लक्ष्मी बैंकसँग मर्ज हुन एभरेष्ट बैंकले राख्यो यस्तो शर्त



काठमाडौं । एभरेष्ट बैंक र लक्ष्मी बैंकले एकआपसमा मर्ज हुन छलफल तीब्र पारेका छन् । ०७४ असार मसान्तमा राष्ट्र बैंकले तोकेको न्यूनतम ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन एभरेष्ट र लक्ष्मी बैंक मर्जरमा जान लागेका हुन् ।

गत पुस मसान्तसम्ममा एभरेष्टको ४ अर्ब ६० करोड र लक्ष्मी बैंकको ३ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पुँजी छ । यो चुक्ता पुँजीमा लक्ष्मी बैंकले दिएको १०० प्रतिशत हकप्रद सेयर भने जोडिएको छैन । हकप्रद समेत जोड्दा बैंकको चुक्ता पुँजी ६ अर्ब ७८ करोड रुपैयाँ पुग्छ ।

यी दुई बैंकबीचको मर्जर सफल भयो भने चुक्ता पुँजी १० अर्ब रुपैयाँभन्दा बढी हुन्छ ।

दुई बैंकका लगानीकर्ताहरुबीच मर्जरको छलफल तीब्र भइरहेका बेला एभरेष्ट बैंकले भने एउटा शर्त तेर्स्याएको छ । एभरेष्टले विदेशी फर्मलाई ड्यू डेलिजेन्स अडिट (डीडीए) गर्न दिनुपर्ने शर्त तेर्स्याएको हो ।

यी दुई बैंकबीच मर्जरको हल्ला चलेपछि एभरेष्ट बैंकको सेयर मूल्य लगातार घटिरहेको छ भने लक्ष्मीको सेयर मूल्य लगातार बढिरहेको छ ।

एभरेष्ट बैंकले विदेशी फर्मलाई पनि डीडीए गर्न अनुमति माग्दै तीन हप्ताअघि राष्ट्र बैंकमा निवेदन समेत दिएको छ । बैंकको निवेदनमाथि छलफल भइरहेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।

‘डीडीएसम्बन्धी नियमावलीमा नेपाली फर्मले नै डीडीए गर्नुपर्ने व्यवस्था छ, जसअनुसार विदेशी फर्मले डीडीए गर्ने अनुमति पाउँदैन,’ प्रवक्ता पौडेलले क्लिकमाण्डूसँग भने,- ‘विदेशी फर्मले नेपाली फर्मसँग साझेदार गरेर डीडीए गर्न दिन सकिन्छ कि भन्ने अप्सनमा छलफल भइरहेको छ । यससम्बन्धी कुनै निर्णय भने भइसकेको छैन ।’

एभरेष्टले विदेशी फर्मलाई डीडीए गर्न अनुमति माग्दै राष्ट्र बैंकमा दिएको अनुमतिको फलोअप पनि गरिरहेको पौडेलले जानकारी दिए ।

‘उहाँहरु कुनै अर्को बैंकसँग मर्जरको कुरा गरिरहनुभएको छ भन्ने सुनेको छु’ उनले भने,- ‘त्यसैले होला उहाँहरु डीडीएको विषयमा निरन्तर फलोअप गरिरहनु भएको छ । छिटो निर्णय होस् भनिरहनुभएको छ ।’

डीडीए नियमावलीमा नेपालभित्र रहेका कम्पनीहरुको डीडीए नेपाली फर्मले नै गर्नुपर्ने उल्लेख छ । त्यसमापनि १ जना फुल अडिटर र ३ जना  सब अडिटर हुनुपर्ने भनिएको छ ।

सुरुमा एभरेष्ट र इन्भेष्टमेन्ट बैंकबीच मर्जरको छलफल भएको थियो । त्यसपछि  किष्टसँग । किष्टपछि एभरेष्टले कुमारी बैंकसँग मर्जरको छलफल गर्यो । त्यो पनि सफल भएन । अहिले लक्ष्मीसँग मर्जरको छलफल भइरहेको छ । सफल हुन्छ वा हुँदैन त्यो भने हेर्न बाँकी नै छ ।

लक्ष्मी बैंकसँग भएको मर्जरको छलफल सकरात्मक भएपछि एभरेष्ट बैंकले बैशाख २० गते विषेश साधारणसभा बोलाएको छ । साधारणसभामा लक्ष्मी बैंकसँगको मर्जरको प्रस्ताब लैजाँदै छ । त्यसैले एभरेष्टले साधारणसभा अघि नै राष्ट्र बैंकबाट विदेशी फर्मले पनि डीडीए गर्न पाउने स्वीकृती लिन खोजेको हो ।

एभरेष्ट बैंकमा भारतको पञ्जाब नेशनल बैंकको २० प्रतिशत सेयर स्वामित्व छ । त्यसैले बैंकले भारतीय फर्मबाट नै डीडीए गराउने प्रस्ताब गरेको हो ।

अहिलेसम्मको छलफलमा लक्ष्मी बैंकका प्रवद्र्धकहरु पनि विदेशी कम्पनीबाट डीडीए गराउने विषयमा सकरात्मक छन् । तर, डीडीए रिपोर्ट आएपछि भने लगानीकर्ताहरु बीच कुरा नमिल्न पनि सक्छ । किनभने डीडीए रिपोर्टले सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) मा प्रभाव पार्छ । स्वाप रेसियोमा कुरा नमिलेका कारण विगतमा धेरै संस्थाहरुको मर्जर प्रक्रिया नै अवरुद्ध भएको उदाहारणहरु छन् ।

बजार हल्ला सत्य

एभरेष्ट र लक्ष्मी बैंकबीच मर्जरको छलफल भएको र छलफल सकरात्मक रहेको एभरेष्ट बैंकका एक सञ्चालकले बताए । तर, मर्जरमा जाने सैद्दान्तिक समहतिमा हस्ताक्षर भइनसकेको भन्दै उनी थप बोल्न चाहेनन् ।

‘तपाईंले सुनेको हल्ला सही हो तर औपचारिकरुपमा निर्णय नभएसम्म मैले बोल्न मिल्दैन,’ ती सञ्चालकले भने ।

कुन बैंकको अवस्था के ?

चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा गत पुस मसान्तसम्ममा एभरेष्टको ४ अर्ब ६० करोड र लक्ष्मी बैंकको ३ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पुँजी छ । यो चुक्ता पुँजीमा लक्ष्मी बैंकले दिएको १०० प्रतिशत हकप्रद सेयर भने जोडिएको छैन । हकप्रद समेत जोड्दा बैंकको चुक्ता पुँजी ६ अर्ब ७८ करोड रुपैयाँ पुग्छ ।

त्यसैगरी एभरेष्टको रिजर्भ ४ अर्ब ८७ करोड रुपैयाँ छ भने लक्ष्मीको रिजर्भ ३ अर्ब ८ करोड रुपैयाँ मात्रै छ । रिजर्भ जतिधेरै भयो बैंक त्यतिधेरै बलियो मानिन्छ ।

यस अवधिमा एभरेष्ट बैंकले ९० अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यस्तै लक्ष्मी बैंकले ५५ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

कूल कर्जामध्ये एभरेष्टको खराब कर्जा ०.७० प्रतिशत मात्रै छ भने लक्ष्मीको १.२७ प्रतिशत छ ।

एभरेष्टको रिटर्न अफ इक्विटी २३.१५ प्रतिशत छ भने लक्ष्मीको २७.२० प्रतिशत छ । त्यस्तै पुस मसान्तसम्ममा एभरेष्टको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ १८ पैसा छ भने लक्ष्मी बैंकको २९ रुपैयाँ ८२ पैसा मात्रै छ ।

बुधबार नेपाल स्टक एक्सचेञ्जमा भएको कारोबार अनुसार एभरेष्ट बैंकको एक कित्ता सेयरको मूल्य १९ सय २५ रुपैयाँ छ भने लक्ष्मी बैंकको ४ सय ९४ रुपैयाँ छ ।

यी दुई बैंकबीच मर्जरको हल्ला चलेपछि एभरेष्ट बैंकको सेयर मूल्य लगातार घटिरहेको छ भने लक्ष्मीको सेयर मूल्य लगातार बढिरहेको छ ।

कतै हल्लामै सिमित त हुन्न ?

नेपालमा मर्जरसम्बन्धी नीति आउनुभन्दा पहिला एभरेष्ट र इन्भेष्टमेन्ट बैंकबीच मर्ज हुने विषयमा केही छलफल चलेको थियो । तर, इन्भेष्टमेन्ट बैंकका कर्मचारीले मर्जरमा जान नहुने भन्दै विरोध गरेपछि त्यो प्रयास तुहिएको थियो ।

त्यसपछि राष्ट्र बैंकबाट मर्जरको नीति आयो । मर्जरको नीति आएपछि एभरेष्टले तत्कालीन किष्ट बैंकसँग मर्जरको छलफल गर्यो । तर प्रारम्भिक छलफलमै स्वाप रेसियोमा कुरा नमिलेपछि थप प्रक्रिया नै अघि बढेन ।

किष्टपछि एभरेष्टले कुमारी बैंकसँग मर्जरको छलफल गर्यो । त्यो पनि सफल भएन । अहिले लक्ष्मीसँग मर्जरको छलफल भइरहेको छ । सफल हुन्छ वा हुँदैन त्यो भने हेर्न बाँकी नै छ ।


पुष्प दुलाल