
काठमाडौं । लुम्बिनी पर्यटकीय करिडोरमा लुम्बिनी प्यालेस रिसोर्टले निर्माण गरिरहेको लुम्बिनी मेरियट रिसोर्ट एन्ड स्पाको ४५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । कम्पनीले १० अर्ब ९९ करोड ७० लाख रुपैयाँ लागत अनुमान गरेको रिसोर्टको हालसम्ममा ४५ प्रतिशत भौतिक कार्य र ३५ प्रतिशत आर्थिक प्रगति भएको हो ।
विगत ४ वर्षदेखि नाफामा चलिरहेको लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेडले विश्वप्रसिद्ध होटल चेन ‘म्यारियट इन्टरनेशनल’सँगको सहकार्यमा आफ्नो सेवालाई स्तरवृद्धि गरिरहेको छ ।
पूर्वबैंकर रोशनकुमार न्यौपाने र एक्यानका पूर्वअध्यक्ष दीपक पाण्डेको लगानी रहेको यो रिसोर्ट अब ‘लुम्बिनी म्यारियट रिसोर्ट एण्ड स्पा’ को ब्राण्डमा पाँचतारे होटलका रूपमा सञ्चालन हुनेछ । न्यौपाने एनआईसी एशिया बैंकको पूर्वसीईओ हुन् ।
काठमाडौं उपत्यका बाहिर म्यारियट इन्टरनेशनलको यो पहिलो र एकमात्र उपस्थिति हुनेछ । यसका लागि रिसोर्ट र ग्लोबल हस्पिटालिटी लाइसेन्सिङ म्यारियट इन्टरनेशनलबीच होटल व्यवस्थापन सम्झौता भइसकेको छ ।
कम्पनीले पहिलो चरणमा २ सय बेडको सुविधासहित सन् २०२७ देखि व्यवसायिक कारोबार सुरु गर्ने योजना बनाएको छ । त्यस्तै, कम्पनीले पूर्ण क्षमतामा ४ सय ५० वटा बेको सुविधासहित सन् २०३० मा सञ्चालनमा ल्याउने योजना बनाएको छ । कम्पनीका अनुसार होटल व्यवसायमा प्रारम्भिक स्थिर लागत उच्च हुने भएकाले ती लागतहरु पुनःप्राप्त गर्न तथा व्यवसायलाई नाफामूलक बनाउन लामो समय लाग्ने गर्दछ । जसले गर्दा उच्च प्रतिस्पर्धा बजारमा मूल्य निर्धारण गर्ने क्षमता तथा नाफामूलकतामा निरन्तर दबाब रहने अनुमान गरेको छ ।
हाल सञ्चालनमा रहेको रिसोर्टबाट भने कम्पनीले गत आर्थिक वर्षको १० महिनाको अवधिमा १४ करोड ५० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२५ मा १४ करोड १० लाख रुपैयाँ, सन् २०२४ मा ११ करोड ९० लाख रुपैयाँ, सन् २०२३ मा १० करोड १० लाख रुपैयाँ र सन् २०२२ मा ७ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो ।
कम्पनीले सन् २०२२ देखि सन् २०२५ सम्ममा वार्षिक समग्र २२ प्रतिशतले कारोबार वृद्धि भएको उल्लेख छ । सन् २०२५ मा कम्पनीको सञ्चालन नाफा कुल व्यापारको ४४ प्रतिशत थियो । कम्पनीले ब्याङ्क्वेट सेग्मेन्ट र एकमोडेसनबाट आम्दानी भएको जनाएको छ ।
कम्पनीले सन् २०२५ मा खुद नाफा कुल व्यापारको ११ प्रतिशत थियो । कम्पनीको सन् २०२५ मा २ करोड ६० लाख रुपैयाँ कुल नगद सञ्चिति थियो ।
त्यस्तै, कम्पनीले गत आवको १० महिनाको अवधिमा ४४ प्रतिशत नाफा मार्जिन गरेको छ ।
कम्पनीको पुँजी संरचनामा सुधार आएको छ । कम्पनीको समग्र गियरिङ अनुपात सन् २०२५ मा १.२८ गुणा थियो । गत आवको १० महिनाको अवधिसम्ममा सुधार आई ०.२५ गुणा कायम भएको छ । कम्पनीका अनुसार सन् २०२५ मा इक्विटी लगानी र एड्भान्स सेयर क्यापिटलले सुधार आएको जनाएको छ । त्यसैगरी, कम्पनीको कुल बाह्य दायित्व र ट्यान्जिबल नेटवर्थको अनुपात १.३५ गुणा थियो । उक्त अनुपात सुधार भई ०.३० गुणा कायम भएको छ । कम्पनीको ब्याज कवरेज अनुपातमा पनि सुधार भएर सन् २०२५ मा १.७४ गुणा भएको छ । गत आवको १० महिनाको अवधिमा भने १.६१ गुणा कायम भएको छ । त्यस्तै, कम्पनीको कर्जा सेवा कवरेज अनुपातमा सुधार भई सन् २०२५ मा १.३० गुणा रहेको छ ।
सन् २०१८ मा कम्पनी दर्ताको कम्पनी सन् २०२५ को अन्त्यमा पब्लिक कम्पनीमा परिणत भएको थियो ।
कम्पनीका टेरेस इन्क कम्पनीको १२.१५ प्रतिशत स्वामित्व छ । दिपक पाण्डे अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५ अर्ब ४९ करोड ६९ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ५ अर्ब २९ करोड २९ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २० करोड ३९ लाख रुपैयाँको रेटिङ गराएको हो ।
नेपालको पर्यटन उद्योगमै नयाँ अवधारणासहित यो रिसोर्ट नेपालकै पहिलो र एकमात्र ‘वाटर रिसोर्ट’को रूपमा सञ्चालन हुनेछ ।
यहाँ अत्याधुनिक एवं फ्युचरिस्टिक प्रविधियुक्त वाटर फाउन्टेन, वाटर शो, म्युजिकल फाउन्टेन, थ्रीडी वाटर स्क्रिन, मोटर बोटिङ, मिनी क्रुज, वाटर रेस्टुरेन्ट र वाटर स्पा जस्ता दर्जनौं रोमाञ्चक सुविधाहरू उपलब्ध हुनेछ ।
जलवायु परिवर्तन, ग्लोबल वार्मिङ र पारिस्थितिक असन्तुलनजस्ता विश्वव्यापी चुनौतीलाई मध्यनजर गर्दै रिसोर्टले नेपालको पहिलो ‘ग्रीन सर्टिफिकेसन (गोल्ड)’ सहितको वेलनेस रिट्रिट र इको रिसोर्टको रूपमा आफूलाई विकास गर्ने लक्ष्य लिएको छ । यसका लागि वातावरण संरक्षण, ऊर्जा बचत, दिगो विकास र न्यून प्रदूषणका मापदण्डहरू पूर्ण पालना गरिनेछ कम्पनीले जनाएको छ ।
साथै, प्राकृतिक स्वास्थ्य र नेटुरोथेरापीलाई प्रवद्र्धन गर्दै ‘अर्गानिक सर्टिफिकेसन’ सहित नेपालको पहिलो र एकमात्र ‘अर्गानिक फाइभ स्टार वेलनेस लक्जरी रिसोर्ट’ बनाउने योजना कम्पनीको छ ।
नेपालमा खेलिने सम्पूर्ण प्रमुख खेलका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय स्तरको पूर्वाधारसहित यसलाई ‘मल्टी स्पेसियालिटी रिसोर्ट’ का रूपमा विकास गरिनेछ, जसले नेपालको खेल पर्यटनलाई ठूलो टेवा पुग्ने विश्वास गरिएको छ ।
शान्तिका प्रतीक गौतम बुद्धको जन्मस्थल लुम्बिनी नजिकै रहेकाले यस रिसोर्टमा बुद्ध थिम पार्क, मिनी स्तूप, मिनी बुद्ध म्युजियम, मेडिटेसन जोन र कल्चरल सेन्टरहरूको अद्भुत सम्मिश्रण रहनेछ ।
रिसोर्टले अन्तर्राष्ट्रिय स्तरका सभा-सम्मेलन, विवाह र व्यक्तिगत कार्यक्रमका लागि नेपालकै उत्कृष्ट गन्तव्य बन्ने लक्ष्य राखेको छ ।
रिसोर्टले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासनको आवश्यक तयारी समेत अघि बढाएको जनाएको छ ।





प्रतिक्रिया