
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाह र आफूबीच आर्थिक एजेण्डामा निकै नजिकको समन्वय भइरहेको स्पष्ट पारेका छन् । केही समययता प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढेको भन्दै बजारमा चलेका चर्चा र अफवाहको पछि नलाग्न उनले उद्यमी तथा व्यवसायीहरूलाई आग्रह गरेका हुन् ।
मंगलबार अर्थ मन्त्रालयमा आयोजित उद्यमीहरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले यस्तो स्पष्टीकरण दिएका हुन् । पछिल्लो समय प्रधानमन्त्री शाहले निजी क्षेत्रसँग गरेका विभिन्न छलफलहरूमा अर्थमन्त्री अनुपस्थित भएपछि सञ्चारमाध्यम र व्यावसायिक वृत्तमा प्रधानमन्त्रीले अर्थमन्त्रीलाई बेवास्ता गरेको टिकाटिप्पणी सुरु भएको थियो ।
डा. वाग्लेले भने, ‘बजारमा एउटा ‘मसला’ बनाइएको छ कि अर्थमन्त्री देखिएन भनेर । वास्तवमा यो हामीबीचको सल्लाहअनुसार नै भएको हो । व्यवसायी र प्रधानमन्त्रीबीच सिधा, ‘नो फिल्टर’ र ‘नो इन्टरमिडिएसन’ (बिचौलियारहित) संवाद होस् भन्ने हाम्रो चाहना हो ।’
प्रधानमन्त्री सार्वजनिक कार्यक्रमहरूमा कम देखिने स्वभावको भएकाले पनि यस्तो रणनीति अपनाइएको उनले खुलाए । आर्थिक मुद्दाहरूमा प्रधानमन्त्रीको तहबाट लामो समययताकै सबैभन्दा गहिरो चासो र समन्वय भइरहेको दाबी गर्दै उनले हरेक मन्त्रिपरिषद् बैठकपछि आफूहरूबीच गहन छलफल हुने गरेको बताए ।
‘प्रधानमन्त्रीज्यू आफैँ निजी क्षेत्रसँग निरन्तर संवादमा हुनुहुन्छ । उद्यमीहरूले उठाएका विषयमा उहाँले म लगायत सम्बन्धित मन्त्रीहरूलाई तत्कालै फोन गरेर वस्तुको दररेटदेखि मसिना प्राविधिक विषयसम्म सोध्नुहुन्छ र फलोअप गर्नुहुन्छ,’ डा. वाग्लेले थपे, ‘हाम्रो साझा एजेन्डा भनेको लगानी (इन्भेस्टमेन्ट) नै हो । त्यसैले बजारका झुठ र अफवाहहरू पत्याउनु पर्ने कुनै कारण छैन ।’
सो अवसरमा अर्थमन्त्रीले सरकार निजी क्षेत्रको लगानी सुरक्षित गर्न र उचित प्रतिफलको सुनिश्चितता दिन पूर्ण रूपमा प्रतिबद्ध रहेको समेत दोहोर्याए । मुलुकको आर्थिक सुधारका लागि प्रधानमन्त्री र अर्थ मन्त्रालयबीच ‘क्लोज कोर्डिनेसन’ रहेको भन्दै उनले ढुक्क भएर लगानी गर्न व्यवसायीहरूलाई प्रोत्साहन गरे ।





प्रतिक्रिया