युरोपेली संघमा आप्रवासी रोजगारी दर कीर्तिमान स्तरमा, स्वदेशी र आप्रवासी कामदार बीचको अन्तर घट्दै

77
Shares

एजेन्सी । बिहीबार रोयटर्सले हेरेको रकवुल फाउन्डेसन बर्लिनको एक प्रतिवेदन अनुसार, सन् २०२५ मा युरोपेली संघमा आप्रवासी रोजगारीको दर कीर्तिमान स्तरमा पुगेको छ । त्यसले स्वदेशी कामदारहरूसँगको अन्तरलाई घटाएको छ तर ठूलो मात्रामा श्रम सम्भावना अझै उपयोग हुन बाँकी छ ।

युरोस्ट्याटको तथ्यांकमा आधारित आरएफ बर्लिनस्थित सेन्टर फर रिसर्च एन्ड एनालिसिस अफ माइग्रेसनको अध्ययन अनुसार, आप्रवासीहरूको रोजगारी दर सन् २०२४ को ६७.८ प्रतिशतबाट बढेर गत वर्ष ६८.२ प्रतिशत पुगेको छ ।

‘आप्रवासीहरूको रोजगारीको अनुपात धेरै वर्षदेखि बढिरहेको छ र यो तथ्यांक स्वदेशी जनसंख्याको तथ्यांकको नजिक छ,’ क्रिमका उप–निर्देशक टमासो फ्र्याटिनीले भने ।

सबैभन्दा ठूलो सुधार गैर–युरोपेली संघका आप्रवासीहरूमा देखिएको छ । तिनको रोजगारी दर सन् २०१७ देखि २०२५ सम्म ६.६ प्रतिशत विन्दुले बढेर ५९.४ प्रतिशतबाट ६६ प्रतिशत पुगेको छ र स्वदेशी जनसंख्यासँगको अन्तरलाई कम गरेको छ ।
युरोपेली संघका आप्रवासीहरूको रोजगारी दर पनि ७१.१ प्रतिशतबाट बढेर ७४.८ प्रतिशत पुगेको छ । सोही अवधिमा आफ्नै जन्मको देशमा काम गर्नेहरूको दर ६७.२ प्रतिशतबाट बढेर ७१.६ प्रतिशत पुगेको छ ।

तर, यसको नतिजा देश अनुसार धेरै फरक छ । गैर–युरोपेली संघका आप्रवासीहरूको रोजगारी विशेषगरी माल्टा, चेक गणतन्त्र र आयरल्यान्डमा उच्च छ तर बेल्जियम र फिनल्यान्डमा धेरै कम छ ।

अध्ययनका अनुसार, जर्मनीमा आप्रवासीको रोजगारी दर ६६.१ प्रतिशत छ भने स्वदेशीहरूको दर ७९.६ प्रतिशत रहेको छ ।
प्रतिवेदनले बाँकी रहेको अन्तर मुख्यतया गैर–युरोपेली संघका महिला र उच्च शिक्षित आप्रवासीहरूमा केन्द्रित रहेको बताएको छ ।

‘आजको चुनौती आप्रवासीहरूलाई काममा लगाउनु मात्र होइन, उनीहरूको सीपको पूर्ण उपयोग सुनिश्चित गर्नु हो,’ आरएफ बर्लिनका निर्देशक क्रिश्चियन डस्टम्यानले भने ।