एक्विजिसनमा जानै पर्छ,’ गभर्नरले निर्देशन दिए, ‘आजैदेखि आफूलाई सुनाउने जोडी खोज्न लागि पर्नुहोस् ।’

मौद्रिक नीति अघि नै आधा दर्जन वाणिज्य बैंकले मर्जरको सम्झौता गरुन् भन्ने राष्ट्र बैंकको चाहना

सरकारले पनि ठूला बैंकको मर्जरलाई प्राथमिकता दिएको उल्लेख गर्दै सरकारको नीतिलाई सहयोग गर्न राष्ट्र बैंक तत्पर रहेको उनले बताए ।

‘मर्जरका लागि आवश्यक सुविधा दिन तयार छ तर अब हाम्रो आँखा झुक्याउने र वहानाबाजी गर्ने छुट कसैलाई छैन,’ गभर्नर भने, ‘तपाईंहरुलाई थाहै छ, पुँजी बढाउने नीति लिँदा मलाई कित ठूलो दबाब आएको थियो । तपाईहरु नै हो बर्बाद हुँन्छ भन्दै माथि धाउने । के भयो त । अब तपाईंहरु नेता र मन्त्रीकहाँ नधाउनुहोस्, अब हामीलाई कुनैपनि राजनीतिक दबाबले हामीलाई छुँदैन ।’

मर्जरमा राष्ट्र बैंकको रणनीतिः थर्काउने र लोभ्याउने

मौद्रिक नीति आएपछि मर्जरका लागि पर्याप्त समय नहुने भन्दै त्यसअघि नै मर्जरमा जान गभर्नरले निर्देशन दिए ।

बैंकका सीइओहरुका तर्फबाट नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले फोर्सफूल मर्जर भन्दा पनि आवश्यक छुटहरु दिएर मर्जर गराउनु पर्ने बताए । उनले राष्ट्र बैंकको सहुलियत पाए बैंकहरु मर्जरमा गएर सरकार र राष्ट्र बैंकको नीतिलाई सहयोग गर्न तयार रहेको पनि उल्लेख गरे ।

बैंकरलाई गभर्नरले भने- लभ गर्ने समय अब धेरै छैन, मौद्रिक नीतिपछि त बिहे गर्नुपर्छ

बैंकका अध्यक्षहरुका तर्फबाट नेपाल बैंक, कृषि विकास बैंक, नविल बैंक, मेगा बैंक, हिमालयन बैंक र सिद्दार्थ बैंकका अध्यक्षले बोलेका थिए । राष्ट्र बैंकले मौद्रिक नीतिअघि सरोकारवालाहरुसँग छलफल गरेकोमा खुसी ब्यक्त गरे ।

अध्यक्षहरुले मर्जरपछि उत्पन्न हुने परिस्थितिको विषयमा गंभीर भएर सोच्न राष्ट्र बैंक नेतृत्वलाई आग्रह गरे ।

बैंकरहरुले त्यो दिन मेरो चित्त नदुखाएको भए, म यति कठोर हुने नै थिइँनः गभर्नरको बिचार

‘ठूला बैंकहर मर्जर गराउँदा अर्थतन्त्रमा कस्तो प्रभाव पर्छ भनेर राष्ट्र बैंकले अध्ययन गरेर निर्णय लिनु उपयुक्त हुन्छ,’ अध्यक्षहरुको भनाई थियो, ‘हामीलाई र देशलाई राम्रो हुन्छ भने हामी मर्जरमा जान तयार छौं ।

राष्ट्र बैंकले बजेट बक्तब्यको बुँदा नम्बर २३७ र ३१२ का बिषयमा छलफलका लागि बोलाएको थियो ।


पुष्प दुलाल