गभर्नरलाई ढाँटेर एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठ सम्पर्कबिहिन, भाँडियाे मर्जर



काठमाडौं । एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठ नियामक निकाय नेपाल राष्ट्र बैंकका गभर्नरलाई ढाँटेर फरार भएका छन् । एभरेष्ट र लक्ष्मी बैंकबीचको मर्जरको विषयमा राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपाललाई ढाँटेर अध्यक्ष श्रेष्ठ सम्पर्कबिहीन भएका हुन् ।

तीन हप्ताअघि गभर्नरलाई भेट्न श्रेष्ठ राष्ट्र बैंक पुगेका थिए । सो भेटमा गभर्नर डा. नेपालले ‘एभरेष्ट र लक्ष्मी बैंकबीच कहिले मर्ज हुने हो लिखित रुपमा मिति तोकेर ल्याउनुहोस्’ भन्ने निर्देशन दिएका थिए ।

गभर्नरको यस्तो निर्देशनपछि श्रेष्ठले एक/दुई दिनमै लिखित रुपमा मिति तोकेर ल्याउँछु भन्ने प्रतिवद्धता व्यक्ति गर्दै बाहिरिएका थिए ।

तर, अहिलेसम्म प्रतिवद्धताअनुसार मर्जरको लिखित मिति राष्ट्र बैंकमा बुझाउनु त के राष्ट्र बैंकका अधिकारीहरुसँग सम्पर्कमा समेत छैनन् ।

‘एक/दुई दिनमै मर्जरको लिखित मिति तोकेर ल्याइहाल्छु भन्दै गभर्नरलाई ढाँटेर श्रेष्ठ भारततिर हानिएका छन्,’ स्रोतले भन्यो -‘नियामकका प्रमुखलाई यसरी ढाँट्ने र जिस्क्याउनले अरुलाई के गला ?’

‘बिके श्रेष्ठजीको नियत मर्ज गर्ने होइन रहेछ, मर्जरको हल्ला चलाएर सेयर बजारबाट मालामाल कमाउने नियत देखियो,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले क्लिकमाण्डूसँग भने, ‘हामीले बिकेजीलाई निगरानीमा रखेका छौं ।’

मर्जरको हल्ला चलाएर सेयर बजारमा खेलबाड गरी अर्बौं रकम कमाएको भन्दै पछिल्लो समय राष्ट्र बैंकको उच्च व्यवस्थापनले एभरेष्ट र लक्ष्मी दुबै बैंकका मूख्य लगानीकर्ताहरुलाई तीब्र दबाब दिएको थियो ।

गत साउनयता राष्ट्र बैंकको उच्च व्यवस्थापनले उनीरुलाई कहिले मर्ज हुने हो त्यो मिति लिखित रुपमा लिएर आउनु भन्दै दबाब दिइरहन्थे ।

लक्ष्मी बैंकका मूख्य लगानीकर्ता राजेन्द्र खेतान एभरेष्टसँग मर्ज गर्न सकरात्मक भएपनि एभरेष्टका अध्यक्ष बिके श्रेष्ठ भने मर्जरका पक्षमा नरहेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

‘बिके श्रेष्ठजीको नियत मर्ज गर्ने होइन रहेछ, मर्जरको हल्ला चलाएर सेयर बजारबाट मालामाल कमाउने नियत देखियो,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले क्लिकमाण्डूसँग भने, ‘हामीले बिकेजीलाई निगरानीमा रखेका छौं ।’

अढाई वर्षदेखि मर्जरको प्रक्रिया शुरु गरेका लक्ष्मी र एभरेष्ट बैंकबीचको मर्जर श्रेष्ठकै कारण टुंगोमा नपुगेको राष्ट्र बैंकका अधिकारीहरुको बुझाइ छ ।

राष्ट्र बैंकको उच्च व्यवस्थापन पनि यी दुई ठूला बैंकको मर्जर गराउन चाहन्थ्यो । त्यसैले आलटाल गर्दा पनि राष्ट्र बैंकले चुपचाप सहेर बसेको थियो ।

‘कि त मर्जर प्रक्रिया भंग भयो भनेर सार्वजानिकरुपमा जानकारी दिनु पर्यो, कि मर्ज गरिहाल्नु पर्यो,’ स्रोतले भन्यो, ‘अब राष्ट्र बैंक चुपचाप हेरेर बस्दैन ।’

एभरेष्ट बैंकले एकपछि अर्को गर्दै राखेका शर्तहलाई राष्ट्र बैंक र लक्ष्मी बैंकले मान्दै आएका थिए । तर, अहिले बिके श्रेष्ठले राष्ट्र बैंक र लक्ष्मी बैंक दुबैलाई खेलाएको निष्कर्शमा राष्ट्र बैंकका उच्च अधिकारीहरु र लक्ष्मी बैंकमा मूख्य लगानीकर्ता राजेन्द्र खेतानको बुझाइ छ ।

‘हामीले बिकेजीका शर्तहरु एकपछि अर्को गर्दै मान्दै आयौं, अन्तिममा त भ्यालुएटरको प्रतिवेदनलाई पनि बेवास्ता गर्दै कौडीको भाउ गर्नुभयो, जसकारण मर्जर अवरुद्ध भएको हो,’ लक्ष्मी बैंकका एक सञ्चालकले भने ।

एभरेष्ट बैंकले यसअघि पनि विभिन्न बैंकहरुसँग मर्जरको हल्ला चलाएर अन्तिममा आफैंले मर्जर भाँडेको थियो ।

मर्जरमा एभरेष्ट बैंकको असफल इतिहास

नेपालमा मर्जरसम्बन्धी नीति आउनुभन्दा पहिला एभरेष्ट र इन्भेष्टमेन्ट बैंकबीच मर्ज हुने विषयमा केही छलफल चलेको थियो । तर, इन्भेष्टमेन्ट बैंकका कर्मचारीले मर्जरमा जान नहुने भन्दै विरोध गरेपछि त्यो प्रयास तुहिएको थियो ।

त्यसपछि राष्ट्र बैंकबाट मर्जरको नीति आयो । मर्जरको नीति आएपछि एभरेष्टले तत्कालीन किष्ट बैंकसँग मर्जरको छलफल गर्यो । तर प्रारम्भिक छलफलमै स्वाप रेसियोमा कुरा नमिलेपछि थप प्रक्रिया नै अघि बढेन । एभरेष्टले किष्टको १०० कित्ता बराबर एभरेष्टको २५ कित्ता भनेपछि मर्जर प्रक्रिया अघि बढ्न सकेन ।

किष्टपछि एभरेष्टले कुमारी बैंकसँग मर्जरको छलफल गर्यो । त्यो पनि सफल भएन ।

दुई वर्षदेखि एभरेष्टले लक्ष्मी बैंकसँग मर्जरको प्रक्रिया अघि बढायो । तर, अन्तिम समयमा आएर एभरेष्ट आफैंले मर्जर प्रक्रिया भाँडेको छ ।


पुष्प दुलाल