सुन तस्करी प्रकरणमा फरार चलाउनेविरुद्ध ‘डिफ्युजन’ नोटिस जारी



काठमाडौं । सुन तस्करी प्रकरणमा फरार भएको अभियोग लागेका जीवन चलाउनेविरुद्ध सरकारले डिफ्युजन नोटिस जारी गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता होविन्द्र बोगटीले चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी भएको जानकारी दिए । उनका अनुसार नेपाल प्रहरीको पत्राचारको आधारमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो ।

चलाउने ब्रेक प्याडभित्र ६० किलोभन्दा बढी सुन लुकाएर तस्करी भएको प्रकरणमा जोडिएपछि उनीविरुद्ध सीआईबीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गराएको हो ।

नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्र मुलुकहरुमा चलाउने भौतिक रुपमा रहेको वा नरहेको बिषयमा जानकारी प्राप्त हुनेछ । सोही जानकारीको आधारमा उनलाई डिपोर्ट गराएर नेपाल ल्याउने प्रक्रिया थालिने प्रहरीले जनाएको छ ।

सुन तस्करी प्रकरणमा जोडिएका बेल्जियन नागरिक दावा छिरिङसँग चलाउनेको सम्बन्ध देखिएको थियो । राजश्व अनुसन्धान विभागले ३ साउनमा मोटरसाइकलको ब्रेक प्याडभित्र लुकाएर ल्याएको ठूलो परिमाणको सुन बरामद गरेको थियो ।

त्यसबेला झण्डै एक क्विन्टल सुन भन्सार जाँच पास पार गरेर बाहिरिएको भनिएपनि पछि जोख्दा ६० किलोमात्रै सुन भेटिएको थियो ।


क्लिकमान्डु