
काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा जोडिएर फरार रहेका जीवन चलाउने सहित १५ व्यक्ति र २ कम्पनीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ । सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंमा २ अर्ब ७ करोड ६२ लाख १३ हजार ५१६ रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेको हो ।
विगोको दोब्बर जरिवाना, कसुरको मात्रा अनुसार कैद सजाय र कसुरबाट प्राप्त सम्पत्ती जफतको मागदाबी सहित जिल्ला अदालत काठमाडौंमा रिट दायर गरिएको हो ।
६० किलो सुन तस्करीमा जोडिएका चलाउनेको नाममा काठमाडौं, काभ्रेपलाञ्चोक, रौतहट र झापामा गरी ३२ स्थानमा जग्गा रहेको अभियोगपत्रमा उल्लेख छ । चलाउनेको कारोबारबाट प्राप्त तथ्य र कम्पनीको जायजेथा तथा चलाउनेको नाममा रहेको चल-अचल सम्पत्तीको आधारमा चलाउनेको नाममा ३२ ठाउँमा १५ करोड ३० लाख ५१ हजार मूल्य बराबरको जग्गा रहेको पाइएको हो ।
यस्तै, उक्त जग्गा खरिद गर्दा रजिस्ट्रेसन खर्च बापत ४५ लाख ९५ हजार खर्च भएको र जग्गाको मात्रै मूल्याङ्कन १५ करोड ७६ लाख ४६ हजार देखिएको अभियोगपत्रमा उल्लेख छ।
चलाउने सञ्चालक रहेको मष्टा ग्रुपको चुक्ता पूँजी १५ करोड रुपैयाँ, कम्पनीको सामानको मौज्दात ६ करोड ६४ लाख ७६ हजार, लेनदेन बाँकी आसामी ७४ करोड ५१ लाख १४ हजार रुपैयाँ रहेको सम्पत्ती शुद्धिकरण विभागको अनुसन्धानले देखाएको हो ।
कम्पनीको नाममा रहेको जग्गाको मूल्य ३० करोड ९८ लाख ७५ हजार, घर ५४ लाख २३ हजार र हिताधिकारीको रूपमा भोगचलन गरिएको सम्पत्ती (कसुरबाट प्राप्त घरजग्गा) को खरिद मूल्य २ करोड रुपैयाँ र उक्त घरजग्गा रजिष्ट्रेशन दस्तुर ९ लाख रुपैयाँ गरी २ करोड ९ लाख रुपैयाँ देखिएको अभियोगपत्रमा उल्लेख छ ।
यसरी चलाउनेको कुल १ अर्ब ४५ करोड ५४ लाख रुपैयाँ र विदेशबाट अवैध रूपमा आयात गरिएको ६० किलो सुनको त्यस समयको बजार मूल्य अनुसार ५८ करोड ५६ लाख १० हजार तथा चलाउनेको हिमालयन बैंक खातामा कसुरबाट प्राप्त गरी जम्मा गरिएको ३ करोड ५२ लाख रुपैयाँ समेत गरी कुल २ अर्ब ७ करोड ६२ लाख १४ हजार रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको हो ।
यस्तै, दावा छिरिङ, दिलीप भुजेल, सुमन खरेल, भोला शाह सुनारले अवैध रूपमा आयात गरेको ६० किलो सुनको मूल्य ५८ करोड ५६ लाख १० हजार बिगो कायम गरी मुख्य प्रतिवादी जीवन चलाउनेलाई हुने सजायको आधारमा सजाय माग गरिएको छ ।
रेडी ट्रेड प्रालीलाई पनि ६० किलो सुनको मूल्य बराबर ५८ करोड ५६ लाख १० हजार बिगो कायम गरी कम्पनीको सेयर जफत गर्न माग गरिएको छ ।
जीवन चलाउनेको समेत लगानी रहेको मष्टा ग्रुपलाई १ अर्ब २७ करोड ६८ लाख ५८ हजार बिगो कायम गरी कम्पनीको नाममा रहेको सम्पत्ती समेत जफत गर्न माग गरिएको छ । कम्पनीका सेयरधनी जगतबहादुर धामी र श्याम थापालाई भने दायित्वबाट छुट दिएर देवानी दायित्व मात्र रहने गरी सम्पत्ती जफतको लागि मात्र प्रतिवादी कायम गरिएको अभियोगपत्रमा उल्लेख छ ।
मुख्य प्रतिवादी चलाउने भने फरार छन् । उनलाई पक्राउ गर्न इन्टरपोलमा नोटिस जारी भए पनि अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् ।







प्रतिक्रिया