एक क्विन्टल अनुमान गरिएको तस्करीको सुन जोख्दा ६० किलो मात्रै



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद भएको सुन जोख्दा ६० किलो हाराहारी मात्र भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यका अनुसार ब्रेक सु बाट छुट्टयाएर जोख्दा सुन ६० किलो ७८९ ग्राम भएको हो ।

राजस्व अनुसन्धान विभागले साउन २ गते राति सिनामंगलबाट सुनसहितको १५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो । त्यसबेला ब्रेक सु सहित तौल लिइएकोमा आज सुन मात्र निकालेर जोखिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), राजस्व अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन जोखिएको हो । ब्रेक सु बाट छुट्याइएको सुन मंगलबार बिहान साढे १० बजे तीनै निकायको उपस्थितिमा गालिने महाशाखा प्रमुख आचार्यले जानकारी दिए ।

सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजस्व अनुसन्धान विभागले थप छानबिनका लागि सीआईबीलाई  जिम्मा लगाएको छ । सीआईबीले संगठित अपराध र राजस्व छलीको कसुरमा सुन प्रकरणको अनुसन्धान गरिरहेको छ ।


रवि धिताल