एनआईसी एशिया बैंकद्वारा नेपालपे कार्डमार्फत् हुने भुक्तानी प्राप्ती सेवा सुरु

0
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो डिजिटल बैंकिङ सेवा विस्तार गर्ने क्रममा नेपालपे कार्डमार्फत हुने भुक्तानी प्राप्ति सेवा सुरु गरेको छ ।

बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) अन्तर्गत सञ्चालनमा रहेको नेपालपे कार्डबाट भुक्तानी लिन सकिने व्यवस्था सुरु गरेको जनाएको छ ।

यससँगै बैंकका ग्राहकले नेपालपे कार्डमार्फत हुने कारोबारलाई थप सहज रूपमा प्रयोग गर्न सक्ने भएका छन् ।

बैंकका अनुसार अब डिस्कभर नेटवर्कअन्तर्गतका रुपे कार्ड तथा अन्य अन्तर्राष्ट्रिय कार्डहरू पनि बैंकका एटीएम र पीओएस टर्मिनलमा प्रयोग गर्न सकिनेछ ।

नेपालपे कार्ड नेशनल पेमेन्ट स्विचअन्तर्गत सञ्चालन हुने राष्ट्रिय कार्ड योजना हो ।

यसमार्फत नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय भुक्तानी साझेदार डिस्कभर नेटवर्कसँगको सहकार्यमा विदेशमा रहेका एटीएम तथा पीओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने व्यवस्था रहेको बैंकले जनाएको छ ।

बैंकले यो पहलले नेशनल कार्डको प्रयोग विस्तारसँगै नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। हाल नेशनल कार्ड प्रणालीमा ३६ भन्दा बढी बैंक तथा वित्तीय संस्था आबद्ध भइसकेका छन् ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र रावलले उक्त जानकारी दिएका हुन् ।