मर्जरमा जान दबाब दिन बैंकका अध्यक्ष र सीइओलाई राष्ट्र बैंकले पाँच तारे होटेल बोलायो



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरमा जान दबाब दिने उद्देश्यले भोलि (बिहीबार) दरबार मार्गस्थित पाँच तारे याक एण्ड यति होटेल बोलाएको छ ।

मौद्रिक नीतिको पूर्वसन्ध्यामा राष्ट्र बैंकले आफ्नो प्रष्ट धारणा दिनका लागि बैंकका अध्यक्ष र सीइओलाई बोलाएको हो ।

मौद्रिक नीति अघि नै आधा दर्जन वाणिज्य बैंकले मर्जरको सम्झौता गरुन् भन्ने राष्ट्र बैंकको चाहना

यसअघि पटक पटक राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले सार्वजानिक कार्यक्रमहरुमै मौद्रिक नीतिअघि नै मर्जरमा जोडी खोज्न सुझाउँदै मौद्रिक नीतिपछि यस्तो अवसर नपाइने बताइसकेका छन् ।

गभर्नर डा. नेपालले वाािण्ज्य बैंकहरुको संख्या १५ वटामा झार्नेगरी मौद्रिक नीति तयार गरिरहेका छन् । बैंकका अध्यक्ष र सीइओहरुलाई यसैको जानकारी दिने उद्देश्यले राष्ट्र बैंकले भोलि बोलाएको हो ।

बैंकरलाई गभर्नरले भने- लभ गर्ने समय अब धेरै छैन, मौद्रिक नीतिपछि त बिहे गर्नुपर्छ

‘बैंकका अध्यक्ष र सीइओलाई बोलाएर गभर्नरसाबले मर्जरमा जानका लागि तीब्र दबाब दिनुहुनेछ,’ गभर्नरनिकट स्रोतले भन्यो, ‘गभर्नरले अध्यक्ष र सीइओको सातो लिनेगरी झपार्नु हुनेछ ।’

मर्जरमा नजाने संथालाई राष्ट्र बैंकले पूर्ण असहयोग गर्ने भन्दै गभर्नर तथा डेपुटी गभर्नरहरुले चेतावनी दिनेछन् ।

‘राष्ट्र बैंकका अधिकारीहरु भोलि सोचेभन्दा धेरै गुणा बढी कडा भएर प्रस्तुत हुनेछन्,’ स्रोतले भन्यो, ‘फलानो फलानो मर्जरमा जानूसम्म भनेर निर्देशन दिन सक्नेछन्,’ स्रोतले भन्यो, ‘राष्ट्र बैंकको उच्च व्यवस्थापनले थर्काएपछि मौद्रिक नीतिअघि नै ४/५ वटा वाणिज्य बैंकले मर्जरमा जाने सैद्दान्तिक सहमति गर्छन् भन्ने हाम्रो अपेक्षा छ ।’

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले मौद्रिक नीतिको पूर्वसन्ध्यामा सरोकारवालाहरुसँग छलफलका लागि भोलि बोलाइएको जानकारी दिए ।

मर्जरमा राष्ट्र बैंकको रणनीतिः थर्काउने र लोभ्याउने

‘बजेटले वित्तीय क्षेत्रको बारेमा समेटेका विषयमा सरोकारवालाहरुसँग पनि भोलि छलफल हुनेछ, त्यसमा मर्जर पनि पर्छ,’ प्रवक्ता निरौलाले भने, ‘बैंकका अध्यक्ष र सीइओबाहेक हरुलाई प्रवेश निषेध गरिएको छ ।’

राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीका अध्यक्ष र सीइओसँग छुट्टाछुट्टै छलफल गर्नेछ ।

वाणिज्य बैंकका अध्यक्ष र सीइओलाई बिहान ११ बजे, विकास बैंकका अध्यक्ष र सीइओलाई दिउँसो १ बजे र फाइनान्स कम्पनीका अध्यक्ष र सीइओलाई दिउँसो ३ बजे बोलाइएको छ ।

बैंकरहरुले त्यो दिन मेरो चित्त नदुखाएको भए, म यति कठोर हुने नै थिइँनः गभर्नरको बिचार

राष्ट्र बैंकले बैंकहरुको संख्या घटाउने नीति लिएको छ । खासगरी गभर्नर बैंकको संख्या घटाउन चाहन्छन् । ०७२ सालको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पुँजी बढाएका गभर्नरले यो पटक बैंकको संख्या घटाउने नीति लिँदैछन् ।

जब राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठसँग रिसले चुर भए…

गभर्नर डा. नेपालले गत वर्ष नै बैंकको संख्या घटाउने नीति लिने तयारी गरेका थिए । तर, अर्थ मन्त्रालयबाट ग्रिन सिग्नल नआएकाले त्यस्तो नीति लिएनन् । अहिले बजेटले पनि ठूला बैंकहरुको मर्जरलाई प्रोत्साहन गर्ने कुरा उल्लेख गरिसकेकाले गभर्नर डा. नेपालले बैंकको संख्या घटाउने नीति ल्याउँदैछन् ।

राष्ट्र बैंकका अधिकारीहरु वाणिज्य बैंकको संख्या १५ वटा भए पुग्ने निष्कर्शमा पुगेका छन् । स्रोतका अनुसार राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, एसबिआइ बैंक, हिमालयन बैंक, नविल बैंक, इन्भेष्टमेन्ट बैंक, एनएमबि, प्रभु बैंक, ग्लोबल आइएमइ बैंक, एनआइसी एशिया बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंकमात्रै टिक्न सक्ने राष्ट्र बैंकका अधिकारीहरुको निष्कर्श छ ।

अरु बैंकहरुलाई यी बैंकसँग गाभिनका लागि राष्ट्र बैंकले दबाब दिने भएको हो । पहिलो चरणमा टिक्नै कठिन रहेको भन्दै सिभल बैंक, कुमारी बैंक, एनसीसी बैंक, जनता बैंक, सेञ्चुरी बैंक, मेगा बैंकलाई मर्जरमा जान तीब्र दबाब गरिनेछ ।

त्यसपछि, दोस्रो चरणमा एनबी बैंक, प्राइम बैंक, सनराइज बैंक, सिद्दार्थ बैंक, सिटिजन्स बैंक, लक्ष्मी बैंक र बैंक अफ काठमाण्डूलाईै मर्जरमा जानका लागि दबाब दिइने छ ।


पुष्प दुलाल