एसियाली क्रिकेट : नेपाल जापान र अफगानिस्तानसँग एउटै समूहमा

693
Shares

काठमाडौं । आगामी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको समूह विभाजन सार्वजनिक भएको छ। सार्वजनिक तालिकाअनुसार नेपाल आयोजक जापान र बलियो टोली अफगानिस्तानसँगै समूहमा परेको छ। प्रतियोगितामा नेपालको चुनौतीपूर्ण यात्रा समूह चरणबाटै सुरु हुने भएको छ।

प्रतियोगिताको प्रारम्भिक चरणमा तीन टोली रहेको प्रत्येक समूहबाट शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन्। त्यसपछि समूह चरण पार गर्ने टोलीहरूले प्रतियोगिताका शीर्ष चार वरीयताप्राप्त राष्ट्रमध्ये एकसँग क्वाटरफाइनल खेल्ने प्रावधान रहेको छ। यस कारण समूह चरण पार गर्नु मात्र पर्याप्त हुने छैन, त्यसपछि अझ कठिन प्रतिस्पर्धाको सामना गर्नुपर्नेछ।

नेपालका लागि आयोजक जापानविरुद्धको खेल निकै महत्वपूर्ण मानिएको छ। घरेलु मैदानको फाइदा जापानसँग रहे पनि पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले गरेको प्रगति र अनुभवका आधारमा उक्त खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

यता अफगानिस्तान भने एसियाकै बलिया क्रिकेट राष्ट्रमध्ये एक हो। आईसीसी प्रतियोगितामा नियमित सहभागिता जनाइरहेको अफगानिस्तानसँगको खेल नेपालका लागि सबैभन्दा कठिन परीक्षा हुनेछ।

नेपालले यसअघि एसियाली खेलकुदका लागि भएको छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन जापानमा हुने एसियाली खेलकुदमा सहभागिता सुनिश्चित गरेको थियो।

प्रतियोगिताको ढाँचाअनुसार समूह चरण सफलतापूर्वक पार गर्न सके नेपालले क्वाटरफाइनलमा भारत, पाकिस्तान, श्रीलंका वा बंगलादेशजस्ता शीर्ष वरीयताप्राप्त टोलीमध्ये कुनै एकसँग खेल्नुपर्ने सम्भावना रहनेछ। त्यसैले नेपालका लागि पहिलो लक्ष्य समूहका शीर्ष दुईभित्र स्थान बनाउनु हुनेछ।