स्वाप रेसियोमा एभरेष्ट र लक्ष्मी बैंकको आ-आफ्नै अडान, सफल होला त मर्जर ?



काठमाडौं । सेयर बजारका लगानीकर्ताबीच एभरेष्ट बैंक र लक्ष्मी बैंक मर्जरमा जाने हल्ला व्यापक छ ।

हल्ला आएजस्तै दुई बैंकबीच मर्जरको विषयमा कुराकानी भएको छ । धेरै चरणमा भएको कुराकानी अहिलेसम्म सकारात्मक छ ।

एभरेष्ट बैंकको लगानीकर्ता रहेको पन्जाव नेशनल बैंक (पिएनबी)ले विदेशी मुल्यांकनकर्ताबाट सम्पत्ती तथा दायित्वको मुल्याकंन(डिडिए) गराउनुपर्ने माग राष्ट्र बैंक समक्ष राखेको थियो । यसलाई राष्ट्र बैंकले अनुमति दिएको छ ।

मर्जरमा अहिले मुख्य रुपमा कुरा मिल्न बाँकी भएको कुरा सेयर स्वाप रेसियो हो । एभरेष्ट बैंकको १०० बराबर लक्ष्मीको ३० हुनेगरी को सेयर स्वाप दिन सकिने प्रस्ताव राखेको छ । लक्ष्मीले ६० पाउनुपर्ने अडान राखेको छ ।

स्रोतका अनुसार एभरेष्टको १०० बराबर लक्ष्मीको ४० को अनुपातमा कुरा मिलेमा मर्जर हुने सम्भावना छ । अहिले एभरेष्ट बैंकको चुक्ता पुँजी ४ अर्ब ५२ करोड ६४ लाख छ । एभरेष्ट बैंकले ३३ प्रतिशत हकप्रद दिएपछि चुक्ता पुँजी ६ अर्ब कट्ने छ ।

लक्ष्मी बैंकसँगको स्वाप रेसियोमा पनि एभरेष्टले ३० प्रतिशतको अडान राखिरह्यो र लक्ष्मीले पनि ६० प्रतिशतको अडान राखिरह्यो भने यो मर्जर पनि सफल हुन्छ भन्न सकिँदैन ।

राष्ट्र बैंकले भनेको चुक्ता पुँजी पुर्याउनको लागि ३३ प्रतिशत हकप्रदपछि पनि करिब २ अर्ब रुपैयाँ एभरेष्टलाई अपुग हुन्छ । चालु आर्थिक वर्षको नाफाबाट दिने बोनसलाई पनि गणना गरेर चुक्ता पुँजी आठ अर्ब पुर्याउन पाइएपनि यो वर्षको नाफाबाट दिने बोनसले मात्र ८ अर्ब चुक्ता पुँजी एभरेष्टको पुग्दैन । यसको लागि पुनः हकप्रद वा मर्जरकै बाटो रोज्नुपर्ने हुन्छ ।

यस्तै अहिले लक्ष्मी बैंकको चुक्ता पुँजी ६ अर्ब ३१ करोड रुपैयाँ छ । हकप्रद सेयर जारी गरेपछि लक्ष्मीले ६ अर्ब ३१ करोड चुक्ता पुँजी पुर्याएको हो । यसमा लक्ष्मी बैंकले अब १८.२९ प्रतिशत बोनस सेयर दिदैछ । बोनस सेयरपछि सात अर्ब ४६ करोड रुपैयाँ पुग्छ । चालु आर्थिक वर्षको नाफापछि दिने बोनस सेयरले लक्ष्मीको चुक्ता पुँजी करिब ८ अर्ब पुग्छ ।

अहिलेसम्म मर्जरको विषयमा कुराकानी सकारात्मक भएपनि मुख्य कुरा सेयर स्वाप रेसियो मिलेको छैन ।

मर्जरको सम्झौता भएपछि डिडिएपछि सेयर स्वाप मिलान गर्नुपर्ने भएपनि मर्जर अगाडि सेयर स्वापमा भद्र सहमति भएपछि मात्र मर्जर प्रक्रिया अघि बढ्ने गरेको छ ।

एभरेष्ट बैंकले मर्जर गर्दा चुक्ता पुँजी ८ अर्ब गर्ने र रिजर्बलाई बढाउने तयारी गरेको छ । जसको संकेत एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठले साधारणसभामा गरेका थिए । उनले बैंकलाई बलियो बनाउन चुक्ता पुँजीसँग रिजर्ब पनि बढाउने भनेका थिए ।

एभरेष्ट र लक्ष्मीबीच १००ः४० को अनुपातमा स्वाप रेसियो मिलेमा बिके श्रेष्ठले भनेजस्तो बैंकको रिजर्ब बलियो हुन्छ । हकप्रदपछि एभरेष्टको चुक्ता पुँजी ६ अर्बभन्दा बढी हुन्छ । लक्ष्मीको बोनसपछि ७ अर्ब ४६ करोड छ ।

१००ः४० सेयर स्वाप अनुपातमा एभरेष्ट र लक्ष्मी बैंक मर्जर भएमा चुक्ता पुँजी ९ अर्ब पुग्छ । लक्ष्मीको स्वापबाट बाँकी रहेको करिब साढे ४ अर्ब रुपैयाँ रिजर्बमा जान्छ । जुन एभरेष्टका बिके श्रेष्ठले भनेजस्तो बैंकको रिजर्ब बढाउनको लागि सहयोगी हुन्छ । लक्ष्मी बैंकसँग भएको मर्चेन्ट बैंक तथा म्युचुअल फण्डले बैंकलाई थप बलियो बनाउन सहयोगी हुन्छ ।

विहीवारको सेयर कारोबारको आधारमा एभरेष्टको सेयर मुल्य प्रतिकित्ता १७ सय २४ रुपैयाँ छ । यस्तै लक्ष्मीको सेयर मुल्य प्रतिकित्ता ४ सय ९० रुपैयाँ छ ।

एभरेष्ट बैंकले यसअघि विभिन्न बैंकहरुसँगको मर्जर प्रक्रिया अघि बढाएको थियो । तर, स्वाप रेसियोमा कुरा नमिलेपछि यसअघिका सबै मर्जर प्रक्रिया असफल भएका थिए ।

लक्ष्मी बैंकसँगको स्वाप रेसियोमा पनि एभरेष्टले ३० प्रतिशतको अडान राखिरह्यो र लक्ष्मीले पनि ६० प्रतिशतको अडान राखिरह्यो भने यो मर्जर पनि सफल हुन्छ भन्न सकिँदैन ।

एभरेष्टका लगानीकर्ताहरु पनि स्वापमा केही बढ्न सकिन्छ र लक्ष्मीका लगानीकर्ताहरु पनि घट्न सकिन्छ भन्ने मनस्थितिमा रहेकाले मर्जर प्रक्रिया सकारात्मक दिशामा अघि बढिरहेको बैंक सम्बद्ध स्रोतको दाबी छ ।


क्लिकमान्डु