
एजेन्सी । चीन भारतसँगका संवेदनशील मुद्दाहरूलाई उचित रूपमा समाधान गर्न र द्विपक्षीय सम्बन्धमा देखिएको सकारात्मक गतिलाई सुदृढ बनाउन तयार रहेको चिनियाँ विदेशमन्त्री वाङ यीले बुधबार बताएका छन् ।
फिलिपिन्सको राजधानी मनिलामा आयोजित आसियान सम्बन्धी बैठकहरूको अवसरमा विदेशमन्त्री एस जयशंकरसँगको भेटका क्रममा वाङले चीन दुई देशका नेताहरूबीच भएका महत्त्वपूर्ण साझा समझदारीहरू कार्यान्वयन गर्न, उच्चस्तरीय सम्पर्कहरू कायम राख्न र अर्थतन्त्र तथा व्यापार, सञ्चारमाध्यम र जनस्तर तथा सांस्कृतिक आदानप्रदान लगायतका क्षेत्रमा सहयोग सुदृढ गर्न भारतसँग मिलेर काम गर्न तयार रहेको बताए ।
उनले दुई देशबीचका संवेदनशील मुद्दाहरूलाई उचित रूपमा व्यवस्थापन गर्न चीन तयार रहेको जानकारी दिए ।
दुवै देशलाई मानवताको कल्याणलाई ध्यानमा राख्न आह्वान गर्दै वाङले चीन र भारतले प्रमुख देशहरूबाट अपेक्षित जिम्मेवारी प्रदर्शन गर्नुपर्ने, द्विपक्षीय सम्बन्धको सकारात्मक गतिलाई सुदृढ गर्नुपर्ने र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलाहरूमा समन्वय र सहयोग बलियो बनाउनुपर्ने बताए ।
उनले अन्तर्राष्ट्रिय सम्बन्धमा बहुपक्षीयता र बृहत्तर लोकतन्त्रलाई अगाडि बढाउन दुवै पक्षलाई सकारात्मक योगदान दिन आग्रह गरे ।
वाङले ब्रिक्स ढाँचा अन्तर्गत समन्वय र सहयोग बढाउन थप आह्वान गर्दै विकासशील राष्ट्रहरूको साझा हितको राम्रो प्रतिनिधित्व र संरक्षणका लागि दुवै देशले मिलेर काम गर्नुपर्ने बताए ।
चीनले यस वर्ष भारतमा हुने ब्रिक्स शिखर सम्मेलनको सफल आयोजनाका लागि भारतलाई निरन्तर सहयोग गर्ने सरकारी समाचार संस्था सिन्ह्वाले वाङलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।
वाङ र जयशंकर दुवै दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) सँग सम्बन्धित बैठकहरूमा भाग लिन मनिलामा छन् ।
भारतले सेप्टेम्बरमा नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलनको आयोजना गर्ने तालिका रहेको छ ।
सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित पाँच सदस्यीय यो समूह अब इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान, साउदी अरब र संयुक्त अरब अमिरातलाई समेट्दै विस्तार भएको छ ।





प्रतिक्रिया