बैंकरलाई गभर्नरले भने- लभ गर्ने समय अब धेरै छैन, मौद्रिक नीतिपछि त बिहे गर्नुपर्छ



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले बैंकहरुलाई मौद्रिक नीति अघि नै लभ गर्न सुझाएका छन् । आइबिएन मिडिया रिसर्चले सोमबार राजधानीमा गरेको कार्यक्रममा गभर्नर डा. नेपालले मौद्रिक नीति आएपछि बैंकहरुबीच लभ गर्ने समय नै नहुने बताए ।

ठूला बैंकहरुको मर्जरमा राष्ट्र बैंकले कडा नीति अबलम्बन गर्ने प्रष्ट संकेत गर्दै गभर्नरले भने, ‘अब तपाईहरुसँग लभ गर्ने समय धेरै छैन, मौद्रिक नीति अघि नै लभ पारिहाल्नुहोस्, मौद्रिक नीतिआएपछि लभ गर्दै हिँड्ने समय हुँदैन, बिहे गर्नुपर्छ ।’

गभर्नरले ठूला बैंकहरुबीचको मर्जरको दिनगन्ती शुरु भएको बताए ।

१० बर्षअघि राष्ट्र बैंकले पूँजी वृद्धि गर्दाखेरी पर्याप्त मात्रामा लभ गर्ने समय उपलब्ध गराएको र पछिल्लोपटक पूँजी बढाउने नीति लिएर पनि पर्याप्त मात्रामा लभ गर्ने समय दिएको बताए।

‘अब राष्ट्र बैंकले विगतमा जस्तो लभ गर्ने समय दिँदैन, तपाईंहरु आफैं बुझ्नुहोस्,’ उनले भने ।

यति धेरै समय विश्वमा कही पनि नपाइने उनको तर्क छ । विश्वका अन्य देशमा पनि मर्जर भएको उदाहरण सुनाए ।

मर्जरको विषयमा गभर्नरले मलेसियाको उदाहरणसमेत दिए ।

‘मर्जमा जाने विषयमा राम्रो उदाहरण मलेसिया हो । सन् १९९९ देखि २००० सम्ममा ५० वटा ठूला बैंकहरु मर्ज भएका थिए । त्यो बेला मर्जमा जाउ भन्दा मानेनन् । १० वटा बैंक सरकारले छानेपछि मर्जरमा गए, त्यो बेला सरकार र केन्द्रीय बैंकले नै छानेको थियो । जसले गर्दा चुक्ता पुँजी बढेको थियो ।’ उनले भने ।

आगामी आर्थिक वर्षको बजेटमा अर्थमन्त्रीले नै बिग मर्जरको नीति लिएकाले आफूलाई काम गर्न झन सजिलो भएको उनले सुनाए ।

‘अहिले बजेटमै मर्जरको बिषय छ। त्यसैले तपाईहरु बिग मर्जर रोक्न अर्थमन्त्री र प्रधानमन्त्रीमा धाएर केही हुनेवाला छैन,’म धेरै बोल्दिन। तपाईहरुले कुरा बुझिहाल्नु भयो होला ।’

विगतमा आफूले पुँजी बढाउने नीति लिँदा बैंकका अध्यक्ष, सञ्चालक, सीइओ सबैले नेता, मन्त्रीदेखि प्रधानमन्त्रीकहाँ पुगेको पनि उनले स्मरण गरे ।

‘तपाईंहरु माथिल्लो निकायमा गएर मलाई दबाब दिँदा पनि म पछि हटिँन, जसकारण अहिले सबै बैंकले न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याएका छन्,’ गभर्नरले भने ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले स्वतस्फूर्त मर्जर भए लभ म्यारिज जस्तै बलियो हुने भन्दै राष्ट्र बैंकलाई फोर्स मर्जरको नीति नलिन सुझाब दिएका थिए ।

जवाफमा गभर्नरले यस्तो कडा अभिव्यक्ति दिएका हुन् । उनले भने ‘बैंक मर्ज भएपछि पुँजी धेरै हुन्छ । तपाईहरुलाई ल्याण्डिङ गर्न पनि सजिलो हुन्छ । आईटिमा पनि पैसा खर्च हुने भएको छ । आईटिमा खर्ब घटाउन र धेरै बैंकमा हुने पैसा एउटै बैंकमा हुने भएर पनि मर्जरमा जानु आवश्यक हुन्छ, म तपाईहरुलाई यो भन्दा बढी केही नै भन्दिन ।’

अडियोमा सुन्नुहोस् गभर्नर नेपालले व्यक्त गरेको विचार

https://soundcloud.com/clickmandu-online/4hd5xuuzvbpw


पुष्प दुलाल