अनुसन्धानमा छोडेको कमजोरीमा फसिन सीआईबी प्रमुख बज्राचार्य, सुन तस्करमाथि नरम हुँदा महंगो सजाय



काठमाडौं । आफैंले अनुसन्धानमा छोडेको कमजोरीका कारण केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको जिम्मेवारी खोसिएको छ ।

सुन तस्करी सम्बन्धी जाँचका लागि गठित उच्चस्तरीय आयोगले बज्राचार्यले यस अघि गरेको अनुसन्धानमा गम्भीर त्रुटि औंल्याएपछि उनलाई सरकारले शुक्रबार जिम्मेवारीबाट हटाएको छ । उनलाई जिम्मेवारीबाट हटाएर सरकारले सीआईबीको प्रमुखमा एआईजी श्यामलाल ज्ञवालीलाई पठाउने निर्णय गरेको छ ।

आयोगले सुन तस्करीको अनुसन्धानमा गम्भीर त्रुटि औंल्याउँदै सीआईबी प्रमुख बज्राचार्य, एसपी सञ्जयसिंह थापा र डीएसपीद्वय रूगम कुँवर र दुर्गा दाहाललाई कारबाही गर्नसमेत सिफारिस गरेको छ । आयोगकै सिफारिस अनुसार सरकारले बज्राचार्यलाई सीआइबी प्रमुखबाट हटाएर उनको ठाँउमा ज्ञवालीलाई पठाएको हो ।

तर, सुन तस्करी अभियोगमा फरार रहेका जीवन चलाउनेले सुन तस्करीको अनुसन्धानको बेलामा एआईजी श्याम ज्ञवालीले दुई करोड र सीआईबीको डिएसपीले ६० लाख मागेको अनि नदिएपछि आफूलाई फसाउन लागेको दाबी गरेका छन्।

कर्मचारी, राजनीतिक व्यक्तित्व, सुन तस्करमा संग्लग्न व्यक्ति र प्रहरी अधिकारीमाथीकै कारवाहीका कारण सुन तस्करमाथि नरम हुनेलाई सजायँ महंगो पर्ने भएको छ ।

सरकारले २०७९ चैत दोस्रो साता एआईजीमा बढुवा गरेसँगै बज्राचार्यलाई सीआईबीको प्रमुखको जिम्मा दिएको थियो । बज्राचार्य प्रमुख भएपछि उनकै नेतृत्वलाई सरकारकै गत साउन तेस्रो साताबाट ब्रेकशुमा लुकाएर नेपाल भित्रिएको ६० किलो सुन तस्करीको सम्बन्धमा अनुसन्धान जिम्मा दिएको थियो ।

त्यस अघि राजस्व अनुसन्धान विभागले गरिरहेको सुन तस्करीसम्बन्धी उक्त छानबिन आफैं मातहत आउँदा उनले गरेको कमजोरीले उनै बज्राचार्य फस्न पुगेकी छिन । सरकारले सीआइबीले अनुसन्धान सकिसकेपछि उच्चस्तरीय आयोग गठन गरेर सुनको छानविन गराएको थियो । 

भेप (विद्युतीय चुरोट)मा लुकाएको, गोरखाका मिनहादुर गुरुङसहितले ल्याएको १४ किलो सुन र ब्रेकसुमा लुकाएको ६० किलो सुनको विषयमा आयोगले छानविन गरेर बिहीबार प्रतिवेदन गृहमन्त्री रवि लामिछानेलाई बुझाएको थियो ।

गृहमन्त्री लामिछानेले शुक्रबार प्रधानमन्त्रीलाई उक्त प्रतिवेदन बुझाएसँगै सीआईबी प्रमुखले गरेको त्रुटी सार्वजनिक भएको हो । सीआईबीले भीआईपीलाई जोगाउने गरी गरेको अनुसन्धानको कमजोरीको कारण सीआईबी प्रमुख बज्राचार्यलाई कारवाही भएको छ । मुद्दा चलाउनुपर्नेलाई जोगाएको भन्दै आयोगले उनलाई कारबाहीको सिफारिस गरेको हो ।

बज्राचार्यको नेतृत्वमा सुनसम्बन्धी अनुसन्धान गरेका एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई पनि विभागीय कारबाही गर्न सुनको अनुसन्धान गरेको उच्चस्तरीय आयोगले सिफारिस गरेको छ ।

बज्राचार्यलाई सुन तस्करीमा जोडिएका मुख्य व्यक्ति जीवन चलाउनेलाई भगाएको आरोप छ । ब्यूरोमा उपस्थित गराएर आरोतिलाई छाडेको, राजनीतिक नेतृत्व नजिक भएका व्यक्तिलाई अनुसन्धानमा वेवास्था गरेकोसहितको आरोप उनीमाथि लागेको छ ।

सुनको तस्करीमाथी अनुसन्धान गर्न बनेको आयोगले अन्य व्यक्तिहरुमाथिसमेत कारवाही सिफारिश गरेको छ । कर्मचारी, राजनीतिक व्यक्तित्व, सुन तस्करमा संग्लग्न व्यक्ति र प्रहरी अधिकारीमाथीकै कारवाहीका कारण सुन तस्करमाथि नरम हुनेलाई सजायँ महंगो पर्ने भएको छ ।

सुन तस्करी जाँचबुझ आयोगले चैत १ गते उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बुझाएको प्रतिवेदन गम्भीर अध्ययन गरी तत्काल कार्यान्वयन प्रक्रियामा लैजाने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

मन्त्रिपरिषद बैठकमा अर्थमन्त्री वर्षमान पुन, कानूनमन्त्री पदम गिरीलगायतले सुन तस्करी सम्बन्धी छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न सकिने सुझाव दिएका थिए ।

बज्राचार्यको नेतृत्वमा सीआइबीले खोलेका ठूला फाइल

बज्राचार्यले नेतृत्व लिएपछि सीआईबीले ठूला सहकारीले गरेको ठगीका विषयमा अनुसन्धान थालिरहेको छ । पछिल्लो समय सीआईबीले आठ ठूला सहकारीमाथि अनुसन्धान गरिरहेको छ । सीआईबीका अनुसार शिवशिखर, सूर्यदर्शन, आर्जन, रियल गोरखा, साई स्वागत, देउराली, नेशनल डेभलपमेन्टसहितका सहकारीको अनुसन्धान गरिरहेको छ ।

सूर्यदर्शन सहकारीमा गृहमन्त्री रबि लामिछाने पनि जोडिएपछि उनलाई पनि कारबाही गर्नु पर्ने माग बढेको छ ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा ठगी गरेको आरोपमा उद्योगी व्यापारी अरुण चौधरीसहितका तीन जनामाथि सीईआईबीको अनुसन्धान चलिरहेको छ । बालुवाटरको जग्गा अतिक्रमण गर्ने सम्बन्धित फाइलसमेत सीआईबीले खोलेर अनुसन्धान सुरु गरेको छ ।

धितोको मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह गरेको भन्दै सीआईबीले प्रमुख बैंकका डेपुटी तथा सेञ्चुरी बैंकका पूर्व सीईओ मनोज न्यौपानेसहित १० जनामाथि अनुसन्धान गरिरहेको छ । १ अर्ब १४ करोडको धितोमा २ अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह भएको आरोपमा सीआईबीले बैंकका सीईओसहित संलग्न व्यक्तिमाथि अनुसन्धान गरिहेको छ ।


क्लिकमान्डु