मर्जरमा एभरेष्ट बैंकलाई कसैले पत्यानन्, छबी नै खराब



काठमाडौं । अहिले बैंक तथा वित्तीय संस्थामा एक प्रकारको मर्जरको लहर नै चलेको छ ।

सरकारले ल्याएको बजेटमा वाणिज्य बैंकहरुबीच आपसमा हुने मर्जरलाई प्रोत्साहन गर्ने उल्लेख गरेको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति अगाडि नै केही संस्था मर्जरमा गए हुन्थ्यो भन्ने आशय राखेको छ ।

अनौपचारिकरुपमा वाणिज्य बैंकहरुले अहिले एकआपसमा मर्जरको कुराकानीलाई तीब्ररुपमा अघि बढाएका छन् । केही बैंकहरुबीचको प्रक्रिया अगाडि समेत बढेको छ ।

अहिले मर्जरको कुराकानी नचलेका बैंकहरुमा सरकारी लगानीका तीनवटा राष्ट्रिय वाणिज्य बैंक,नेपाल बैंक र कृषि विकास बैंक छन् । यस्तै विदेशी लगानीका स्टाण्डर्ट चाटर्ड,एसबिआई बैंकको समेत मर्जरको विषयमा कुराकानी अगाडि बढेको छैन । राष्ट्र बैंकले ति बैंकलाई कुनै खाले दवाव पनि दिएको छैन ।

त्यसबाहेक २३ वटा वाणिज्य बैंकलाई भने बोलाएर कुनै कुनै रुपमा राष्ट्र बैंकले दवाव दिएको छ ।

तर,यो पटक बैंकहरुको मर्जरको छलफलमा भने एभरेष्ट बैंक भने बाहिर छ । कुनैपनि वाणिज्य बैंकले एभरेष्टसँग सामान्य समेत कुराकानी गर्न तयार देखिएका छैनन् ।
एभरेष्ट बैंकले विगतमा विभिन्न बैंकसँग मर्जरको कुराकानी अगाडि बढाउने र बीचमा नै छाड्ने भएकोले एभरेष्टलाई कसैलेपनि सिरियस रुपमा लिएका छैनन् ।

एभरेष्टले करिब दुईवर्षसम्म लक्ष्मी बैंकसँग मर्जरमा जाने छलफल अगाडि बढायो ।

तर,लक्ष्मी उसको कुरा मिलेन । बजारमा एभरेष्टले मर्जरको हल्ला चलाएको लक्ष्मी पहिलो बैंक होइन । करिब १० वर्ष अगाडि नेपाल इन्भेष्टमेन्ट बैंक र एभरेष्ट बैंकको मर्जरको हल्ला चल्यो । त्यसपछि तत्कालिन किष्ट बैंक र एभरेष्ट बैंकको मर्जरको हल्ला चल्यो । तर,यी हल्लाहरु हल्लामा सिमित भए ।

एभरेष्ट बैंकका संचालक समितिका अध्यक्ष बिके श्रेष्ठले मर्जरको कुराकानी गर्ने प्रक्रिया केही अगाडि बढाउने र झुलाउने खालको काम विगतमा बढी गरेका छन् ।

‘मर्जरको कुराकानी एभरेष्टसँग गर्नु भनेको आफ्नो समय खेर मात्र फाल्नु हो,चिया र कफि खानको लागि मात्र छलफल गर्ने भनेर बस्नुको अर्थ छैन,’एक वाणिज्य बैंकका अध्यक्षले भने ।

ती अध्यक्षले दिएको जानकारी अनुसार अन्य बैंकसँग छलफलको प्रक्रिया सामान्य अगाडि बढेपनि एभरेष्टबाट केही प्रस्ताव आएपनि छलफल नै अगाडि बढेको छैन ।

‘नेपालको बैंकहरुमा राम्रो छवीको भएपनि मर्जरको विषयमा एभरेष्टको छवी राम्रो छैन,कुरा गरेर सेयर बजारमा चलखेल गर्नको लागि मौका मात्र दिनु हो,’ एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने ।


पुष्प दुलाल